• २०८१ बैशाख ७ शुक्रबार / Friday, April 19

‘पार्टीभित्रको विवाद समाप्त पार्नुपर्छ’

Fm Radio Link

 

काठमाडौँ, काङ्ग्रेसका नेतृ सुजाता कोइरालाले पार्टीभित्र देखिएको विवाद समाप्त पार्नुपर्ने बताउनुभएको छ । 



गिरिजाप्रसाद कोइराला फाउण्डेशनले नवौँ स्मृति दिवसको अवसरमा आज यहाँ आयोजना गरेको ‘सहमति, सहकार्य र एकताका महान् अभियान्ता गिरिजाबाबु’ विषयको विचार गोष्ठीमा उहाँले काङ्ग्रेस बलियो बनाउन पार्टीभित्र देखिएको विवाद समाप्त पार्नुपर्ने बताउनुभयो । “काङ्ग्रेस बलियो भएमात्र मुलुक र राष्ट्रियता बलियो हुन्छ”, उहाँले भन्नुभयो । 



मुलुकलाई शान्ति प्रक्रियामा ल्याउन गिरिजाबाबुको ठूलो योगदान रहेको उल्लेख गर्दै उहाँले गिरिजाबाबु काङ्ग्रेसको मात्र नभई मुलुककै नेता भएको उल्लेख गर्नुभयो । शान्ति र मुलुकको समग्र विकासका लागि गिरिजाबाबुको नाममा स्थापना भएको फाउण्डेशनमा सबै पार्टीका नेता तथा कार्यकर्ता आबद्ध हुनसक्ने उहाँको भनाइ थियो । 



केन्द्रीय सदस्य डा शेखर कोइरालाले सहमति, सहकार्य र एकतामा विश्वास राख्ने गिरिजाबाबुकै पार्टी काङ्ग्रेसभित्र उक्त अभ्यास हुन नसकेको बताउनुभयो । “काङ्ग्रेसले गिरिजाबाबुको योगदानलाई बिर्संदै गएको छ”, उहाँले भन्नुभयो । काङ्ग्रेसलाई ऊर्जाशील बनाउन तोकिएकै समयमा पार्टीको १४ औँ महाधिवेशन गर्नुपर्ने उहाँको भनाइ थियो । 



केन्द्रीय सदस्य गगनकुमार थापाले हिंसाको दलदलमा फसेको मुलुकलाई हिंसामुक्त बनाएर शान्तिको बाटोमा ल्याउन गिरिजाबाबुको ठूलो योगदान रहेको बताउनुभयो । “गिरिजाबाबुले भनेजस्तै पार्टीभित्र सहमति, सहकार्य र एकताको खाँचो छ”, उहाँले भन्नुभयो । 



फाउण्डेशन प्रदेश नं ३ का संयोजक रीता खनालले वर्तमान सरकार राष्ट्रियता र लोकतन्त्रलाई कमजोर पार्ने खेलमा लागेको बताउनुभयो । पत्रकार शीतल कोइरालाले नियन्त्रित अर्थव्यवस्थालाई उदार अर्थव्यवस्थामा मुलुकलाई लैजान गिरिजाबाबुको ठूलो योगदान रहेको बताउनुभयो । फाउण्डेशन काठमाडौँका संयोजक अर्जुन पराजुलीले गिरिजाबाबुले मुलुकका लागि गरेको योगदानलाई जनतामाझ लैजान फाउण्डेशनले काम गर्ने जानकारी गराउनुभयो । 

प्रतिकृया दिनुहोस