• २०८१ बैशाख ७ शुक्रबार / Friday, April 19

पोखरामा अटो भिलेजको तयारी

Fm Radio Link

पोखरा ।

गण्डकी प्रदेशको राजधानी पोखरामा अटो भिलेज बनाइने भएको छ । पोखरा भित्रिने नाकादेखि सहरका बिच सडकको दायाँबायाँ अटो व्यवसाय र वर्कसपहरु हुँदा पोखरा कुरुप, दुर्ग्न्धित र सोही कारण डेंगुको संक्रमण पनि बढ्दै गएपछि यसलाई व्यवस्थित गर्ने उद्देश्यले अटो भिलेजन बनाउने तयारी गरिएको हो ।

हाल पोखराको मुख्य प्रवेशद्वार बिजयपुर खोला कटेदेखि नै अटो व्यवसायदेखि वर्कसपहरु जथाभावी छरपस्ट रुपमा रहँदै आएका छन् । त्यतिमात्र होइन निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थलको ठ्याक्कै अगाडि पनि अटो व्यवसाय र वर्कसपहरु छन् । उसो त पोखराको मुख्य बजार क्षेत्र नयाँबजार, सभागृहचोक, बुद्धचोक, नागढुंगालगायतका क्षेत्रमा अटो र त्यस सम्बन्धी वर्कसपहरु छन् । त्यस्तै कवाडी सामानहरुको संकलन र बिक्री केन्द्रहरु पनि यहि क्षेत्रमा छन् । जसका कारण पोखरा कुरुप मात्र देखिएको छैन, बरु सोहि कारण सहरमा दुर्गन्ध पनि फैलिएको छ ।

अटो तथा वर्कसप र कवाडी संकलन केन्द्रले पोखरा कुरुपसँगै दुर्गन्ध बढेपछि पोखरा महानगरपालिकाले यसलाई व्यवस्थित गर्न भन्दै अटो भिलेज बनाउने प्रस्ताव अघि सारेको छ । प्रस्ताव ल्याइए पनि हालसम्म ठोस काम भने अघि बढिनसकेको पोखरा महानगरपालिकाका प्रवक्ता तथा पोखरा महानगर–५ का वडाध्यक्ष धनबहादुर नेपालीले बताए । उनका अनुसार हाल अटो भिलेजका लागि सम्भावित ठाउँहरुको खोजी भइरहेको छ । यसका लागि प्राविधिक टोलीले काम गरिरहेका छन् ।

प्रवक्ता नेपालीका अनुसार ठाउँको खोजी गर्दा पोखरामा कति अटो व्यवसाय छन् ? कति महानगरमा छन् ? कति बाहिरका छन् ? र तिनका लागि कति जग्गा आवश्यक पर्छ भन्ने निक्र्यौलसमेत निकाल्नेछन् । प्राविधिकले सम्भावित ठाउँको खोजी गरी त्यसले पार्ने प्रभाव मूल्यांकनसमेत गरेर महानगरलाई जानकारी गराउने प्रवक्ता नेपालीले बताए । त्यसपछि अटो भिलेज महानगर वा व्यवसायी आफै वा निजी क्षेत्र कसले सञ्चालन गर्ने भन्ने बारेमा पनि टुंगो लगाउने उनको भनाई छ ।

अटो भिलेज पोखराको मुख्य बजार क्षेत्र भन्दा बाहिर लाने महानगरको योजना छ । बजार क्षेत्र भन्दा बाहिर लगे पनि पोखराको मुख्य बजारबाट नजिकको भित्रपट्टीको ठाउँ लैजानुपर्ने लगभग निश्कर्षमा पुगेको प्रवक्ता नेपालीले बताए । पोखरामा ३ वा ४ वटा अटो भिलेज बनाउन सकिने उनले बताए । उनका अनुसार पुरानो लेखनाथ क्षेत्रमा एउटा र पोखरा क्षेत्रमा २ वा ३ वटा अटो भिलेज बनाउनु पर्छ कि भन्नेमा महानगर रहेको उनको भनाई छ । अटो भिलेज बनाउने विषयमा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसियसन पनि सकारात्मक छ । एशोसियसनका अध्यक्ष चन्द्र कुँवरले अटो भिलेज बनाउने प्रस्ताव आफूहरुले पहिलेदेखि नै राख्दै आएको र अहिले आएर मात्र महानगर तयार भएको बताए । पर्यटकीय राजधानी भन्ने तर पोखरा भित्रिने नाकादेखि बजारको मुख्य क्षेत्रमै अटो र वर्कसप हुँदा पोखरा कुरुप देखिनुका साथै दुर्गन्ध फैलिएकोमा आफूहरु जानकार रहेको बताए । उनले डेंगुको संक्रमण फैलिनुमा वर्कसप र कवाडी संकलन केन्द्र दोषी रहेको बताउँदै जतिसक्दो चाँडो अटो भिलेज बनाएर यसको व्यवस्थापन गर्नुपर्ने बताए ।

अध्यक्ष कुँवरले अटो भिलेज पुरानो लेखनाथमा लैजाँदा उपयुक्त हुने बताए । अहिले बन्न लागेको क्षेत्रीय बसपार्कको आसपास भए सबैभन्दा उपयुक्त हुने उनको भनाई छ । नयाँ बन्ने अटो भिलेजनमा अटोसँगै वर्कसप, पेट्रोलपम्प, स्पेयर पार्टसको पसल, रिकण्डिसन हाउसदेखि कार, मोटरसाइकल वासलगायतका सबै हुनुपर्ने बताए । उनले अटो भिलेज करिब ३ हजार गाडी तथा मोटरसाइकल अटाउने क्षेत्रफल हुन आवश्यक भएको बताए ।

गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले पनि अटो भिलेज बनाउनु एकदमै राम्रो कुरा भएको बताए । उनले पनि अटो भिलेज पुरानो लेखनाथ क्षेत्र लैजानुपर्ने बताउँदै त्यसका लागि सम्भावित क्षेत्रको खोजी तदारुकताका साथ गरिनुपर्ने बताए । कोर सिटी भन्दा बाहिर अटो भिलेज बनाउनुपर्ने उनको पनि भनाई छ । उनले अहिले पोखरा क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थलको अगाडि अटो र वर्कसप भएका कारण लज्जित हुनुपर्ने अवस्था रहेको भन्दै यसको विकल्प चाँडो भन्दा चाँडो खोज्नुपर्ने बताए ।
 

प्रतिकृया दिनुहोस