• २०८१ बैशाख १४ शुक्रबार / Friday, April 26

बिर्सिएको घाउ हौँ तिमी  ! र, सम्झिरहेको खत पनि !!

....म तिमीलाई प्रेमपत्र लेख्न चाहन्थे । कापी र कलमको प्रेम हेरेरै अघाए !! : राजु झल्लु प्रसाद

Fm Radio Link

प्रिय पराइ मान्छे !
आज अतितको गोठालो हुन् मन लाग्यो । तिम्रो यादहरु चराउदै हिड्दै छु - सम्झनाको उराठिलो फाँटहरुमा ।  

 


मीतिपात्रोको त्यो पवित्र तिथिमा तिमी अतिथि बनेर मेरो हृदयको बलेसीसम्म रुझ्दै आएकी थियौं ।  ब्लिडीङ हार्टका लहराहरु निथ्रुक्क भिजेका थिएँ । म बार्दलीमा बसेर कालो आकाश नियालीरहेको थिएँ । काला बादलहरु ओथारो बसेका माउ कुखुरा जस्ता देखिन्थे ।  गमक्क फुलेका । तर अनायासै बादल फेरी  चुहियो । रोकिएको झरी फेरी पोखियो ।  बलिरहेको पानस मुनि रोइरहेको अध्यारो जस्तो- अध्यारिदै थियो दिन ।  

 


अचानक तिमीलाई देखे- सुनसान सडकमा, तिमी बडो सतर्क भएर हिड्दै थियौं ।   सडकमा व्याप्त धुमिल कुहिरो बीच पनि तिमी प्रस्ट देखियौं । म  एकाग्र भएर तिमीलाई हेरीरहें ।  तिम्रो ओठमा लाली थिएन । झरीले पखालीदिएको हुँदो हो । ओठ कमाइरहेकी थियौं ।  र, सायद कतै ओत लाग्न खोज्दै थियौं । टाइट जिन्स र निलो टिसर्ट लफ्रक्क भिजेको थियो । झरी यस्तै छ । मनपरि गर्छ ।  जसमाथि जे पनि गर्छ । झरीले  प्रजातान्त्रिक हमाला गरेछ  तिमिमाथि पनि ।  तिम्रो छातीको गोलाईको नाप म पहिलाउन सकिरहेको थिइन् । तलमाथि गरिरहेका तिम्रो छातिमा मखमलि लयात्मक धुन भने व्याप्त थियो । तिमी ठ्याक्कै मेरो घरधनीको घर मुनि ओत लागेयौं ।  प्रथमपटक मलाई झरीसँग रिस उठ्यो ।  

 


म सरासर तल झरे । आशिर्वाद मुद्रामा आसनरत जस्ताको पालि मुन्न्याड तिमी लगलग कामिरहेकी थियौं । प्रथमपटक हामीले एकअर्कालाई देखेयौं । मैले आफ्नो शिर छाति तिर झारे । सायद तिमीले पनि । तिम्रो नशालु आखाँको वैसालु हेराइले हृदय ठ्याक्कै अन्धो भैदियो । हामीले फेरी शिर उठायौं ।  प्रथमपटक हामि हासेयौं । तिम्रो ओठबाट गुलाबी छाता बोकेर एउटा बैसालु मुस्कान फुत्त निस्कियो त्यतिखेर । म त्यो हासो सम्झीरहेछु यत्तिखेर ।  

 


त्यसपछि एक-एक कप झरी पियौं हामीले - बेमौसमी मौसमको वर्षादी क्याफेमा ।  कुहिरोले बाक्लो कम्बल ओढाउदै गयो यो शहरलाई । हामि दुवै मौन, चुपचाप रहिरहेयौं ।  एक टुक्रा साँझ कालो वैन्डप्रुफ जकेट लगाएर आइपुग्यो हामी बीच, तिमी थोरै लाज मान्दै धेरै मुस्कुराउँदै उ परको मोड देखि मोडीयौं । 

 


वसन्तको एक साझ !


