• २०८१ बैशाख ७ शुक्रबार / Friday, April 19

पशुपतिघाटको जग्गामा क्रिकेट मैदान बनाउन महानगरको स्वीकृति

Fm Radio Link

पोखरा ।

विज्ञ समूहले लामै समय लगाएर अध्ययनपछि बुझाएको प्रतिवेदनलाई पोखरा महानगरपालिकाले सैद्धान्तिम सहमति दिएपछि क्रिकेट मैदान निर्माणको बाटो खुलेको छ । विज्ञ समूहले पोखरा ३३ भरतपोखरीस्थित पशुपति घाटको सार्वजनिकलाई भोगाधिकारको लागि सैद्धान्तिम सहमति दिएपछि क्रिकेट मैदान बनाउने ढोका खुलेको हो ।

महानगरपालिकाले सैद्धान्तिक सहमति नदिदाँ विज्ञ समूहले गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयमा क्रिकेटको लागि पशुपति घाटको जग्गालाई उपयुक्त ठहर्याई प्रतिवेदन बुझाएको थियो । प्रदेश सरकारले बहुउद्देश्यीय रंगशाला, एक स्थानीय निकाय एक खेल मैदान, अन्तराष्ट्रिय क्रिकेट मैदान, गल्फ कोर्ष, हाईअल्टिच्युड तालिम केन्द्र स्थापना लक्ष्य र उद्देश्यसहित जग्गा पहिचानसहित सम्भाव्य अध्ययनको लागि टोली गठन गरेको थियो ।

कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल सहितको विज्ञ समूहको टोलीले जग्गा छनोट गरेको हो । छनोट गरिएको जग्गालाई छलफलको लागि गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय समक्ष प्रतिवदेन पेश गरिएपनि महानगरपालिकाकै कारण अडकिएको थियो । महानगरपालिकाको कार्यपालिका बैठकले पोखरा ३३ पशुपति घाटको १७८ रोपनी क्षेत्रफललाई क्रिकेट मैदान बनाउने सहमति दिदैं बाटो सहज बन्यो ।

‘पशुपतिघाटको १७८ रोपनी क्षेत्रफलमा क्रिकेट मैदान बनाउन सैद्धान्तिक सहमति गरियो ।’ महानगरपालिका प्रवक्ता धनबहादुर नेपालीले भने–‘भोगाधिकारको विषयमा पछि छलफलबाट टुंगिने छ । अहिले मैदान बनाउने विषयमा सैद्धान्तिक सहमति गरिएको छ ।’ कास्की जिल्ला क्रिकेट संघले पनि महानगरपालिकाको सैद्धान्तिक सहमतिसँगै आगामी वर्ष पोखरामा आयोजना गरिने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि मैदान तयार पार्ने योजना बनाएको छ ।

‘क्रिकेट मैदान महानगरपालिकाले पनि सहयोग गर्ने छ ।’ उनको भनाई थियो । गण्डकी प्रदेश सरकारले क्रिकेट मैदान बनाउने अभियान सरकार गठन लगत्तै सार्वजनिक अभिव्यक्ति दिदैं आएको थियो । पशुपति घाटको कि.नं. ३९७ क्षे.फ. १७८–३–३–० को जग्गामा अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान निर्माणका लागि बिस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार पार्न सामाजिक विकास मन्त्रालयले ५० लाख रुपैयाँ बजेट छुट्टाएको छ ।

छुट्टाइएको बजेटले डिपिआर तयार गरेपछि आवश्यक लगानी गर्ने योजना सरकारको छ । क्रिकेट मैदान निर्माण पछिको स्वामित्व पोखरा महानगरपालिकाले नै लिने सम्भावना छ । यद्यपी संरक्षण र सम्बद्र्धनको दायित्व भने कास्की जिल्ला क्रिकेट संघले गर्ने छ ।

कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले प्रदेश सरकारले डिपिआर तयार पार्नु अघि तिहार लगत्तै जमिन सम्याउने कार्य अघि बढाउन योजना रहेको सुनाए । ‘तिहार लगत्तै हामीले जमिन सम्याउने काम अघि बढाउँछौं ।’ उनको भनाई थियो । पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि महिला तथा पुरुषको क्रिकेट इभेण्ट सञ्चालन गर्न दुई मैदान आवश्यक छ ।

पोखरा रंगशालाभित्रको क्रिकेट मैदान बाहेक बैकल्पिक क्रिकेट मैदान छैन् । तत्कालिन पोखरा नगरप्रशिक्षण केन्द्र(हाल प्रदेश सभास्थल)मा रहेको मैदानलाई उपयोग गर्न सकिने सम्भावना छ यद्यपी प्रदेश सभा चल्ने अवस्थामा प्रतियोगिताका खेल सञ्चालन गर्न सकिने सम्भावना रहदैन् ।

‘पशुपतिघाटको जग्गालाई क्रिकेट मैदान बनाउन सकिए महिला र पुरुष क्रिकेट प्रतियोगिता एकैपटक सञ्चालन गर्न सकिन्छ ।’ उनले भने–‘अन्तराष्ट्रियस्तरको प्रतिस्पर्धालाई पोखरा तान्न सकिने सम्भावना रहन्छ । गण्डकी प्रदेश सरकारले पोखरा रंगशालाभित्रको क्रिकेट मैदानको स्तरोन्नति गर्नको लागि २ करोड रुपैणँ छुट्टाएको छ ।

संघीय सरकारले ३ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरिसकेको छ । ‘प्रदेश सरकारले छुट्टाएको दुई करोड रुपैयाँबाट केही बजेट पशुपतिघाटको मैदानमा खर्च गर्छौ ।’ उनले भने–‘संघीय सरकारको बजेटले पोखरा रंगशालाभित्रको क्रिकेट मैदान संरक्षण गर्न आन्तरिक तारजाली, वर्खे पानी तर्काउन नाली बनाउन खर्चिने छौं ।’
 

प्रतिकृया दिनुहोस