• २०८१ बैशाख ११ मंगलबार / Tuesday, April 23

पुल माग्दै जनप्रतिनिधि

Fm Radio Link

 

 

जाजरकोट, पुल निर्माणका लागि बजेट माग्दै नलगाड नगरपालिकाका जनप्रतिनिधि प्रदेश कार्यालयमा पुगेका छन् ।

 

 

गत साउनमा आएको बाढीपहिरोका कारण नगरपालिकाको छेप्का–कालीमटीस्थित झुर्मेखोलाको पुल बगाएपछि यहाँका जनप्रतिनिधि पुल निर्माणका लागि बजेट माग्न कर्णाली प्रदेश सरकारसम्म पुगेका हुन् । 

 



अहिले झुर्मेखोलामा अस्थायी काठको लाप्को (फलेक)मा स्थानीयवासी वारपार गर्छन् । काठको लाप्कोबाट यात्रा गर्दा दुर्घटनाको जोखिम बढेको छ । बाढीबाट जिल्लाको सबैभन्दा बढी नलगाड नगरपालिकामा नै क्षति भएको थियो । 

 



पुल निर्माणका लागि आवश्यक बजेट नहुँदा प्रदेश सरकारसँग बजेट माग गरिएको नगरपालिकाका प्रमुख टेकबहादुर रावलले जानकारी दिनुभयो । नगरपालिकाभित्र आधादर्जन बढी पुल बाढीका कारण क्षति भएपछि नगरपालिकाले आफ्नै खर्चमा निर्माण गर्न असम्भव भएकाले प्रदेश सरकारसँग सहयोग मागेको उहाँले बताउनुभयो ।

 

 

पुल नहुँदा विद्यालय जाने बालबालिका सबैभन्दा बढी प्रभावित भएका छन् । बजेटकै लागि केन्द्रीय सरकारसँग पनि आग्रह गर्ने नगरपालिकाका प्रशासकीय प्रमुख सुरेन्द्र सिंहले जानकारी दिनुभयो । 

 



नलगाडमा भएको क्षतिको पुनःनिर्माण गर्न करोडौँ बजेट लाग्ने भएकाले थोरै बजेटले सम्भव नभएको नगरप्रमुख रावलले बताउनुभयो । नलगाडको– २, ३, ४, ५, ६, ७, ८ र १३ वडामा बाढीपहिरोका कारण व्यापक क्षति भएको थियो । 

प्रतिकृया दिनुहोस