• २०८१ बैशाख ७ शुक्रबार / Friday, April 19

हात्ती महोत्सवमा कवितामार्फत संरक्षणको सन्देश

Fm Radio Link

भरतपुर, 

वन वन्यजन्तु हाम्रा पर्यटनका मुख्य आधार 
संरक्षणमा लागौँ सबै गर्न छोडी अवैध व्यापार 
पर्यटनको आगमनमा आँच कहिल्यै नआओस् है 
देशप्रतिको वितृष्णा भाव कसैसँग नजाओस् है (बबिता खनाल) को 

 

 हात्ती महोत्सवमा खनालले वन वन्यजन्तुको संरक्षणमा लाग्न र अवैध व्यापारलाई निरुत्साहित गर्न कवितामार्फत आग्रह गर्दै । 

 

चितवनको सौराहामा जारी पन्ध्रौँ चितवन हात्ती महोत्सवमा खनालले वन वन्यजन्तुको संरक्षणमा लाग्न र अवैध व्यापारलाई निरुत्साहित गर्न कवितामार्फत आग्रह गर्दै हुनुहुन्थ्यो । 

 

खनाल मात्रै होइन, अन्य करीब २० भन्दा बढी कवि, कवयत्री सौराहाको बाघमारा मध्यवर्ती वनको चौरमा उपस्थित भएर कवितामार्फत संरक्षणको सन्देश प्रवाह गरेका छन् । उहाँहरुले कवितामार्फत जल, जमीन, जङ्गल, जनावर र मानिसको अन्योन्याश्रित सम्बन्ध रहेको बताउनुभयो । अग्रज साहित्यकार केदारनाथ खनालले कवितामार्फत चितवन राष्ट्रिय निकुञ्जको गुणगान यसरी गाउनुभयो । 

 

रमणीय छ सर्वत्र लतावृक्ष सरोवर 
अग्लाअग्ला ठूला साल, काँज सिमलका रुख 
धड्डी काँस पलाएका घाँसे मैदान उर्वर 
प्रसिद्ध यो बनेको छ सिमसार क्षेत्र सुन्दर 
चिताउन जसले जस्ती पाउन है उनले त्यति । 

 

खनालले निकुञ्जको गुणगान गाइरहँदा अर्का साहित्यकार एलबी क्षत्रीले कवितामार्फत धु्रवे हात्तीलाई सम्झनुभयो । उहाँले धु्रवे हात्ती हराएको तर उसको गर्धनलाई निस्तेज पार्ने बन्दुकका शृङ्खलाबद्ध आवाज अझै पनि जीवित रहको ब्यङ्ग्य गर्नुभयो । 

 

मानिसकै धम्कीका कारण आज पनि चरा, बाघ गैँडा र हात्ती तर्सित रहेकामा उहाँको चिन्ता थियो । क्षत्रीले सौराहामा जङ्गली जनावर र चराको स्वर सधैँ गुञ्जिरहनुपर्ने धारणा राख्नुभयो । युवा सहित्यकार भूपिन ब्याकुलले २३औँ शताब्दीको कल्पना गर्दै कवितामार्फत भन्नुभयो

 

 समयको सुदूर जङ्गलमा बाँचिरहेका 
लोकउन्मुख मानिस हेर्नबाघहरु आए दुर्बिन र क्यामरा भिरेर 
निकुन्जको टिकट काटे र छिरे जङ्गलभित्र जिप सफारीमा 
भग्नावशेष कङ्क्रिटको जङ्गलमा कतै मानिस नभेटेपछि निरास डमरुले सोध्यो बाउलाई 
अर्बौं मानिसहरु कसरी लोप भए पृथ्वीबाट ।

 

 कवि ब्याकुलको कवितामा वन, वन्यजन्तुको संरक्षण नगरे अर्को शताब्दीमा मानिसको अस्तित्व नै लोप हुने भन्दै खबरदारी गर्नुभयो । चितवन काव्य यात्रा नाम दिएर हात्ती महोत्सवमा पहिलोपटक आयोजना गरिएको कवि गोष्ठीमा कवि÷कवियत्रीले संरक्षणसँगै सामाजिक विषयवस्तुका कविता सुनाए । उनीहरुले जङ्गली जनावरको अस्तित्व रहेन भने मानव अस्तित्व पनि शङ्कटमा पर्ने भन्दै चिन्तासमेत व्यक्त गरे ।

 

वन, जङ्गल र मान्छेको प्रेम सुमधुर हुनुपर्ने उनीहरुको भनाइ थियो । हात्तीको विभिन्न खेल समेटेर आयोजना गरिएको चितवन हात्ती महोत्सवमा पहिलोपटक संरक्षणमूलक साहित्यिक कार्यक्रम आयोजन गरिएको हो । 

 

कविता सुनेर बस्नुभएका कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले कवितामार्फत संरक्षणको सन्देश प्रवाह भएको भन्दै खुशी जनाउनुभयो । उहाँले भन्नुभयो, “मानिस र वन वन्यजन्तुको सम्बन्ध र व्यवहारलाई कविताले व्यङ््य गरेको छ ।” 

 

कार्यक्रममा साहित्यकार केदारनाथ खनाल, एलबी क्षेत्री, भुपिन ब्याकुल, अभय श्रेष्ठ, कवि प्रसन्न, आरके गिरी, हेमन्त विवस, गणेश राई, दीपेन्द्रसिंह थापा, उदय अधिकारी, धनराज गिरी, कृष्ण घिमिरे, सुरेन्द्र अस्तफल, बबिता खनाललगायतले कविता प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम क्षेत्रीय होटल सङ्घ चितवन सौराहाका अध्यक्ष सुमन घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो 

प्रतिकृया दिनुहोस