• २०८१ बैशाख ६ बिहीबार / Thursday, April 18

सबै वडामा प्रसूति केन्द्र स्थापना

पाँच वटै वडामा प्रसूति केन्द्र सञ्चालनमा

Fm Radio Link

बेझाड,  पाल्पाको दुर्गम र विकटमा रहेको रम्भा गाउँपालिकाका सबै वडामा प्रसूति सेवा सञ्चालनमा भएपछि सुत्केरीलाई सेवा लिन सजिलो भएको छ । 

 

जनप्रतिनिधिको पहलमा सबै वडामा प्रसूति सेवा केन्द्र स्थापना गरिएको हो ।

 

स्वास्थ्य संस्थाको पहुँचबाट टाढा रहेका यहाँका महिलालाई गाउँपालिकाका पाँच वटै वडामा प्रसूति केन्द्र सञ्चालनमा आएपछि ठूलो राहत मिलेको छ । यहाँ प्रसूति सेवा नहँदासम्म जिल्ला सदरमुकाम तानसेन जानुपर्ने बाध्यता थियो । 

 

गाउँपालिकालाई शून्य होमडेलिभरी पालिका बनाउन जनप्रतिनिधिको पहलमा सबै वडामा प्रसूति सेवा केन्द्र स्थापना गरिएको हो ।

 

 चालू आर्थिक वर्षको साउनयता ८२ सुत्केरी भएकोमा ७८ ले स्वास्थ्य संस्थामा पुगेर बच्चा जन्माएको रम्भा गाउँपालिका स्वास्थ्य शाखा सहसंयोजक शिवप्रसाद अर्यालले बताउनुभयो । करीब ९५ प्रतिशत गर्भवती सुरक्षित किसिमबाट स्वास्थ संस्थामा पुगेर सुत्केरी भएको पाइएको छ । यसलाई शतप्रतिशत पुयाउन गाउँपालिकाले स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ ।

 

 गाउँपालिकामा संस्थागत सुत्केरी बढाउन स्वास्थ्य संस्थामा नै पुगेर बच्चा जन्माउने महिलालाई प्रोत्साहन स्वरुप रु एक हजार ५०० रकम प्रदान गरिएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो । 

 

गर्भवती तथा सुत्केरीलाई स्वास्थ्य सेवाको पहुँच बढाउन प्रत्येक वडामा गर्भवती तथा सुत्केरीको तथ्याङ्क सङ्कलन, वस्तुस्थितिको अध्ययन र योजना निर्माण गरिएको छ । 

 

यसैगरी पूर्ण पोषण र बालमैत्री गाउँपालिका घोषणाका लागि गाउँपालिकाले तयारी गरिरहेको छ । पूर्ण पोषणयुक्त गाउँपालिका घोषणाका लागि महिला स्वास्थ्य स्वयंसेविका, सहयोगी सहजकर्ता तथा अन्य सरोकारवालाई तालीम प्रदान गरिएको छ । 

प्रतिकृया दिनुहोस