कालो मफलर ओढेर आइपुग्यो एक टुक्रा अध्यारो । हामी शहरको साँघुरो गल्लिमा थियौं । तिमीले भनेयौ, 'अग्लाअग्ला घर बनाएर तिम्रो शहरको मान्छेले आकाश घटाईरहेछन् । मलाई यो कुरा मनपर्दैन् ।' म बोल्न मात्रै लागेको थिएँ, ठुलो मेघ गर्जन सहितको हावाहुरी मडारियो । लाग्यो, शताब्दियौंदेखिको बाक्लो हुरी एकासाथ मडारिदैछ । र, वसन्तलाई विधुवा बनाएरै छाड्नेछ । हाम्रो नजिकै कुनै नेवारी खाजा घर थियो । हामी अत्तालिदै त्यहि छिरेयौं । र, नेवा: ऐला घुट्कायौं । मैले भनें, 'जिन्दगि भट्टी हो ।  हामि जड्याहा हौँ । अतित जाड हो । भविष्य रित्तो प्याला हो ।' 'ए, अँ वर्तमान चाहि मातीरहनु हो ', तिमीले भनेयौं । हामी दुवैले सँगसँगै भनेयौं, ' चियर्स !'  त्यसपछि हामि दुवैजोडजोडले हासेयौं । हामी घन्टौ एकअर्कामा हरायौं । 

 


अर्को कुनै बिहान । आर्यघाट । 


हाम्रा जिन्दगीको पाइलाहरु मृत्यु कुल्चदै घाट तिर बरालीरहेका थिएँ । 'घाट एक सुन्दर पवनभूमि हो, जहाँ कोमामा गएको हुन्छ - जिदगीको भिषण भुस्साहा ज्युदोंपन । 'मेरो कुरालाई बहुत चासो दिदै तिमीले भनेयौ, ' मलाई त लाग्छ - मृत्यु न्यायधिस हो जसले जन्मकैदको सजाय सुनाएको छ जिन्दगिलाई । ' म पारिपट्टि बलिरहेको चिताहरु हेर्दै एकाएक चुप भएँ । तिमी मेरो काध थपथापाउदै बोल्न थालेयौं, ' जिन्दगीको शत्रु सास नै हो यार ।  सासले निम्ताउने बकवास आशले गर्दा मान्छे हतास हुन्छ । दौडिन्छ - कही पुग्दैन । हेर्छ - केहि देख्दैन् ।  खान्छ - कहिल्यै अघाउदैन ।  खोज्छ- केहि भेट्दैन् ।' म जुरुक्क उठेर तिमीलाई आफ्नो सास तिर तान्दै भने 'साच्चै ! सासको इतिहास पर्दाफास नगरी भएन । '    

' छ्या फोहरी । बिझायो । 'म खिस्स हासें, मुखको सुपारी पनि ननिकालीकन किस गर्न पुगेछु ।  
हेहे ! अतिथि बनेर मेरो दिलको डेरामा आएकी तिमि, बिस्तारै यसैगरि घर धनि बन्दै गयौं । 

 


एक रात !


तिम्रो आवाज एकदम मलिन सुनिन्थ्यो मोबाइलमा । 'आफ्नै घाटीमा बेरिएको यी कपाल फासिको तख्ता झैँ  लागिराछ । मलाई केहि थाहा छैन यार म के गरु ?' तिम्रो फोनले म निस्तब्ध भएँ । तिम्रो आवाज फेरी आयो,  'घन्टाघर आज रानीपोखरीमा हाम्फ्यालेर मर्नेवाला छ रे ! जाउँ हिड हेर्न । ' मेरो हृदय निस्सासियो । सास फुल्यो । 
हत्त न पत्त यत्ति भन्न पुगेछु, 'रानीपोखरीमा पानी कहा छ ?' 
'आत्महत्या गर्न पानि कहा चाहिन्छ ? कहानी भए पुग्छ ।' त्यसपछि तिमि जोडजोडले हासेयौ । मेरो एक्कासि कन्चट तातियो ।  रिसाएर फोन राखीदिए ।  

 


मधुरो घाम लागेको दिनको दिउँसो !


