२०८१ बैशाख १२ बुधबार Wednesday, April 24

ताजा अपडेट :

गोल्डमेडलिस्टको बिजोग : कोही ब्रोकर, कोही शाखा अधिकृत

image

पिताम्बर भण्डारी सन् २००७ –२००९ को स्नातकोत्तर तहको शान्ति तथा विकास अध्ययन विभागको अतिउत्तम  (गोल्डमेडलिस्ट) विद्यार्थी हुन् । अहिले उनी त्रिविमै त्यही संकायमा उपप्राध्यापकको रुपमा कार्यरत छन् ।  गोल्डमेडल प्राप्त गरेपछि पहिलो ब्याचकै विद्यार्थी भएको कारण त्रिविमा सहजै पढाउन पाए ।

‘त्यति बेला नेपालको शान्ति व्यवस्था तार्किक अवस्थामा पु¥याउने बेला थियो । उनले भने, ‘हाम्रो विश्वविद्यालयमा योसम्बन्धी पढाइ हुने चलन थिएन । त्यसकारण पनि जनशक्तिको अभाव थियो । मैले सहजै त्रिविमा काम पाएँ ।’

६२–६३ को स्नातकोत्तर तहको व्यवस्थापन संकायतर्फ शंकरदेव क्याम्पसका सन्तोष मैनाली व्यवस्थापन संकायको गोल्डमेडालिस्ट भए । उनी अहिले ३६ नम्बरको शेयर ब्रोकरको अफिस चलाएर बसेका छन् । ‘म गोल्डमेडालिस्ट भएँ । उनले भने, ‘त्रिविले पढाउन अथवा अध्ययन अनुसन्धानका लागि बोलाउला भन्ने लागेको थियो तर बोलाएन ।’ उनी आफँैले विभिन्न प्राइभेट क्याम्पसहरु पढाए । त्यसले मात्र गुजारा नचल्ने र व्यवसाय गर्नुपर्छ भन्ने लागेर आफू पुँजी बजारतर्फ लागेको बताउँछन् । 

त्रिभुवन विश्वविद्यालयले हरेक वर्षको दीक्षान्त समारोहमा हरेक विषयका  सर्वोत्कृष्टलाई पुरस्कृत गर्छ । यो वर्ष पनि त्रिविले स्नातक, स्नातकोत्तर उत्कृष्ट विद्यार्थीको घोषणा गर्यो ‘१९’ । गत वर्ष ३१ जना टपर भएका थिए । 

फ्याकल्टीमा टप गरेर गोल्ड मेडल लगाउँदा विद्यार्थी दङ पर्छन् । राज्यले प्रतिभाको कदर गर्नेमा ढुक्क हुन्छन् अनि अध्ययन अनुसन्धानको खाका बनाउन थाल्छन् ।  तर थर्ड डिभिजन र गोल्डमेडालिस्टमा कुनै अन्तर गर्दैन राज्य । त्यसैले गोल्ड मेडालिस्टहरु कोही ब्रोकरको भूमिकामा भेटिए, कोही राजनीति र कोही अधिकृत तहमा ।

विकसित मुलुकको विश्वविद्यालयहरुमा गोल्डमेडालिस्टहरुलाई अध्यापनमा संलग्न गराउने तथा खोज तथा अनुसन्धानमा लगाएको पाइन्छ । कतिपय कम्पनीहरुले त विद्यार्थीलाई नै हायर गरेर राख्ने गरेको पनि पाउन सकिन्छ । 

नेपालमा केही वित्तीय संस्थाले यसको अभ्यासको प्रारम्भ गरे पनि सरकारी तहमा कुनै निर्णय हुन सकेको छैन । जसकारण विशेषतः विज्ञहरु पलायन भइरहेका छन् । कोही नेपालमै रहे पनि जागिरे बनेर बसेका छन् भने अधिकांश विदेशिएका छन् ।

०६२–०६३ कै इतिहासतर्फका गोल्ड मेडालिस्ट भुपेन्द्र राई खोटाङ जिल्लाको डिपु्रङ चुइचुम्मा गाउँपालिकाको अध्यक्ष छन् । क्याम्पसतहदेखि नै उनी राजनीतिमा सक्रिय थिए । पढाइ सकेपछि पनि उनी राजनीतितिरै लागे । 

२०७१ स्नातकोत्तर तहका व्यवस्थापनतहको गोल्ड मेडालिस्ट रामहरि पाण्डे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रशासनतर्फ शाखा अधिकृत छन् । 
उनले त्रिविमै पढाउन धेरै कसरत गरेका रहेछन् । तर मौकै पाएनन् ।

त्रिवि सेवा आयोगले वर्षैपिच्छे आवेदन नमाग्ने र गोल्डमेडालिस्टलाई पहिले जस्तो पढाउन र अनुसन्धानमा लगाउने नीति नहुँदा नीति तहमा काम गर्न इच्छुक उनी सामान्य जागिरे भएर बसेका छन् । 
‘शंकरदेव पढेर गोल्डमेडल प्राप्त गरेँ । गोल्डमेडालिस्ट भएपछि त सम्बन्धित क्षेत्रमै राम्रो कामको अवसर पाइएला भनेर त्रिवि र राष्ट्र बैंक गएर बुझ्दा केही नीति नै रहेनछ,’ उनले भने, ‘मास्टर्स पढ्दा नै शाखा अधिकृतमा नाम निस्किसकेको थियो । यतैतिर लागेँ ।’

