• २०८१ बैशाख १२ बुधबार / Wednesday, April 24

रोजगार संयोजकलाई अभिमुखीकरण तालीम

Fm Radio Link

 

काठमाडौँ,  सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका क्रममा कुनै दुविधा नआओस् भनेर सातै प्रदेशमा अभिमुखीकरण तालीम गर्ने भएको छ । यही चैत १५ देखि १९ गतेसम्म प्रादेशिक राजधानीमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ । 

 



यही चैत १५ र १६ गते प्रदेश नं १ को विराटनगर, प्रदेश नं ३ को हेटौँडा, गण्डकी प्रदेशको पोखरा र कर्णाली प्रदेशको सुर्खेत तथा चैत १८ र १९ गते प्रदेश नं २ को जनकपुर र सुदूरपश्चिम प्रदेशको धनगढीमा कार्यक्रम सञ्चालन गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । अभिमुखीकरण तालीममा गाउँ÷नगरपालिकाका कार्यकारी प्रमुख र रोजगार संयोजकको सहभागिताका लागि श्रम मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई निर्देशन दिएको छ । 

 



सरकारले स्थानीय, प्रदेश र सङ्घीय सरकारको समन्वयमा बेरोजगार युवालाई आन्तरिक श्रम बजारमै रोजगारीको अवसर उपलब्ध गराउने उद्देश्यले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याएको छ । कार्यक्रमअन्तर्गत एक आर्थिक वर्षमा बेरोजगार युवालाई न्यूनतम् १०० दिनको रोजगारी सुनश्चित गरिनेछ । १०० दिनको रोजगारी प्राप्त गर्न नसक्ने बेरोजगारलाई रोजगारी प्राप्त गर्न नसकेको दिनको पारिश्रमिकको ५० प्रतिशत निर्वाह भत्ता दिइनेछ । 

 



सरकारले यही चैत १ गतेदेखि सबै स्थानीय तहमा बेरोजगार व्यक्तिको सूचीकरण गर्न शुरु गरेको छ । बेरोजगार युवाले यही चैत मसान्तभित्र आफ्नो स्थायी बसोबास रहेको स्थानीय तहमा बेरोजगार सूचीकरण गर्नुपर्नेछ । रोजगार कार्यक्रम कार्यान्वयन गर्ने निकायका रुपमा सरकारले प्रत्येक स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरिसकेको छ भने ४८५ स्थानीय तहमा समेत रोजगार संयोजक नियुक्त गरिसकेको छ । बाँकी २६८ स्थानीय तहमा रोजगार संयोजकको पदपूर्ति गर्ने तयारी भइरहेको छ । 

प्रतिकृया दिनुहोस