पुषको महिना । म छतमा उक्लेर रोबर्ट एम पिरसिगको 'झेन एण्ड द आर्ट अफ मोटरसाइकल मेन्टेनेन्स' पढीरहेको थिएँ ।  फायाद्र्स आफ्नो छोरालाई क्रिसमसको बारेमा अनेकअनेक बोलिरहेका थिएँ । अकस्मात आएको तिम्रो फोनले मलाई विक्षिप्त बनाइदियो ।  
'हेलो छापामार । अन्डरग्राउण्ड छिरेको कति समय भयो ? मलाई भेट्नु पर्दैन ।  खुरुक्क आउने याँ । '
'हँ ?'
केका हँ ? खुरुक्क आउ ।  

 


तिमी ब्ल्याक कफी पीइरहेकी रहेछौँ । नजिकै गएर भनें,' आफू जस्तै कफी मगाईछौं त ।  ' 
मैले यति भन्न मात्र के भ्याएको थिएँ, तिमीले मेरो ढाडमा अक्षर बांगीएको अस्तव्यस्त हस्ताक्षर गरेयौं । गुड झरेर बौलाएको चराजस्तै भएकी रहेछौ तिमी ।  
'१ महिना भयो हगी ?'
तिमि चुप थियौं । रिसले ।  
'यो १ महिना म आफ्नै काममा अल्झेर तिमीसम्म आइपुग्न सकीरहेको थिइन् । अहिले त आएन नि । 'तिमी अझ पनि चुप थियौं ।  के बोलु के बोलुको मनस्थितिमा मैले पनि कालो कफी नै मागें । कफी अर्डर आयो । आइपुगेको कफी तिमीले आफूतिर सारेयौं । मलाई कफी नपीइकनै स्वादिलो लाग्यो । 
'कहिलेकाही तिमि मेरो सम्झनामा आउँन भुलिदिन्छौ, अनि लाग्छ- ति बाडुल्कीहरु पनि  रक्सि पिएर कतै बरालीरेहका छन् कि ? तिमी त मलाई संझिन्नौ, सम्झिन्नौ ।  तिम्रा सम्झनाहरुले पनि मलाई सम्झिन छाडे । ' मलाई तिम्रा ती वचनहरु सार्है तिता लागेका थिएँ ।  
'जबजब तिमी मलाई भेट्न निम्ताउछौँ ।  म बडो बेगले तिमीसम्म आइपुग्छु । जब आइपुग्छु, आफ्नो गति बिर्सिन्छु । आफ्नो स्वभाव बिर्सन्छु । नदि समुन्द्र सम्म पुगेजस्तै । ' तिमि मेरो आवाजले केइ सतर्क भयौं ।  तिमो ओठमा त्यो बेला गुलाबी मुस्कान चिप्लीरहेको थियो ।  

 


'जिन्दगी फुल रहेछ यार । भमराहरुलाई रसपान ! पुतलीहरुलाई सौन्दर्य !  र, काँडाहरुलाई झन्झट ! ' त्यस भेटमा तिमी अर्कै थियौं । कस्ताकस्ता अडमिल्दा शब्दहरुको सहायताले वाक्य गठन गरिरहेकी थियौं । 
'सपना दुइ आखाँको गल्ती रहेछ । मैले फेरी अर्को गल्ती गरें । 'तिम्रो कुनैपनि कुराहरु म बुझीरहेको थिइन ।  
अचानक आसुँले भिजायौँ आफ्नो अनुहार । म तिम्रो आसुँ पुछ्न् खोज्दै थिएँ-तिमीले रोकेयौ मेरो हात र हास्दै  भनेयौं, ' यी ओठहरु आसुँ रोक्ने बाँध हुन् । साला आसुँ आफ्नो मर्जीले बग्न पनि पाउन्न । ' 
म बोल्न सकिरहेकै थिइन् । तिमी एक्लै चाहिदानचाहिदा सब कुराहरु बोलिरहेकी थियौं ।  

 


