• २०८१ बैशाख ८ शनिबार / Saturday, April 20

पोखरा लिटरेचर फेष्टिभल– साकिराको देशबाट आएका सारङ्गी रेट्ने एरिक

२३ सेसन, ३० वक्ता, पोखराभरी फिजाउँछौँ– आयोजक 

Fm Radio Link

पोखरा, एरिक बोङकाङ तीन वर्षअघि नेपाल घुम्न आए । घुम्दै जाँदा जब उनी पोखरा आए, अचम्मको बाजा देखे । सुमधुर धुन निकाल्ने यो बाजा उनले बाँकी विश्वमा देखेका थिएनन् । गिटार रेट्ने एरिकले हलिवुडमा समेत संगीत भरिसकेका थिए । 

 

 

जब उनलाई पोखरामा देखेको बाजा र त्यसले दिने धुनले मोहनी लगायो, उनी फुत्किन सकेनन् । काठ र धागोमात्र देखिने यो बाजा बजाउन उनी पोखरा बसेर सिक्न थाले । स्वदेश जाँदा पनि लिएरै गए । जब उनी आफ्नो देश पुग्थे, पोखराको यादले सताउँथ्यो । फेरि फर्केर आइहाल्थे । एउटा बाजाको धुनले उनलाई यसरी चारपटक पोखरा आउजाउ गरायो । 

 

 

सारङ्गीको धुन सुनेर यसरी मन्त्र मोहक बनेका एरीक अहिले सारङ्गीका धुन आँफै सिर्जना गर्छन् । र विश्व संगीतमा सारङ्गीका धुनहरु पु¥याइरहेका छन् । यी संगीतकार नेपालभन्दा १५ हजार ६ सय ७३ किलोमिटर टाढाको देश कोलम्बियाका नागरिक हुन्, जुन देशलाई साहित्यका पारखीहरु मार्खेजको देश भनेर चिन्छन्, संगीतका पारखीहरु साकिराको देशका रुपमा चिन्छन् । त्यसबाहेकको सम्बन्ध अब नेपालीसँग अब एरिकले जोड्दैछन् । पोखरामा आयोजित ‘पोखरा लिटरेचर फेष्टिभल’मा आफ्नो अनुभव सुनाउँदै उनै एरिकले भने, ‘दाउरा र धागोले बनेको यो सारङ्गीले दिने स्वरमा निकै मिठास छ, यसबाट टाढा हुनै सकिन ।’ 

 

 

हातमा सारङ्गी बोकेर दर्शकका अघि बसेका एरीकले युवा पुस्ताले सारङ्गी बजाउन चासो नदिएकोमा चिन्ता समेत जनाए । ‘सारङ्गीका धेरै धुनहरु अहिलेका युवा पुस्तालाई थाहा छैन,’ उनले भने, ‘केही केही धुन मात्र थाहा छ ।’ युवा पुस्ताबाट हराएको ब्रतबन्धको समयमा बजाउने धुन बजाएर उनले सहभागीलाई आश्चर्य चकित त पारे नै, नेपाली समाजमा धान रोप्ने बेला बजाइने धुन बजाएर एरीकले दर्शकलाई यो माघे जाडोमा पनि असारे अनुभूति दिलाए । 

 

२३ सेसन, ३० वक्ता



हिन्दु धर्मावलम्बीले श्रीपञ्चमीका दिन विद्याकी देवी ठानेर भगवान सरस्वतीको पुजा गर्छन् । यही दिन, बौद्ध धर्मावलम्बीले भने सरस्वतीकै रुपमा मञ्जु श्रीको पूजा गर्छन् । यही पञ्चमीका दिन आयोजित पोखरा लिटरेचर फेष्टिभलमा ठाकुरप्रसाद त्रिपाठीले सरस्वती र बौद्ध आचार्यले मञ्जुश्रीका बारेमा ब्याख्या गरे । 

 

 

सोही अवसरमा संस्कृत साहित्य पढिरहेका बटुकहरु मार्फत सनातन हिन्दु धर्मको ब्याख्या मात्र गरेनन्, बेदका श्लोकहरुले माहौल तताए । साहित्य भित्र र बाहिर नारी शीर्षकमा लेखक सावित्री गौतमले महिलालाई बास्तविक समाजमा मात्र नभई साहित्य र गीत संगीतमा पनि महिलालाई पाखा पारिएको बताइन् । कवि विकास रोका मगरले खाम मगर भाषामा र जसु गुरुङले गुरुङ भाषामा कविता वाचन गरे भने पोखराकै ह्वाट अ बुक क्लबका युवाहरुले मानसिक स्वास्थ्यका बारेमा चर्चा चलाए । 

 

 