त्रिवि उपकुलपति तीर्थ खनियाँ उत्कृष्ट विद्यार्थीलाई अध्ययन अनुसन्धानमा लगाउने पक्षमा भए पनि सिनेट बैठक बस्न नसक्दा उत्कृष्ट विद्यार्थीबारे निर्णय गर्न नसकिएको बताउँछन् । 

‘हामीले टप विद्यार्थीहरुलाई अध्यापन तथा अनुसन्धानमा संलग्न गराउनुपर्छ भनेर प्रस्ताव लगेका छौँ,’ उनले भने, ‘तर सिनेटको बैठक बस्न सकेको छैन । मैले पटक–पटक प्रयास गरिरहेको छु । तर प्रधानमन्त्रीज्यूले समय दिनु भएको छैन ।’

‘त्रिविका जागिरे टपरसँग डराउँछन्’
वसन्त महर्जन,गोल्ड मेडालिस्ट (सन् २०१४)
त्रिवि टप्ने विद्यार्थीको अवस्था कस्तो छ ? 

त्रिवि टप्ने कोही विद्यार्थी त्रिवि वा अन्यत्र अध्यापन तथा अनुसन्धानमै संलग्न रहेको पाइन्छ । कोही अन्य विषयमा लागेर जीवन निर्वाह गरिरहेका छन् । कोही घरगृहिणी छन् त कोही रोजिरोटीका लागि अन्य क्षेत्रमा लाग्नुपरेको छ । कोही विदेश पलायन भए । त्रिवि टप्नेहरुलाई त्रिविले नै चिन्दैन । 

टप भैसकेपछि विश्वविद्यालयबाट कस्तो रेस्पोन्स आउने रहेछ ?

त्रिभुवन विश्वविद्यालयको काम भर्ना हुन आएको विद्यार्थीलाई पढाउने मात्र हो । त्यसपछि जो जहाँसुकै जाओस्, जे सुकै गरोस् विश्वविद्यालयलाई मतलबै हुन्न । आफैँले पढाएका उत्कृष्ट विद्यार्थी विश्वविद्यालयकै जनशक्ति हुन सक्छन् भन्ने हेक्का देखिन्न । टपरको हकमा दीक्षान्त समारोहमा मञ्चमा बोलाएर सर्टिफिकेट दिने मात्र हो । 

टपरहरु त अध्ययन–अनुसन्धानमा लाग्न पनि सक्छन् नि हैन ? यसमा केही चासो राख्दैन ?
त्रिवि टपर अन्यत्र क्षेत्रका लागि भन्दा पनि अध्यापन र अनुसन्धानका लागि उपयुक्त हुन सक्छन् । धेरै जसो यसमा संलग्न भएका पनि छन् । तर त्रिवि आफैँले दिएको अवसर भने हैन । 

केही त्रिवि भित्रै अध्यापनमा संलग्न भइरहेका पनि छन् । तर उनीहरु पनि युनिभर्सिटी टपर भनेर हैन । टपर भएकै आधारमा अध्यापन र अनुसन्धानमा लाग्ने अवसर दिएको थाहा छैन ।  त्रिविले आफ्ना टपर विद्यार्थी को कहाँ के गरिरहेको छ भन्ने नै चासो राख्दैन ।

यस्तो किन होला ?

त्रिविका जागिरेहरु टपरसँग डराउँछन् । सम्बन्धित विषयमा पढाइरहेकाहरुमा असुरक्षाको भाव बढी देखिन्छ । त्यसैले अस्थायी, करार वा स्थायी नियुक्ति त के सामान्य कक्षा पनि लिन दिँदैनन् । 

‘सिनेटै बस्दैन, मैले मात्र के गर्नु ?’
तीर्थ खनियाँ ,त्रिवि उपकुलपति 

त्रिविले वर्षेनी सर्वोत्कृष्ट विद्यार्थी छनोट गर्छ त्यसपछि कुनै वास्ता नगर्ने देखियो । पदक र पुरस्कार दिएपछि त्रिविको दायित्व सकिन्छ हो ? 

त्रिविले जनशक्ति उत्पादन गर्ने हो कि जागिर दिने हो ?  त्रिविलाई सोध्ने प्रश्न यो हैन । सरकारलाई सोध्नुस् यो कुरा । कुन तहको जनशक्तिलाई के गर्ने त्यो युनिभर्सिटीको काम होइन, सरकारको हो । 

बाहिर देशका विश्वविद्यालयमा टपरहरुलाई विश्वविद्यालयमै अध्ययन तथा अनुसन्धानमा लगाएको पाइन्छ, हाम्रोमा त्यो किन नभएको त ?

मैले यो प्रस्ताव गरेको छु । तर अहिलेको सरकार आएपछि सिनेट बैठक बस्न सकेको छैन । त्यही भएर निर्णय हुन सकेको छैन । यो त आरोप लगाएर उम्किने बाटो भयो । तपाईं नै उपकुलपति भएपछि धेरै सरकार आए त्यतिबेला नै किन नगर्नु भएको ?

यसभन्दा अघि हामीले प्रस्ताव बनाउँदै थियाैं अहिले सिनेट बैठक बस्नु पर्छ भनेर कतिपटक भनिसकेँ । विश्वविद्यालयलाई मात्र  दोष लगाएर मात्र त हुँदैन नि । 

तपाइले के प्रस्ताव गर्नुभएको छ ? 

हामीले टपर विद्यार्थीलाई पोलिसी लेभलमा पु¥याउनुपर्छ भन्ने उद्देश्यका साथ काम गरेका छौँ । त्यो पास भयो भने त्रिविले धेरै फड्को मार्छ ।