हिउँदकै महिना भएतापनि त्यस दिन झरी परेको थियो, मलाई याद छ । यो पनि याद छ, हामि त्यहाँबाट निस्कीसकेपछी झरी पर्न सुरु भएको थियो । म ओत खोज्न लागें । तिमी त्यहि स्थिर उभीइरहेयौं । मैले तानेर तिमीलाई आफूभए तिर ल्याएँ । तिम्रो मुहारमा झरी परिरहेको थियो- त्यसबेला । 
म चुकचुकाए,' ज्याँ एउटा छाता पनि बोकिएन । '
'जिन्दगि झरी हो । ओत खोज्नु हाम्रो दायित्व हो ।  तर छाता कहिल्यै नाबोक्नु । '
'के भनिराछौ ?'
'छत र छाताले मान्छेलाई बन्दि बनाउँछ ।  मान्छे त खुल्ला हुनुपर्छ । जिन्दगि, मन्दिरजस्तो भिडभाडमय हुनुहुदैन । जिन्दगि त घाट जस्तो सुनसान हुनुपर्छ । 'तिमी यसो भन्दै पुन: झरीमा रुझ्न हामफ्यालेयौं । 
मेरो केहि चलेन । अन्ततः म पनि रुझीदिएँ । 

 


छुट्टिदा तिमी भन्दै थियौं, 'ढिलो हिड्न पनि जानेको छ । छिटो छुट्न पनि जानेको छ ।  समय भर्सटाईल छ । ' तिमीले साँझ यसो भनेको मलाई याद छ ।  
किन ?
घडी हेर्दै तिमीले भनेयौं,' तिमीलाई पर्खिदा समय ढिलो हिडीदिन्छ । तिमिसित हुँदा समय चाढै दौडीदिन्छ । समय भर्सटाइल छ । '
त्यसपछि हामी छुट्टियौं । भन्नुपर्ने धेरै कुरा थियो तिमीलाई । तिमी हतारमा थियौं ।  तिमीले किन भेट्न बोलायौं त्यो पनि तिमीले भनिनौ ।  

 


घाउ !

 
बिर्सिएको घाउ हौँ तिमी  सम्झीरहेको खत पनि !

धेरै अगी हामी अपरिचित थियौं ।  र, धेरै भएको छैन - हामीले एकअर्कालाई चिन्न छोडेको । जसरी  जाडोले कठ्याङ्ग्रिएको सडक बालक ज्वरो आउँदा खुसि हुन्छ, उसैगरी तिम्रो सम्झनाले कठ्याङ्ग्रिदा म खुसि हुन्छु ।  आजभोलि म कहाँ पुग्छु, के गर्छु - म थाहा पाउन्न । मेरो बिहानले बताउन सक्दैन, मेरो साँझको ठेगाना । तर जब रात पर्छ, हृदय युद्दभूमि बनिदिन्छ । जहा तिम्रा याद र मेरा धड्कनहरु लड्न सुरु गर्छन ।  

 


प्रिय पराइ मान्छे !
लाग्छ तिमि लुतो हौँ  - मेरो हृदयमा सल्किएको । चिलाइरहन्छ । कनाइरहन्छु । कहिल्यै निको हुन्न । झनझन बढ्दै जान्छ ।  के तिमीलाई बिर्सन सम्भव छैन ?

याद !  उफ्फ़... यो बहुत पीडादायी कुरा रहेछ ।  याद आउँन सम्झिने कोहि हुनुपर्छ या कोहि सम्झिने हुनुपर्छ ? या सम्झीरहनेहरुले बिर्सिदिदा बाडुल्की लाग्छ या बिर्सिएकाहरुले सम्झिदिदा ? मलाई थाहा छैन् ।  अहँ, मलाई थाहा छैन । हुन त कसैले सम्झिदिदा मात्र कहाँ कसैलाई सम्झिरहँदा पनि बाडुल्की लाग्दो हो ।  

आजभोली मेरो अनुहार 'रहस्यमय कर्कलाको पात' बनेको छ । जहाँ आसुँ बाहेक केहि अडिन मान्दैन । तिमी ठिकै भन्थ्यौ, तिमी हुँदा जोडजोडले हास्ने यी ओठहरु साच्चै नै आसुँ रोक्ने बाँध हुन् । साला आसु आफ्नो खुसीले बग्न पनि पाउँदैन । 
खोला - पैताला/घुंडा भएर आउँछ ।  
बाढी, टाउको भएर आउँछ ।  
र, आसुँ ?...

