• २०८१ बैशाख ८ शनिबार / Saturday, April 20

फोहर व्यवस्थापनको जिम्मेवारी निजी क्षेत्रलाई

Fm Radio Link

म्याग्दी, सदरमुकाम बेनीबजारको फोहर व्यवस्थापनको जिम्मेवारी निजी क्षेत्रलाई दिइएको छ । 

 


बेनी र गलेश्वर बजारको फोहर सङ्कलन तथा रातोपहिरोमा निर्माण भएको फोहर व्यवस्थापन केन्द्र सञ्चालनका लागि मङ्गलबार सम्झौता भएको हो । नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ र मिसन फर वेष्ट म्यानेजमेन्ट प्रालि पोखराका सञ्चालक याम दमाईका बीच सम्झौतापत्रमा हस्ताक्षर भएको नगर प्रवक्ता रामकृष्ण बराइलीले जानकारी दिनुभयो । 

 



सम्झौताअनुसार नगरपालिकाको ट्याक्टर र कम्प्याक्टर परिचालन गरेर सो फोहर सङ्कलन गरी केन्द्रमा लगेर व्यवस्थापन गरिने भएको छ । एक ट्याक्टर, एक कम्प्याक्टरको इन्धन र मर्मत खर्च तथा चार कर्मचारीको तलबभत्ता कम्पनीले नै ब्यहोर्ने छ । 

 



फोहर व्यवस्थापनवापतको शुल्क नगरपालिकाले नै उठाउने, नगरपालिकाले ४० र कम्पनीले ६० प्रतिशत शुल्कको आम्दानी लिने सम्झौतामा उल्लेख भएको प्रवक्ता बराइलीले जानकारी दिनुभयो । बुधबारदेखि सम्झौता कार्यान्वयन हुने भएको छ । 

 



नगरपालिकाले वडा नं ८ र ९ को सिमानामा पर्ने रातो पहिरोमा रु ४८ लाख खर्च गरेर गत असोजमा फोहर व्यवस्थापन केन्द्रको पूर्वाधार निर्माण गरेको थियो । वातावरणलाई असर नपर्ने गरी फोहर व्यवस्थापन हुने नगरप्रमुख श्रेष्ठले बताउनुभयो । 

 



टोल सुधार समितिसँगको सहकार्यमा घरमै कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै भाँडामा राखेर सङ्कलन गरी सोहीअनुसार व्यवस्थापन गर्ने व्यवस्था मिलाइने प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताउनुभयो । बेनी–गलेश्वर सडकको छेउ र कालीगण्डकी किनारमा फालिदै आएको फोहरको दुर्गन्धका कारण गलेश्वर, जलेश्वर, बगरफाँट र कालीपुलका बासिन्दालाई सकस भएको थियो । 
 

प्रतिकृया दिनुहोस