२०८१ बैशाख १२ बुधबार Wednesday, April 24

ताजा अपडेट :

राउतले सरकारसँग गरेको ११ बुँदे सम्झौताको उल्लंघन

यसअघि राउतले सरकार स्वतन्त्र मधेसको विषयमा जनमत संग्रह गर्न तयार भएको दाबी गरेका थिए
image

जनकपुरधाम – सिके राउतले सरकारसँग गरेको ११ बुँदे सम्झौताको उल्लंघन गरेका छन् ।

शुक्रबार सरकारसँग ११ बुँदे सम्झौता गरेर पृथकतावादी गतिविधि त्यागेको बताइए पनि स्वतन्त्र मधेस गठबन्धका कार्यकर्ताले संयोजक सिके राउतलाई ‘स्वतन्त्र मधेस’ लेखिएको झण्डा देखाएर जनकपुरमा स्वागत गरेका हुन् ।

 

आइतबार दिउँसो काठमाडौंबाट जनकपुर आई पुगेका राउतलाई उनका समर्थकले विमानस्थलमा पुरानै झण्डा देखाएर स्वागत गरेका हुन् ।राउतलाई विमानस्थलमा स्वागत गर्न पुगेका  पाँच सय बढि कार्यकर्ताले ‘फ्रि मधेस’को ब्यानर  र ज्याकेट लगाएका थिए ।

सरकारसँग ११ बुँदे सहमति गर्दै विखण्डनकारी गतिविधि त्यागेको घोषणा गरे पनि त्यसको अवज्ञा गर्दै राउतका कार्यकर्ता स्वतन्त्र मधेसका लागि तयार पारिएको सामाग्री प्रयोग गरेका हुन् । सरकारसँग भएको सम्झौताको ६ नम्बर बुँदामा स्वतन्त्र मधेस गठबन्धनका लागि तयार पारिएको सामाग्री प्रयोग नगर्ने उल्लेख छ ।

साथै बुँदा नम्बर -६ मा भनिएको छ, ‘स्वतन्त्र मधेस गठबन्धन तथा यसका नेता कार्यकर्ताद्वारा यसअघि तयार पारिएका र पहिले प्रचारमा गएका किताब, पर्चा पम्पलेट, घोषणापत्र, गीत, नक्सा, नारा, झण्डा, अनलाइन सामाग्री आदिलाई भविष्यमा कारबाहीको विषय बनाइने छैन। आगामी दिनमा संविधानको व्यवस्था र यस सहमति प्रतिकुलका प्रचार सामाग्रीहरु उत्पादन तथा वितरण गरिने छैन।’                                                    

यसअघि राउतले सरकार स्वतन्त्र मधेसको विषयमा जनमत संग्रह गर्न तयार भएको दाबी गरेका थिए । सम्झौताको-२ नम्बर बुँदामा उल्लेख भएको जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट तराई मधेसमा देखिएको असन्तुष्टिलाई समाधान गरिने भन्नुको अर्थ जनमत संग्रह भएको उनको दाबी थियो ।

तर आइतबार सम्झौताबारे संसदलाई जानकारी गराउँदै गृहमन्त्री राबहादुर थापा बादलले ‘जनअभिमतमा आधारित लोकतान्त्रिक विधि’को अर्थ जनमत संग्रह नभएको जिकिर गरेका छन् । उनले ‘जनअभिमतमा आधारित लोकतान्त्रिक विधि’ को अर्थ जनमत संग्रह लगाउने हो भने ११ बुँदे सम्झौता तोडिने चेतावनी दिएका छन् ।