 


प्रिय पराइ मान्छे !
आजभोली पनि यो शहरमा झरी पर्छ ।  आजभोली पनि म त्यो झरीमा एक्लै रुझ्छु ।  यादको झरीमा तिमि हिड्ने  गल्लितिर हिडीरहँदा, आसुँको दहमा नुहाएका यी आखाँहरुले छाता बोक्नुपर्छ भनेर कहिल्यै सम्झिएनन् । काला बादल र तिम्रा यादहरु, दुवै छाता नबोकी आइपुग्छन - मेरो हृदयको बलेसीसम्म । अनि मलाई घुमाउन लैजान्छन् ती पुराना ठाउँहरुमा जहाँ हामि भेट्ने गर्थ्यौं, रुझ्ने गर्थ्यौं, ओत लाग्ने गर्थ्यौं ।  
आजभोली आखाँ ओभानो बनाएर ति ठाउँहरुमा पुग्ने गर्छु  म जहाँ प्रेमको झरीले हामी निथ्र्रुक्कभिज्ने गर्थेयौं ।  तर तिमीलाई थाहा होला नहोला, आखाँ ओभानो हुनेहरुको दिल खुबै रुझेको हुन्छ । भिजेको हुन्छ ।  

 


तिमी भन्थेयौं, 'सपना दुइ आखाको गल्ती हो । ' होइन, 'अतित, वर्तमान र भविष्यको सामुहिक बलात्कार हो सपना । ' म सपना नदेख्ने गल्ती गर्न सक्दिन ।  प्रेम जैविक ड्रग्स हो ।  विशुद्द अर्गानिक । नशालु । मलाई यसको नशामा हराउन देउ ।  म मान्छु, तिमी मेरो भै'रहन पर्दैन अब । हाम्रो भेट भैराख्न पनि जरुरि छैन ।  बस्, म खुट्टा बनि आउँदा - तिमि ठेस बनि आइदिए पुग्छ । 

उफ्फ़ ! लेख्छु भनेको त घाउ न हो ।  लेखिरहँदा कोट्टाइरहे जस्तो हुने रहेछ । 

 


प्रिय पराइ मान्छे !
तिमि कुनै पराइ हृदयको पाण्डुलिपि बनेको खबर साँचो हो ? 
यदि हो भने म विष्मायोधिबोधक चिन्हले भरिएको अप्रकाशित कविता जस्तै भएको कुरा पनि साँचो हो ।  
तिमीलाई नयाँ जीवनको शुभकामना छ ।  लेख्दिन भन्दाभन्दा यत्रो लेखिसकेछु, अब अलिकति अझ लेख्छु ।  


अन्त्यमा,
यतिखेर पनि  झरी परिरहेको छ ।  म बार्दलीमै छु । बिल्डिङ हार्टका लहराहरु भिजिरहेकै छन् । तर यतिखेर म नितान्त झरी परेको दिनको सुर्यमुखी फुल जस्तै भएको छु ।  
आज फेरी पनि तिम्रो प्रेम शित बनि चुहियो हृदयको बलेसी छेउ । डायरी निकाले अनायासै । केइ लेख्न मन भएर आयो ।  निभको टुप्पोलाई हेरिबस्छ खालि पाना ।  खालिपानालाई हेरिबस्छ कलमको निभ ।  
आहा ! क्या मिठो अन्दाज ।  
आह ! क्या प्रेम ।  
....म तिमीलाई प्रेमपत्र लेख्न चाहन्थे । कापी र कलमको प्रेम हेरेरै अघाए !!

 


तिम्रो जिन्दगीको अप्रिय पात्र,
म 

प्रतिकृया दिनुहोस