• २०७६ असोज २८ मंगलबार / Tuesday, October 15
Skip Advt.

टीकापुर सम्मेलनले दिएको सन्देश

Fm Radio Link

टीकापुर,  ‘त्यो हत्यारा, त्यो पुलिस मार्ने रेशम थारुको वकालत गर्नु हुन्छ तपाईं ? म नि एउटा पुलिसको श्रीमती हुँ, मैले एसएसपीको बुढीको आँशु देखेको छु । पीडा के हो मैले महसुस गरेको छु ।

 

मान्छे मार्ने थारुहरु जंगली हुन्, आतंककारी हुन, दुई बर्षको बच्चालाई नि छोडेनन् यी थारुहरु ?’ एउटा ठूला दलका युवा नेतृले एकपीक्षय मसँग आक्रोश पोख्दै थिइन् । सायद उनले जे सुने, जे बुझे, राज्य हाक्ने शासक र यो देशको नस्लबादी मिडियाले जे बुझाए उनी पनि त्यही बुझिन् । उनी एकोहोरो आरोप लाउँदै गइन्, मैले उनको कुरा चुपचाप सुनिरहे ।

 

उनको आक्रोस भन्दा मेरो मौनता कैयौं गुना अर्थपूर्ण थियो । तर उनको कुराले मलाई भित्र भित्र प्रश्न गर्दै थियो । कति सजिलो गरी थारुलाइ आतंककारी बिल्ला भिराएछ राज्यले । राज्यको गोलीबाट बच्चाको मृत्यु हुन्छ अनि दोष चाहिँ थारुले खेपिरहनु पर्ने ? बिश्वास हुँदैन भने यी पढेलेखेकाहरु राज्यसँग किन गृहमन्त्रालय र लाल आयोगको प्रतिबेदन सार्बजनिक गर्न भन्दैनन् ? को दोषी, को निर्दोष त्यहीँबाट जवाफ पाउँथे नि ।

 

जनयुद्ध, थरुहट आन्दोलनलगायत थुप्रै आन्दोलनमा हजारौं हजार थारुले ज्यान गुमाएका छन् । कैयौं आमाको कोख रित्तो भएको छ, सिंदुर पुछिएको छ, अस्मिता लुटिएको छ, जमिन खोसिएको छ तर पनि उनीहरु चुपचाप छन्, मौन छन् । शासकबाट सर्बस्व लुटिएका थारुहरु कहिलेसम्म अन्याय सहेर बसिरहने ?

 

पूर्व माओवादी अहिलेको ने क पा का नेता देब गुरुङले स्वर्गीय पूर्वमन्त्री तथा थारु राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष राम चरन थारुलाई सोधेछन् । ‘कम्रेड साँच्चै यो थारु जाति कस्तो जाति हुन् ? यिनीहरुको स्वभाव कस्तो हुन्छ ? मलाइ त यिनीहरुको बारेमा केही थाहा छैन। थारुले भनेछन्, ‘थारु जाति अत्यन्तै सोझो हुन्छ । यिनीहरु एकदमै सहनशिल हुन्छन्, जति अन्याय दमन गर्नुस, जति कुट्नुस यिनीहरु सहन्छन्, जब कुटाइ खादाखादै मर्ने अवस्थामा पुग्छ तब उm अन्तिम चोटि प्रयास गर्छ र कुट्ने मान्छेको एकैचोटि घाँटी समात्छ, उसलाई नमारी छोड्दैन’ थारु जातिको खास स्वभाव यही हो कम्रेड । सायद टीकापुर घटनाको बास्तबिकता पनि यही हो ।

 

टीकापुर घटना पछि गुमनाम भएको थरुहट आन्दोलन घटनाको आरोपमा ४२ महिना जेल जीवन बिताएर निस्केका लक्ष्मण थारुले पुनः जोखिम मोल्दै थरुहट आन्दोलन जिवित बनाउने प्रयास गरे । हामी पहिलो पटक बरघर रेस्टुरेन्ट कीर्तिपुरमा मिटिङ बस्यो । छलफल एकदमै राम्रो भयो । त्यही मिटिङबाट काठमाडौंमा एउटा केन्द्रीय स्तरको कार्यक्रम गरौं भन्ने निर्णय गर्यो । २०७६ जेठ १८ गते थारु विद्यार्थी, बुद्धिजीवी, युवा, पत्रकार, कलाकार, ब्यापारी, नेता सबैको सहभागीता, छलफल र सहमतिबाट मिनराज चौधरीको संयोजकत्वमा १०१ केन्द्रीय कमिटी बन्यो ।

 

एक कुशल थरुहट योद्धा, जो पार्टी भन्दा माथी उठेर थिचिएका, दबिएका अन्याय र बिभेदमा पारिएका जनताको अवाजको लागि नेतृत्व गर्न तयार हुँदा हामी युवाहरुमा झन उmर्जा थपियो । उहाँको नेतृत्वमा जिल्ला जिल्लामा सशक्त रुपमा तयारी समिति बन्यो ।

 

अन्याय र विभेद विरुद्ध भएको टीकापुर बिद्रोह पछि पहिलो पटक २०७६ भाद्र ७ गते हुने टीकापुर सम्मेलनले राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा सबैको ध्यान केन्द्रित गर्यो । सत्तापक्ष र प्रतिपक्षका नेताहरुको मुटु र दिमागसंगै हलियो । ने क पा का भातृ संगठन थारु राष्ट्रिय मुक्ति मोर्चा र नेपाल लोकतान्त्रिक थारु संघ प्रेस विज्ञप्ती नै निकालेर सम्मेलनको बिरोध गरे भने थारुहरुको पुरानो संस्था थारु कल्याणकारिणी सभाका महामन्त्री प्रेमीलाल चौधरी सचिबालयको मिटिङ नै नगरी ब्यक्तिगत रुपमा जिल्ला जिल्लामा पत्र सर्कुलर गरी कार्यक्रम बिथोल्ने प्रयास गरे तर पार्टीभन्दा माथि जातीय मुक्तिको लागि उठेको जनताको अगाडि केही सीप चलेन ।

 

तिसौ हजार जनताको उपस्थितिले टीकापुरमा पिउने पानी समेत सकियो । कार्यक्रम सभ्य भव्य र शान्तिपुर्ण रुपमा सप्पन्न भयो । तर जनतामा एउटा कुरा खड्किरहयो । हिजो थारुवान, थारुको अधिकार र मुक्तिको लागि खुलेका यी संस्थाहरु आज आफैँ आफ्नो एजेन्डा र उद्देश्य माथि किन बिरोध गरे ?

 

उता प्रतिपक्षी काङ्ग्रेस खुलेर बिरोध गर्न नसकेपनि खुलेर समर्थन गर्न सकेन । जस्ले गर्दा राजनीतिक र सामाजिक रुपमा ठूलो अवसर गुमायो । यसरी सत्तापक्ष र प्रतिपक्षका नेताहरुको असहयोगको प्रत्यक्ष फाइदा डा बाबुराम भट्टराईले उठाए ।

 

पछिल्लो क्रममा थारुहरुको मुद्दा जोडदार रुपमा उठाइरहेका भट्टराई अन्तरिम संविधानले ब्यवस्था गरेको पहिचानसहितको संघियता, संघीयतासहितको संविधान बन्न नदिने उहाँको ठूलो हात छ । किनकि उहाँ त्यति बेला उच्च स्तरीय राजनीतिक संवाद समितिका सभापति र देशको प्रधानमन्त्री हुनुहुन्थ्यो ।

 

उहाँकै पालामा संविधान सभा विघटन भयो । त्यति बेला भट्टराई नश्लीय चरित्र देखाएकै हुन् । यो गल्तीको आत्मलोचना भट्टराईले गर्नैपर्छ र थारु समुदाय भट्टराईबाट पनि होसियारपूर्वक बस्नुपर्छ ।

 

टीकापुर सम्मेलन इतिहासको पहिलो सम्मेलन हो, जहाँ हजारौं सुरक्षाकर्मीबीच थारुहरु बिल्ला भिरेर कार्यक्रम गर्नुपर्यो । यही ठाउँ हो जहाँ केपी, प्रचण्ड, शेर बहादुर र बाबुरामलाई कार्यक्रम वा सम्मेलन गर्दा कुनै आदेश, कुनै बिल्ला भिर्नु परेको थिएन। थारुहरुलाई कार्यक्रम गर्दा यो आदेश बिल्ला किन ?