२३ वटा सेसनमा ३० जनाले बहस चलाएको कार्यक्रमको अन्त्यतिर एकजना मधेसी नागरिक मञ्चतर्फ लागे । पहाडका गाउँ र सहरहरुमा प्रेसर कुकर बनाउनेदेखि ग्यासका सामग्री मर्मत गर्न साइकलमा मर्मत सामग्री बोकेर हिँड्ने छविलाल यादव थिए ती । 

 

 

प्रेसर कुकर बनाउने सामाग्री झुण्डिएको साइकल सहित जब यादब मञ्चमा पुगे, उनले आफ्नो अनुभुतिहरु सुनाउन थाले । ‘मधेशमा गएर बसेका पहाडीलाई समस्या छैन, सबै ठिक छ,’ उनी भन्दै गए, पहाडमा हामी काम गर्न आउँदा हामीलाई हेप्छन् ।’ उनी पहाडी यात्रामै सीमित रहेनन् । छिमेकी देश भारतमा पनि आफुहरुलाई नेपाली भनेर हेप्ने गरेको तितो अनुभव उनले सुनाए ।’ ‘पहाडमा मात्र होइन, हामीलाई भारतमा पनि राम्रो व्यवहार गर्दैनन्,’ उनले भने । यादबले आफ्नो काम गरेर खान पनि अपमान सहनुपरेको पीडा भनिरहँदा दर्शकको पनि मन उद्धेलित बनायो । 

 

 

राजनीतिक सेसनमा विवेकशील साझा पार्टीका गण्डकी प्रदेश संयोजक महेश भन्डारीले वैकल्पिक यात्राका चुनौतीका बारेमा बोले । उनले कला साहित्यदेखि हरेक क्षेत्रमा नेपालीले गौरव गर्न सक्ने अवस्था भएपनि राजनीतिमा नभएको प्रसंग उल्लेख गरे । राजनीतिमा महिला शीर्षकमा प्रवीणा अधिकारीले महिलालाई आन्दोलनका बेलामा मात्र प्रयोग गर्ने गरेको बताइन् । सेसनहरु रमाइला भएपनि एकै दिन धेरैवटा भएको दर्शकहरुको भनाइ थियो । 

 

पोखराभरी फिजाउँछौँ– आयोजक 



पोखरा लिटरेचर फेष्टिभल पहिलोपटक १७ वैशाखमा आयोजना गरिएको थियो । त्यतिबेला ४ वटा सेसनमा समिति एक दिने यो फेष्टिभल अहिले २३ वटा सेसनमा पुगेको छ । आयोजकले भने अब पोखराका विभिन्न ठाउँहरुमा यस्ता कार्यक्रम गर्दै जाने बताएको छ । 

 

 

आयोजक पोखरा लिटरेचर फेष्टिभलका विमल दाहालले लुम्बिनीमा अशोक स्तम्भ गाड्न राजा अशोक प्रति सम्मान जनाउन कार्यक्रमको आयोजना गरेको बताए । उनले विश्वको पहिलो फेमिनिष्ट म्यारी विल्स्टन क्राफ्ट र अमेरीकी उपन्यास अंकल टम क्याबिनलाई पनि यो महोत्सब मार्फत सम्मान व्यक्त गरेको उनले बताए ।

 

 

धम्मपथ र निब्बाना गरी दुईवटा थिम दिइएको कार्यक्रममा पोखरेली गायक विनोद वानियालाई नारायण गोपाल सम्मान, इतु जोजिजुलाई अरुणा लामा सम्मान र अन्तर्रा्ष्ट्रिय संगीतकार एरीक बोङकामलाई झलकमान गन्दर्भ सम्मान प्रदान गरिएको थियो । उनीहरुलाई सम्मान स्वरुप एक पैसा र सम्मानको नाम दिइएका कलाकारको आकृति चित्र उपहार दिइएको थियो । 

 

 

अब पोरा लिटरेचर फेष्टिभललाई पोखराभरी फैलाउने योजना रहेको दाहाल बताउँछन् । यसै महोत्सबको अर्को सेसन फागुनमा आयोजना गरिने बताउँदै उनी भन्छन्, ‘अब पोखरा महानगरमा रहेका ३३ वटै वडामा पुगेर ९ वटा ताल, १० वटा मन्दिर, गुफाहरुमा पुगेर महोत्सब गर्छौं ।’

 

 

महोत्सवमार्फत पोखरामा एउटा भर्चुएल पुस्तकालय स्थापना, लिटरेचर ट्रष्ट लगायतका स्थापना गरिने दाहाल बताउँछन् । यसका लागि आयोजकले चित्रकला विक्री गर्ने योजना समेत बनाएको छ । महोत्सब सञ्चालनका लागि सरकारी वा गैरसरकारी संस्थाबाट आर्थिक सहयोग नलिएको समेत उनले जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस