• २०८१ बैशाख ११ मंगलबार / Tuesday, April 23

चार महीनामै वार्षिक लक्ष्यभन्दा बढी राजश्व सङ्कलन

Fm Radio Link

 

 

दमौली,  तनहुँको शुक्लागण्डकी नगरपालिकाले चालू आर्थिक वर्ष ०७५/७६ को चार महीनामै वार्षिक लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गरेको छ । 

 



नगरपालिकाले चालू आवमा रु पाँच करोड चार लाख १३ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा चार महीनाको अवधिमा रु आठ करोडभन्दा बढी राजश्व सङ्कलन गरेको हो । नगरपालिकाले मङ्सिरको मध्यसम्म रु आठ करोड ३४ लाख ९७ हजार ७७८ राजश्व सङ्कलन गरेको उपप्रमुख सविता रसाइलीले जानकारी दिनुभयो । 

 



उहाँका अनुसार आन्तरिक उत्पादन करबाट रु तीन करोड ६७ लाख ५४ हजार ५००, ढुङ्गा, गिट्टी, बालुवा उत्खनन तथा बिक्री ठेक्काबाट रु दुई करोड ६७ लाख ८६ हजार, नवीकरण, सम्पत्ति मूल्याङ्कन, नाता प्रमाणित, व्यक्तिगत घटना दस्तुर, विद्युत् सिफारिशलगायतबाट रु एक करोड २१ लाख सङ्कलन भएको छ ।

 

 

स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएर आएको वर्ष लक्ष्यभन्दा कम राजश्व सङ्कलन गरेको नगरपालिकाले चालू आवमा भने लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गर्न सफल भएको रसाइलीले बताउनुभयो । “गत आवमा हामीलाई कम अनुभव भएका कारण लक्ष्यअनुसार राजश्व सङ्कलन गर्न सकेनौँ”, उहाँले भन्नुभयो । 

 



नगरपालिकाले गत आवमा रु छ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा रु चार करोड मात्रै सङ्कलन भएको थियो । नगरपालिकाले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन तथा बिक्री ठेक्काबाट प्राप्त हुने राजश्वलाई पहिलो प्राथमिकतामा राखेको छ । आन्तरिक स्रोत वृद्धि गर्न करको दायरालाई फराकिलो बनाउँदै लगिएको उहाँले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस