• २०८१ बैशाख ८ शनिबार / Saturday, April 20

स्वास्थ्य अवस्थाबारे सबैलाई यथार्थ जानकारी गराउन चिकित्सकलाई प्रधानमन्त्रीको आग्रह

Fm Radio Link

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे सबैलाई यथार्थ जानकारी गराउन चिकित्सकहरुलाई आग्रह गर्नुभएको छ । उपचार टोलीका संयोजक डा. अरुण सायमीसँग उहाँले आफ्नो स्वास्थ्य अवस्था र सञ्चारमाध्यममा आइरहेका कुराका विषयमा जिज्ञासा राख्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो । 

 

एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री ओली मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको पाँचांै तलामा स्वास्थ्य लाभ गरिरहनुभएको छ । प्रधानमन्त्रीले हिजो शुभचिन्तकलाई ट्विटरबाटै धन्यवाद दिनुभएको छ । आफ्नो स्वास्थ्यमा क्रमिक सुधार आइरहेको पनि उहाँले टुइटरबाट जानकारी गराउनुभएको छ । प्रधानमन्त्रीको स्वास्थ्य र उपचार प्रक्रियाबारे जानकारी दिन चिकित्सकले आज पत्रकार सम्मेलन समेत गर्दैछन् । 

 

उपचार टोलीका संयोजक डा. सायमी, निजी चिकित्सक एवं वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. दिव्यासिंह शाह, वरिष्ठ सर्जन डा.रमेशसिंह भण्डारीले प्रधानमन्त्रीको स्वास्थ्य स्थितिबारे जानकारी दिने बताइएको छ । चिकित्सकका अनुसार प्रधानमन्त्रीले हिजो बिहान झोलिलो पदार्थ र दाल खानुभयो । उहाँले हिजो पत्नी राधिका शाक्य, मुख्य सल्लाहकार विष्णु रिमाल र स्वकीय सचिव राजेश बज्राचार्यसँग केही बेर गफ गर्नुभएको थियो । प्रधानमन्त्री ओलीलाई मंगलबार बिहान उपचारका लागि मनमोहन सेन्टरमा भर्ना गरिएको थियो । 

 

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीको पूर्ण स्वास्थ्य लाभको कामना गर्नुभएको छ । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा बिहीबार साँझ भेट गरी स्वास्थ्य लाभको कामना गर्नुभएको हो । 
 

प्रतिकृया दिनुहोस