• २०८१ बैशाख १२ बुधबार / Wednesday, April 24

हाइईड्रोपावर र रेलमार्गलाई लक्षित गरि पोखरामा टनेल (सुरुङ) को पढाई हुने

Fm Radio Link

पोखरा ।

पोखराको लामाचौर स्थित पश्चिमाञ्चल इञ्जिनियरिङ क्याम्पसले नेपालमै पहिलो पटक टनेल (सुरुङ) को कोर्समा पढाई सञ्चालनको तयारी गरेको छ । गण्डकी प्रदेश सरकारको समन्वयमा नेपालमै पहिलो पटक क्याम्पसले स्नातकोत्तर तहमा टनेल एण्ड हाईड्रोपावर इञ्जिनियरिङ कोर्समा पढाई सञ्चालन गर्न लागेको हो ।

यसका लागि कलेजले पहिलो चरणको पाठ्यक्रम तयार गरिसकेको क्याम्पस प्रमुख रामप्रसाद पौडेलले बताए । नेपालमा पहाड र हिमाल धेरै भएका कारण यो विषयका अवाश्यकता रहेको उनले बताए । टनेल पठाइबाट जलविद्युत, सडक र रेल मार्ग निमार्णका लागि अति आवश्यक रहेको उनले बताए । 

विदेशबाट प्रोफेसर ल्याएर सुरुमा २० जना विद्यार्थीबाट पढाई सुरु हुने क्याम्पसले जनाएको छ । पहाडी मुलुक नेपाललाई विश्वबजारसँग कनेक्सन गराउन सुरुङ मार्ग अपरिहार्य छ । यसका लागि क्याम्पसले आउँदो आर्थिक बर्षको सुरुमै वर्कशप गरेर आगामी शैक्षिक सत्रदेखि पढाई सुरु गर्न लागेको पौडेल बताउँछन् ।

२०३८ सालमा स्थापना भएको कलेजमा हाल १ हजार ६ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । कलेजले स्नातक तहमा ७ वटा कार्यक्रम र स्नातकोत्तर तहमा ३ वटा कार्यक्रम चलाईरहेको छ । क्याम्पस ३ सय १२ रोपनी क्षेत्रफलमा फैलिएको छ । पढाई हुने बिषयको प्रारम्भीक पाठ्यक्रम तयार गरेर क्याम्पसले प्रदेशको सामाजिक विकास मन्त्रालयमा पेश गरेको छ ।

सरकारले गण्डकी प्रदेशको आफ्नै प्राविधिक विश्वविद्यालय खोल्ने र पोखरामा टलेन इन्जिनियरिङको पढाई सञ्चालन गर्ने पहिले देखि नै निर्णय गरेर काम अघि बढाएको छ ।
 

प्रतिकृया दिनुहोस