• २०८१ बैशाख ८ शनिबार / Saturday, April 20

अल्ट्रा म्याराथन माघ १६ मा

तनहुँको नगरपालिकाले नगर अल्ट्रा म्याराथन आयोजना गर्ने

Fm Radio Link

दमौली,  खेलकूदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित तनहुँको व्यास नगरपालिकाले दोस्रो व्यास नगर अल्ट्रा म्याराथन आयोजना गर्ने भएको छ । शहीद दिवसको अवसर पारेर व्यास नगरपालिकाले माघ १६ गते दोस्रो व्यास नगर अल्ट्रा म्याराथन आयोजना गर्न लागेको हो । 

 

मानहुँबाट शुरु हुने म्याराथन व्यास नगरपालिका–८ पुलिमराङसम्म ४४ किमी दूरीको रहनेछ

 


व्यास नगरपालिका–५ मानहुँबाट शुरु हुने म्याराथन व्यास नगरपालिका–८ पुलिमराङसम्म ४४ किमी दूरीको रहनेछ । म्याराथन मानहुँकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिनेछ । 

 

नगर प्रमुख वैकुण्ठनाथ न्यौपानेले पर्यटकीय गाउँ मानहुँ र शहीदको गाउँ पुलिमराङलाई खेलकूदको माध्यमबाट जोड्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले म्याराथन आयोजना गर्न लागिएको जानकारी दिनुभयो । 

 

प्रतियोगितामा १५० भन्दा बढी धावकको सहभागिता रहने अनुमान गरिएको व्यास नगरपालिका–५ का वडाध्यक्ष एवं प्रवक्ता मोहनकुमार श्रेष्ठले बताउनुभयो । गत वर्ष आयोजना गरिएको प्रथम व्यास नगर अल्ट्रा म्याराथनमा ३० जिल्लाका १४४ धावकको सहभागिता रहेको थियो । जसमध्ये १२३ धावक अन्तिम बिन्दुसम्म पुगेका थिए । 

 

प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ८० हजार, दोस्रो हुनेलाई नगद रु ६० हजार, तेस्रो हुनेलाई नगद रु ५० हजार र सान्त्वना हुने पाँच जनालाई रु पन्ध्र÷पन्ध्र हजार प्रदान गरिनेछ । 

 

प्रतियोगिताका लागि नगर प्रमुख न्यौपानेको संयोजकत्वमा १०१ सदस्यीय मूल आयोजक समिति, व्यास नगरपालिका–५ वडाध्यक्ष श्रेष्ठको संयोजकत्वमा व्यवस्थापन समिति र व्यास नगरपालिका–८ का वडाध्यक्ष ओजराज पौडेलको संयोजकत्वमा स्वागत समिति गठन गरिएको छ । 

 

प्रतियोगिता सञ्चालनका लागि रु १० लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा सहभागी हुन चाहनेले माघ १४ गतेभित्र नाम दर्ता गराइसक्नुपर्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाले मानहुँ र पुलिमराङलाई पर्यटकीय गन्तव्य बनाउने लक्ष्य लिएको नगर प्रमुख न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार मानहुँमा यसै वर्ष रु ३० लाखको लागतमा भ्युटावर निर्माण गरिनेछ भने पुलिमराङमा शहीद पार्क निर्माणको थालनी गरिनेछ । 

प्रतिकृया दिनुहोस