• २०८१ बैशाख ८ शनिबार / Saturday, April 20

प्रदेश सरकारद्वारा मत्स्य व्यवसायीलाई केज सहयोग

Fm Radio Link

पोखरा ।

गण्डकी प्रदेश सरकारले फेवातालका मत्स्य व्यवसायीलाई १६ थान केज (माछा पाल्ने जाल) प्रदान गरेको छ । गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले पोखरा महानगरपालिका वडा नम्बर १८ मा रहेको हर्पन फेवा मत्स्य सहकारी संस्थालाई केज हस्तान्तरण गरेको हो ।

बुधबार आयोजित एक कार्यक्रमबीच प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले सहकारीका अध्यक्ष ज्ञानबहादुर जलारीलाई केज हस्तान्तरण गरेका हुन् । केज हस्तान्तरण लगत्तै फेवातालमा केज हाल्नुका साथै माछासमेत छाडिएको छ । हुर्किएको भुरा केजमा हालिएको हो ।

केज हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री थापाले माछामा आत्मनिर्भर हुन प्रदेशले बनाएको योजनालाई सबै मिलेर साकार पार्नुपर्ने बताए । माछामा आत्मनिर्भर हुन सके करोडौं रुपैयाँ बाहिरिनबाट रोक्न सकिने र धेरैलाई स्वरोजगार र रोजगारी सिर्जना गर्न सकिने बताए । उनले पोखराका ९ वटै तालसहित गण्डकी प्रदेशका नवलपुरका पोखरी, मादी, सेती, कालीगण्डकीलगायतका नदीमा माछा पालन गर्नसकिने उल्लेख गरे ।

माछामा सबैभन्दा धेरै प्रोटिन र ओमेगा हुने भएकाले स्वस्थताका लागि आवश्यक छ भन्ने आम जनमानसमा पु¥याउन सके यसको ब्यबसाय बृद्धि हुने उनको भनाई छ । मन्त्रालयका सचिव अच्यूतप्रसाद ढकालले ब्यबसायीलाई होस्टेमा हैंसे गर्न केज सहयोग गरिएको बताए । ब्यबसायीलाई सेवा र टेवा दिएर माछा उत्पादन बढाउँदै प्रदेशलाई माछामा आत्मनिर्भर बनाउने मन्त्रालयको योजना रहेको उनको भनाई थियो ।

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय निर्देशक मनबहादुर पुनले पहिलो चरणमा १६ वटा थान सहयोग गरिएपनि ३ चरणमा गरेर १५ लाख बराबरको सहयोग गरिने जानकारी दिए । तीन चरण गरेर केज र माछाका भुरा सहयोग गरिने उनले बताए ।

सहकारीका अध्यक्ष ज्ञानबहादुर जलारीले केज हस्तान्तरण गरेर सरकारले मत्स्य व्यवसायीको अभिभावकत्व ग्रहण गरेको भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिइरहन आग्रह गरे । सहकारीमा ९१ जना मत्स्य व्यवसायी आबद्ध रहेको उनले जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस