• २०८१ बैशाख १२ बुधबार / Wednesday, April 24

विषादीको प्रयोग बढेकामा चिन्ता

Fm Radio Link

 

काठमाडौँ,  दैनिक उपभोग्य कृषिजन्य वस्तुमा विषादीको प्रयोग बढेकामा सांसदले चिन्ता व्यक्त गरेका छन् । राष्ट्रियसभाको आजको वैठकमा समसामयिक राष्ट्रिय सरोकारका विषयमा धारणा राख्दै सांसदले मानवीय संवेदनाको विषयमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

 



बैठकको विशेष समयमा सांसद धनकुमारी खतिवडाले कृषिजन्य उपभोग्य वस्तुमा विभिन्न विषादीको प्रयोग बढेकाले खाद्य प्रविधि तथा गुणस्तर विभागले प्रभावकारी अनुगमन गर्र्न नसकेको गुनासो गर्नुभयो । काठमाडौँसहित विभिन्न जिल्लामा बर्डफ्लुको सङ््क्रमण बढेको र सङ्क्रमित कुखुरालाई किसानले अवैधरुपमा सुई दिइरहेको, दूधमा अखाद्य पदार्थको मिसावट भइरहेको तथा भारतमा प्रतिबन्धित माछा नेपालमा बिक्री भइरहेकाले मानव स्वास्थ्य सम्बन्धि संवेदनशील विषयमा सरकार गम्भिर हुनुपर्नेमा उहाँले जोड दिनुभयो । सांसद खतिवडाले ललितपुरका खोकना र बुङमती क्षेत्रका भूकम्पपीडितले पहिलो किस्ता मात्र पाएको र थप किस्ता पाउन नसकेको अवस्था रहेको बताउनुभयो । 

 



सांसद भैरवसुन्दर श्रेष्ठले नेत्रविक्रम चन्द नेतृत्वको समूहलाई सरकारसँग सौहार्दपूर्ण वार्तामा आई राजनीतिको मूलधारमा आउन आग्रह गर्नुभयो । उहाँले अहिलेको सन्दर्भमा हिंसा, आतङ्क र विद्रोहले शान्ति र समृद्धि प्राप्त हुन नसक्ने भएकाले संविधानअनुरुप जनमतका लागि जनतामाझ जान अनुरोध गर्नुभयो । 

 



सांसद प्रकाश पन्थले राष्ट्रियसभाको पहिचान र गरिमालाई कायम राख्न विशेष भूमिका निर्वाह गरिनुपर्ने धारणा राख्नुभयो । “दलीय दृष्टिकोणभन्दा पनि नागरिकका अधिकार र सवालमा फरक ढङ्गले प्रस्तुत हुनुपर्छ”, उहाँले भन्नुभयो । सांसद प्रमिलाकुमारीले सिके रावतको समूह मधेशको ठूलो समस्या बनिरहेको अवस्थामा सरकारले मूलधारमा ल्याएकोमा धन्यवाद दिनुभयो । उहाँले मानव विकास सूचकाङ्कमा पछि परेकालाई समेट्न पटक÷पटक आवाज उठाउँदा पनि सम्बोधन हुन नसकेको प्रति गुनासो व्यक्त गर्नुभयो । “यस विषयमा सदन र सडकबाट आवाज उठाउँछौँ”, उहाँले भन्नुभयो । 

 



यसअघि बैठकको शून्य समयमा सांसद खिमकुमार विश्वकर्माले ‘गरीब नागरिक परिचयपत्र’ले जनतालाई विभाजित गरेको र वास्तविक गरीबले परिचयपत्र नपाएकामा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । 

 



विधेयक स्वीकृत 

राष्ट्रियसभाले ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तवलाई स्वीकृत गरेको छ । राष्ट्रियसभाको दोस्रो बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गर्नुभएको उक्त विधेयकलाई सर्वसम्मत्तिले स्वीकृत गरिएको छ । राष्ट्रियसभाको अर्को बैठक यही चैत ८ गते दिउँसो २ः०० बजे बस्नेछ । 

प्रतिकृया दिनुहोस