• २०८१ बैशाख ८ शनिबार / Saturday, April 20

हराउँदै ढुङ्गे धारा

पानीको अभावलाई पूरा गर्न र ढुङ्गेधाराको संरक्षण गर्न पहिले नागरिक नै सचेत हुनुपर्ने

Fm Radio Link

गाउँ घरमा मात्रै होइन, काठमाडौं शहरमा पनि प्रसस्तै ढुङ्गे धारा छन् । पहिले टोलै पिच्छे, बस्ती नै पिच्छे ढुङ्गे धारा हुन्थे । उपत्यकाबासी ढुङ्गे धाराकै पानी खान्थे । नुहाइधुवाइ अन्य प्रयोजनका लागि पनि ढुङ्गे धाराकै प्रयोग हुन्थ्यो । तर अहिले ढुङ्गे धारामा ढुङ्गा मात्रै बाँकी छ, पानी छैन । ललितपुरको पाटन नजिकै छ, सुन्धारा । सुनको जलप लगाईको धारा भएर यसलाई स्थानीयले सुन्धारा भन्छन् । तर सुन्धारामा हिजो आज पानी आउँदैन । धारा सुख्खा र फोहोर भइसक्यो । स्थानीय कृष्ण चित्रकार हिजोआज धारामात्रै रहेको बताउनुहन्छ । २० बर्ष पहिले सुन्धारा टोलका मानिसहरु यहि धाराका पानी पिउँथे । तर अहिले धारा छ, पानी हरायो । सुन्धारा टोलका मानिस अहिले बोतलको पानी किन्छन् र घर धन्दाको काम गर्छन् । कृष्ण चित्रकार मासिक २ हजार पानी किन्नमा छुट्याउनुहुन्छ ।

 

सुन्धाराबाट ५ मिनेट पैदल हिँडे थमाहिटि धारा पुगिन्छ । थमाहिटि धारामा पहिले जसरी पानी आउँदैन । बर्खाको समयमा पनि सानो पानी आउँछ । हिउँदमा त त्यहि पनि सुक्छ । तर पहिले धारामा हिउँद बर्खै पानी टुट्दैन थियो । स्थानीय प्रेमराज शाक्य हिजोआज पानी आउन छोडेको बताउनुहुन्छ । पहिले ढुङ्गे धारा वरिपरि खेतबारी थियो । जमिनमा परेको पानी मुनिसम्म पुग्थ्यो । अहिले  सबैतिर घर बने, सडक पिच भयो । मानिसहरु पानी किनेरै खान थाले । ढुङ्गेधारा सुक्न थाल्यो । ललितपुरका ९० बर्षका हेमराज शाक्य बाटोहरु सबै ढलान भएका कारण पानीहरु सुक्दै गएको बताउनुहुन्छ ।

 

ढुंगे धारामा पानी आउन छोडेको दशौं वर्ष भइसकेको उहाँको भनाइ छ । राजकुलोहरु विस्तारै हराउँदै जाँदा पानीको मुहानहरु सुक्दै गएको स्थानीय बताउँछन् । पानी निकासा भएर नजिकैका धारामा जाने भएपनि पानीको निकासी नहुँदा पानी जमिन बाहिर खेर गएको छ । थमाहिटि टोल सुधारसमितिको तथ्याङक अनुसार उपत्यकामा करिब ६ सय ढुङ्गेधाराहरु छन् । तीमध्ये अधिकांश धारामा पानी आउँदैन । कतिपय ढुङ्गेधारा त लोप हुने अवस्थामा पुगेका छन् ।

 

ढुङ्गेधाराको संरक्षण गर्न र पानीको स्रोत जोगाउन के गर्नुपर्छ जलाधार विज्ञ मधुकर उपाध्याय पहाडका कुना कन्दरामासम्म पनि पोखरीहरु निर्माण गरेर पानी जोखाउन जुन काम भइरहेको थियो, त्यो काम नभएका कारण पानीको संकट आएको बताउनुहुन्छ । सानो सानो पोखरी बनाएर पानीको संरक्षणमा सबै लाग्नुपर्ने उहाँको भनाइ छ । देशका अरु ठाउँमा जस्तै उपत्यकामा पनि पिउने पानीको अभाव छ । पानीको अभावलाई पूरा गर्न र ढुङ्गेधाराको संरक्षण गर्न पहिले नागरिक नै सचेत हुनुपर्ने देखिन्छ ।  

प्रतिकृया दिनुहोस