• २०८१ बैशाख ७ शुक्रबार / Friday, April 19

विश्व कविता दिवसमा कविता गोष्ठी

Fm Radio Link

 


‘विष्टको आँगनको ओसिलो कुनामा अचट्दै 
बाको हातेकल नजिकै बसेर 
मालिकको पाइजामा तुर्पाइ गर्दागर्दै 
कतिबेला पोखिएको मेरो तनमा 
समयले तरुनी रङ पत्तै भएन 
र त 
मेरा बाले सिएका सुकिला लुगा लगाउनेहरुले नै 
मसलाको रुखजस्तै 
एकै चोटि नाङ्गो बनाए मलाई’(विन्दु शर्मा, गोधुलीमा मालती) 

 



विश्व कविता दिवसको उपलक्ष्यमा आज यहाँ आयोजित कविता गोष्ठीमा सीमा सुरक्षा गर्न आह्वान, जातीय विभेदको विरोध, बाल मनस्थिति, स्खलन हुँदै गरेको चरित्र, काठमाडौँ सहरका विकराल समस्या लगायतका विषयवस्तु समेटेर गद्य तथा पद्य कविता, मुक्तक र एक लाइन कविता वाचन गरिएको थियो । 

 



सो अवसरमा पाकिस्तानी कवि प्रियानी तथा नेपाली कविहरु विश्वविमोहन श्रेष्ठ, रमेश पौडेल, डम्बर पहाडी, श्याम रिमाल, बलराम दाहाल, लक्ष्मी उप्रेती, नवीन प्यासी, जयन्ता पोख्रेल, कौशिला रिसाल, भीष्म उप्रेती, शान्ति शर्मा, जयन्ती सत्याल, देवकी अभिलाषीलगायत तीस कविले आफ्ना कविता वाचन गरेका थिए । 

 



नेपाल प्रज्ञा प्रतिष्ठानको नियमित कार्यक्रमअन्तर्गत कविता गोष्ठीको आयोजना गरेर पुराना कवि र नयाँ कविलाई साक्षात्कारको अवसर जुराउनु महत्वपूर्ण कुरा भएको नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा कवि बैरागी काइँलाले बताउनुभयो । “प्राचीन समाजका बारेमा जानकारी पाउने एउटा महत्वपूर्ण माध्यम कविता हो”, उहाँले भन्नुभयो । नेपाली भाषा विश्वका अल्पसङ्ख्यक भाषामध्ये एक रहेको उहाँ बताउनुहुन्छ । कविताले सबैलाई आनन्दिन तुल्याउने भन्दै काइँला भन्नुहुन्छ, “जो मान्छे आनन्दित हुन्छ, उसको आयु पनि बढ्छ ।” 

 



सन् १९९९ मा फ्रान्सको पेरिसमा सम्पन्न युनेस्कोको तीसौँं महासन्धिले मार्च सात तारिखलाई विश्व कविता दिवसको रुपमा घोषणा गरेको थियो । प्रतिष्ठानका सदस्य सचिव डा जगतप्रसाद उपाध्यायले यसले सुन्ने र सुनाउने प्रथाको विकास गरेको बताउनुभयो । “कविताले साहित्य अमृत नै हो भन्ने अनुभूति दिलाएको छ”, उहाँले भन्नुभयो । कविता लेख्छु भनेर लेखिने विधा नभई स्वतः विकास हुने उहाँ बताउनुहुन्छ । 

 



सो अवसरमा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रतिष्ठानले सबै पुस्ताका र सबै समुदायका कविलाई समेट्ने प्रयत्न गरेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “कविता विश्वभरीका व्यथालाई समेटेर अन्त्यमा आफ्नो व्यथा व्यक्त गर्ने विधा हो ।” प्रतिष्ठानका पूर्व उपकुलपति विष्णुविभु घिमिरेले कविता गोष्ठी कविका लागि विशेष चाड रहेको बताउनुभयो । “हामीले अहिलेसम्म अरुको विचार लेख्यौंँ, अब आफ्नो विचार लेख्नुपर्छ”, उहाँले भन्नुभयो । कविता लेखिसकेपछि के भन्छ भन्ने सोच्नुपर्ने घिमिरे बताउनुहुन्छ । कविताले वाक स्वतन्त्रतालाई जोगाउने काम गरेको प्रतिष्ठानका काव्य विभागका प्रमुख डा हेमनाथ पौडेलले बताउनुभयो । सो अवसरमा ३० कविले राष्ट्रिय अखण्डता, सीमा सुरक्षा, जातीय विभेदलगायत विषयलाई समेटेर पृथक विषयवस्तुका कविता वाचन गरेका थिए । 

प्रतिकृया दिनुहोस