 

तराईका भूमिपुत्र थारुहरुले सिंहदरबारमा बसेका देश हाक्ने मालिकलाई प्रश्न गर्दै थिए । यहीँबाट प्रष्ट हुन्छ, थारुहरुलाई राज्यले हेर्ने नजरिया । विभिन्न कृतिम जन्जिरले बाध्न खोजेका शासकहरुलाई यसपाली थारुहरुले राम्रै जबाफ फर्काए ।

 

निमन्त्रणा गर्दा मञ्चमा आउने हिम्मत नगर्ने भिम रावल हतार हतार धनगढीमा पत्रकार सम्मेलन् गरी कार्यक्रमको बिरोध गरे । भब्य सभ्य र शान्तिपूर्ण रुपमा सम्पन्न भएको कार्यक्रममा शुभकामना दिनुको सट्टा कार्यक्रमको खेदो खनेर बस्दा उनको बिद्धता माथि प्रश्न खडा भएको छ ।

 

पत्रकार सम्मेलनमा बोल्दै गर्दा सत्तामा बस्दा राउटेहरुले आफूसँग जातीय राज्य मागेको ब्याङ्यात्मक बिरोध गरे । अहिले थारु आदिवासी, जनजाति, मधेसी, दलितहरुलाई बन्दुक बोकाएर थारुवान, लिम्बुवान, खुम्बुवान, मगरात, ताम्सालिङ, नेवा दिन्छु भनेर सहिद बनाउनेहरु ने क पा दलका प्रमुख अगुवा छन् । जातीय राज्यको आरोप लगाउने भिम रावल जस्ता नेताहरूले ७ वटा प्रदेशमध्ये ६ वटा प्रदेशमा बाहुन क्षेत्रीकै बहुमत भएको राज्य बनाए ।

 

नेपालको कूल जनसंख्यामध्ये २८ प्रतिशत मात्र बाहुन क्षेत्रीको ६ वटै प्रदेशमा कसरी बहुमत भए ? सबैले सोच्नुपर्ने विषय यही हो । यो सत्यतालाई ढाकछोप गरी उल्टै अधिकार र पहिचान माग्ने उत्पीडित जनतामाथि बन्दुक तेर्साएर उनीहरुको आवाज दबाउने प्रयास भैरहेको छ । यसरी जनतालाई अन्याय र बिभेद गर्दै ढोङी र भ्रमपूर्ण कुरा छरेर गुम्राहामा राखेर दमन गरिरहने हो भने कुनै न कुनै दिन अर्को टीकापुर बिस्फोट हुने पक्का छ ।

 

शंका आशंका र विभिन्न विरोध अवरोधबीच भएको टीकापुर सम्मेलनले एकचोटि फेरि थारुहरुले आफूहरु तराईको भूमिपुत्र भएको प्रमाणित गरे, हामीलाई संसारको कुनै पनि शक्तिले रोक्न छेक्न सक्दैन भन्दै । हामी आफ्नो हक अधिकारको लागि अघि बढिसके भन्ने राम्रो संदेश दिएको छ ।

 

ब्यक्ति र पार्टीभन्दा एक कदम माथि उठेर जातीय मुक्तिको लागि सहभागी भएका थारुहरुको अनुहारले धेरै कुरा बोलिरहेको थियो । न कुनै पार्टीका झन्डा, न कुनै पदको लोभ । २२ जिल्लाबाटै आफ्नै खर्चमा स्वतस्फूर्त रुपमा सहभागी भएका थारुहरुको उपस्थितिले एउटा इतिहास रच्यो । धेरै पल्ट दारु र मासुसँग आफ्ना अधिकार र आत्मसम्मान बेचेका थारुहरु यसपल्ट अधिकार लुट्ने शासकहरुलाई चुनौती दिँदै एकजुट भए ।

 

थारु र पहाडियाबीच द्धन्द्ध सिर्जना गरी फाइदा लिइरहेको तेस्रो पक्षलाई यो सम्नेलनले ठूलो धक्का पुगेको छ । राज्यले बिगारेको सम्बन्ध सुधार्न प्रयास गरेका सम्पूर्ण सहयोगी हातलाई सलाम गर्नैपर्छ ।

 

अन्त्यमा,


विभिन्न छलफल बहसपछि थरुहट थारुवान टीकापुर राष्ट्रिय सम्मेलनले नयाँ मोर्चा थरुहट थारुवान राष्ट्रिय मोर्चा जन्माएको छ र यो सम्मेलनले १५ बुँदे मागसहित संघर्षका कार्यक्रमहरु घोषणा पनि गरिसकेको छ । घोषणा पत्रलाई घोषणामा मात्र सिमित नराखी संघर्स जारी राख्नुपर्छ । विभिन्न हाम्रो माग, मुद्दा र एजेन्डा मिल्ने मोर्चासँग गोलबद्व भइ अघि बढ्नुपर्छ ।

 

टीकापुर सम्मेलनले देखेको सपना कतिको सफल र कतिको असफल हुन्छ ? यो तपाईं हामी सबैको साथ समर्थन र नेतृत्वको इमानदारीतामा भर पर्नेछ ।

के. सदस्य
थरुहट थारुवान राष्ट्रिय मोर्चा

प्रतिकृया दिनुहोस