• २०८१ बैशाख ६ बिहीबार / Thursday, April 18

शिवालय माविका शिक्षकलाई कम्प्युटर तालिम

Fm Radio Link

पोखरा ।

कास्कीको रुपा गाउँपालिका–२, थुम्कीमा सञ्चालित शिवालय माध्यमिक विद्यालयका शिक्षकका लागि आधारभूत कम्प्युटर तालिम सञ्चालन गरिएको छ ।

अध्यापनलाई प्रविधिसँग जोड्ने उद्देश्यले सो तालिमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावीले बताए । इन्टरनेटका माध्यमबाट आवश्यक शैक्षिक सामग्री जुटाउनेदेखि डिजिटल पाठयोजना निर्माणसम्मको योजनाअनुसार तालिम अघि बढाइएको उनको भनाइ छ । प्रविधिमैत्री शैक्षिक वातावरण सिर्जनाका लागि सर्वप्रथम शिक्षक दक्ष हुनुपर्ने बोध गरेर तालिमको आयोजना गरिएको प्रधानाध्यापक प्रभावीले जनाए ।

तालिमको उद्घाटन गर्दै रुपा गाउँपालिकाकी उपाध्यक्ष लालसुब्बा गुरुङले शिवालय शैक्षिक गुणस्तरका लागि गरेका प्रयासहरुको प्रशंसा गरिन् । आधुनिक समयसापेक्ष अध्यापनका लागि शिक्षकलाई कम्प्युटर तालिम सञ्चालन गरेर शिवालय माविले अर्को एउटा फड्को मारेको भन्दै गुरुङले गाउँपालिकाले शिक्षाका क्षेत्रमा गरेको लगानी खेर जाँदैन भन्ने प्रमाण शिवालयले पेस गरेको बताइन् । उनले शिवालयलाई आवश्यक सहयोग गर्न गाउँपालिका सधैँ तयार रहेको समेत भनाइ राखिन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व स्रोत व्यक्ति तिलबहादुर खड्काले शुभकामना दिएका थिए । विद्यालयकै कम्प्युटर शिक्षक अजय गुरुङ प्रशिक्षक रहेका तालिममा विद्यालयमा अध्यापनरत सम्पूर्ण शिक्षक÷शिक्षिका र कर्मचारीको सहभागिता रहेको छ ।


 

प्रतिकृया दिनुहोस