• २०८१ बैशाख ११ मंगलबार / Tuesday, April 23

पनौती सङ्ग्रहालय सङ्कटमा

Fm Radio Link

 

 



काठमाडौँ,    ऐतिहासिक महत्व बोकेको तथा नेवार संस्कृति र पहिचानसँग जोडिएर स्थापना भएको पनौती सङ्ग्रहालय अहिले प्रविधि र ज्ञानको अभावमा सङ्कटमा परेको छ । 

 



प्राविधिक ज्ञान र प्रविधिको कमीले पुरानो अभिलेख ‘ठ्याःसफू’ हस्तलिखित पुस्तकको उचित संरक्षण हुन नसकेको सङ्ग्रहालयका सचिव राजेन्द्र महाजुले बताउनुभयो । पुस्तकमा किरा लाग्न थालेकाले लोप हुने हो कि भन्ने डर सिर्जना हुन थालेको छ । उहाँले भन्नुभयो, “अहिले चार पुस्तक सङ्ग्रहायलमा छन् तर सुरक्षाको लागि उपयुक्त विषादी नभएका कारण दिनानुदिन यी पुस्तकलाई जोगाउनै गाह्रो भइरहेको छ ।”

 

 

सङ्ग्रहालय सर्वसाधारणका लागि २०६६/६७ सालबाट खुला गरिएको थियो । प्रवेश शुल्क विदेशी नागरिकका लागि प्रतिव्यक्ति रु ३००, सार्क राष्ट्रका नागरिकका लागि रु १०० र नेपाली विद्यार्थीको लागि रु १० शुल्क कायम गरिएको महाजुले बताउनुभयो । सङ्ग्रहालयमा विभिन्न लिच्छविकालीन, मल्लकालीन मूर्ति रहेका छन् । विशेषगरी मल्लकालीन समयमा लेखिएको २० औँ शताब्दीका पुस्तक यस सङ्ग्रहालयमा रहेको छ । विशेषगरी नेवारी संस्कृति देख्न पाइने सङ्ग्रहालय संस्कृति प्रचारप्रसारको अभावले ओझेलमा परेको छ । अहिले यसलाई प्रचारप्रसार गर्ने मध्यम सामाजिक सञ्जाल मात्र बन्न पुगेको छ । यसका लागि राज्य पक्षबाट कुनै सहयोग नभएको सचिव महाजु बताउनुभयो । 

 



सङ्ग्रहालय अवलोकनका लागि दैनिक स्वदेशी तथा विदेशी पर्यटक गरी एक सयसम्म आउने गर्छन् । आर्थिक वर्ष २०६८/६९ मा मात्रै दुई हजार ९३३ पर्यटकले अवलोकन गरेका थिए । त्यस्तै आर्थिक वर्ष २०६९/७० मा तीन हजार ८१ ले, २०७०/७१ मा चार हजार ५२४ र ०७१/७२ मा चार हजार ७१४ ले सो सङ्ग्रहालयको अवलोकन गरेको महाजुले जानकारी दिनुभयो । 

 



त्यस्तै २०७२/७३ मा दुई हजार ८०९ ले, ०७३/७४ मा चार हजार ५३२ र ०७४/७५ मा पाँच हजार ८६४ अवलोकनर्ताले अवलोकन गरेका थिए । सबैभन्दा बढी विदेशी पर्यटकले सङ्ग्रहालयको अवलोकन गरेको पाइन्छ । 
सङ्ग्रहालयले पनौतीमा भएका पुरातात्विक सम्पदाको प्रचारप्रसार गरेको छ । साथै स्थानीयलाई नेवारी संस्कृति र कलाका बारेमा बुझ्ने अवसरसमेत मिलेको छ । सङ्ग्रहालयमा धातुका विभिन्न मूर्ति तथा काष्ठकलाका १५ औँ शताब्दीको मूर्ति समेत रहेको छ । विशेषगरी खुँडा, भाला, देवी नाचको मुकुन्डो सङ्ग्रहालयमा रहेका छन् । यसका साथै नेवारी समुदायले प्रयोग गर्ने विभिन्न प्रकारका पूजाका भाँडाकुँडा, नेवारी जनजीवनमा प्रयोग हुने भान्छाका भाँडा सङ्ग्रहालयमा रहेका छन् । 

 



सङ्ग्रहालयमा अवलोकन गर्न आउनेले पुरानो सिक्का, चाँदीका गरगहना र पनौतीका पुराना फोटोहरू, नेवारी समुदायले प्रयोग गर्ने पूजा, भान्छाका विभिन्न प्रकारका भाँडा हेर्ने गर्छन् । 

 



सङ्ग्रहालयमा सात जना कर्मचारी छन् तर बजेट अभावका कारण उनीहरूलाई पारिश्रमिक दिन समस्या रहेको पनैती–७ का वडाध्यक्ष रामचन्द्र नासननीले जानकारी दिनुभयो । सम्पदा संरक्षणका लागि राज्यबाट कुनै किसिमको सहयोग नहुँदा यी पुरातात्विक वस्तुलाई सरक्षण गर्न समस्या भएको अध्यक्ष नासननीले बताउनुभयो । 

 



सङ्ग्रहालय प्रत्येक दिन बिहान ७ः३० देखि बेलुका ६ बजे खुला हुन्छ तर दशैँ तिहार र स्थानीय पर्व पनौती जात्राको दिन भने बन्द हुने चलन रहिआएको छ । 

प्रतिकृया दिनुहोस