• २०८१ बैशाख ७ शुक्रबार / Friday, April 19

तीन प्रदेशको ‘रिफर हब सेन्टर’ भेरी अस्पताल

विभिन्न रोगका गम्भीर बिरामीलाई भेरी अञ्चल अस्पतालमा हब सेन्टर बन्न पुगेको

Fm Radio Link

राँझा, नेपालगञ्जस्थित भेरी अञ्चल अस्पताल तीनवटा प्रदेशका जिल्लाबाट पठाई आउने बिरामीको विशेषज्ञ उपचार केन्द्र (हब सेन्टर) बनेको छ । यस क्षेत्रका स्वास्थ्य संस्थामा प्राथमिक उपचारका लागि आउने सडक दुर्घटनालगायत विभिन्न रोगका गम्भीर बिरामीलाई सोझै भेरी अञ्चल अस्पतालमा प्रेषण गरिने भएकाले यो हब सेन्टर बन्न पुगेको हो । 

 

भेरी अञ्चल अस्पताललाई मात्र आधिकारिक उपचार केन्द्रको मान्यता दिएको।

 

बाँकेमै नेपालगञ्ज मेडिकल कलेजको नेपालगञ्ज र कोहलपुरस्थित शिक्षण अस्पताल रहे पनि स्वास्थ्य सेवा विभागले भेरी अञ्चल अस्पताललाई मात्र आधिकारिक उपचार केन्द्रको मान्यता दिएको अस्पतालका निमित्त प्रमुख डा रुपानन्द अधिकारीले बताउनुभयो ।

 

“प्रादेशिक संरचनामा गएपछि भेरी अञ्चल अस्पताल खासगरी दाङ, बाँके र बर्दियाको लागि रिफर हब सेन्टर हो,” डा अधिकारीले भन्नुभयो, “तर कर्णाली प्रदेशको सुर्खेत, सल्यान, सुदूरपश्चिम प्रदेशको कैलाली कञ्चनपुरबाट समेत बिरामी यहाँ आउने गरेका छन् ।” 

 

शिक्षण अस्पताल कोहलपुर र नेपालगञ्जमा ठूलो सङ्ख्यामा बिरामी तथा घाइतेको प्रेषण हुने भए पनि प्रशासनिक कारणका कारण सरकारले आधिकारिक हब सेन्टरको मान्यता नदिएको उहाँले बताउनुभयो । “सेवा सुविधाको कुरो होइन शिक्षण अस्पतालहरु व्यवस्थित नै रहेका छन् तर प्रशासनिक जिम्मेवारीका आधारमा आधिकारिकता नभएको हुनुपर्छ,” उहाँले भन्नुभयो । 

 

महामारी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख चिकित्सक प्रकाश शाहले रिफरल हब सेन्टर हुनका लागि विशेषज्ञ तालीम प्राप्त स्वास्थ्यकर्मी र पर्याप्त उपकरण हुनुपर्ने प्रावधान रहेको बताउनुभयो । “प्राथमिक उपचार त भइसकेको हुन्छ, हब सेन्टरमा बिरामी अथवा घाइतेको विशेषज्ञ उपचारको व्यवस्था हुनुपर्छ,” डा शाहले भन्नुभयो, “सडक दुर्घटनामा परी हातखुट्टा भाँचिएका व्यक्तिहरुको विशेषज्ञ उपचार हुने ट्रमा सेन्टरको यस क्षेत्रमा आवश्यकता छ ।” 

 

साबिकको मध्य तथा सुदूरपश्चिम क्षेत्र हालको प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा विशेषज्ञ अस्पताल नरहेकाले पनि भेरी अस्पताल नेपालगञ्जमा बिरामी तथा घाइते प्रेषण गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । सरकारले भेरी अञ्चल अस्पताल नेपालगञ्जलाई विशेषज्ञ सेवासहितको अस्पतालमा रुपान्तरण गर्न सहमति दिएको छ । 

 

सडक दुर्घटनामा परी टाउकामा चोट लागेर भेरी अस्पताल नेपालगञ्जमा प्रेषण भएर आउने बिरामीको उपचारमा कठिनाइ हुने गरेको छ । भेरी अस्पतालमा न्यूरो सर्जन चिकित्सक नभएका कारण उनीहरुको विशेषज्ञ उपचार नहुने अवस्था रहेको छ । त्यस्ता बिरामीलाई सामान्य उपचार गरी काठमाडौँ वा लखनऊ प्रेषण गर्ने गरेको अस्पतालका निमित्त प्रमुख डा अधिकारीले जानकारी दिनुभयो । दरबन्दी रहे पनि भेरी अस्पताल डेढ दशकदेखि न्यूरो सर्जनविहीन छ । 

प्रतिकृया दिनुहोस