२०८१ बैशाख १३ बिहीबार Thursday, April 25

ताजा अपडेट :

पार्टी दर्ता गराँउदै राउत : चैत ४ र ५ गते बोलाए स्वतन्त्र मधेश गठबन्धनको बैठक

image

पार्टी दर्ता गराँउदै सिके राउत : चैत ४ र ५ गते बोलाए स्वतन्त्र मधेश गठबन्धनको बैठक

काठमाडाैं : डा. सिके राउत नेतृत्वकाे स्वतन्त्र मधेश गठबन्धनकाे राष्ट्रिय परिषद् बैठक बस्ने भएकाे छ। बैठक आगामी चैत ४ र ५ गते जनकुपुरमा बस्नेछ। गठबन्धनका सहसंयोजक चन्दन सिंहले भने, ‘हाम्रो परिषद्को बैठकको तयारी हुँदैछ गठबन्धनले सरकारसँग गरेकाे सम्झाैतालाई ऐतिहासिक सफलता र विजय भएकाे बताउँदै यसपछिकाे रणनीति तय गर्न बैठक डाकेकाे हो।’

 

परिषद् बैठकमा आगामी रणनीति र सङ्गठनको संरचना तयार पार्ने विषयमा छलफल हुनेछ। सिंहले दिएको जानकारी अनुसार सरकारसँग भएको ११ बुँदे सम्झौता बमोजिम गठबन्धनले रणनीति बनाउनेछ। गत शुक्रबार मात्रै सरकारसँग ११ बुँदे राजनीतिक सहमति गरी मूलधारकाे राजनीतिमा फर्किएका राउतले गठबन्धनकाे राष्ट्रिय परिषद् बैठक बाेलाएका हुन्।

 

राष्ट्रिय परिषद् बैठकमा सामेल हुने सबै पार्टी सदस्यलाई चैत ४ गते सोमबार बिहान ‍७ बजे भित्रै कार्यक्रम स्थलमा आउन सूचित गरिएकाे छ। सरकारसँग सहमति गरेकाे दाेस्राे दिनमै गृहनगर जनकपुर पुगेका राउतकाे गठबन्धनका नेताकार्यकर्ताले भव्य स्वागत गरेका थिए। साे क्रममा पुरानै शैलिमा ‘स्वतन्त्र मधेश’ लेखिएका ब्यानर तथा नारा गुञ्जिएकाे भन्दै राउतले सरकारलाई झुक्याएकाे र पुरानै अवस्थामा रहेकाे भनि टिप्पणी भएकाे थियाे।

 

गठबन्धनकाे राष्ट्रिय परिषद् बैठकले सरकारकाे सहमतिलाई कसरी अर्थ्याउनेछ र भावी कार्यदिशा कस्ताे बनाउनेछ भन्नेमा सबैकाे चासाे रहेकाे छ।

 

बिहीबार साँझ साढे ७ बजे सेन्ट्रल जेल काठमाडौँबाट सादा पोसाकका प्रहरी नियन्त्रणमा सरकारी गाडीमै बालुवाटार पुगेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा.सीके राउतले सोही राति सरकारसँग ११ बुँदे सहमति गरेका थिए। शुक्रबार सहमति सार्वजनिक कार्यक्रम भयो, त्यसपछि पनि उनी सुरक्षाकर्मीकै निगरानीमा थिए।

 

शनिबार काठमाडौँमै बसेका डा.राउत आइतबार दिउँसो वीर अस्पतालमा स्वास्थ्य चेक जाँच गराई त्रिभुवन विमानस्थल हुँदै जनकपुर फर्केका थिए। जनकपुरमा उनको सुरक्षा दस्तासहित समर्थकहरूले स्वागत गरेका थिए। उनको स्वागतमा स्वतन्त्र मधेश लेखिएको झन्डा र पम्प्लेट भेटिएको विषय अहिले चर्चामा छ।

 

उनको फेसबुक र ट्वीटर अकाउण्टबाट जनमतसंग्रहका लागि सरकार सहमत भन्ने भनाइ पनि चर्चामै छ। सहमतिका विषयमा विभिन्न कोणबाट व्याख्या भइरहेका बेला सिकेका आगामी रणनीतिप्रति नागरिकको चासो पनि ह्वात्तै बढेको छ। प्राप्त जानकारी अनुसार गठबन्धनको परिषद् दुई तहको साङ्गठनिक संरचना बनाउने प्रस्ताव जानेछ।

 

अहिलेको स्वतन्त्र मधेश परिषद् कायम राखेर अर्को राजनीतिक दल गठनको प्रस्ताव हुनेछ। उक्त दल सम्पूर्ण राजनीतिक कार्यक्रममा सक्रिय हुनेछ। स्थानीय तहको निर्वाचनदेखि सङ्घीय संसद्को निर्वाचनसम्म सहभागी हुन सक्छ भने वडातहसम्म कार्यालय स्थापना र सङ्गठन विस्तार गर्नेछ।

 

सरकारसँग ११ बुँदे सहमति गर्नुअघि पनि गठबन्धनका संयोजक डा.राउतले राजपा र फोरमसहित विभिन्न राजनीतिक दलका नेताहरूलाई आफ्नो अभियानमा सहभागी हुन पत्राचार गर्दै आएका थिए। तर, त्यस बेला खासै प्रतिक्रिया आउने गरेको थिएन। अहिले राजपा र फोरमका नेताहरू पनि डा.राउतले बनाउने पार्टीप्रति सकारात्मक रहेको सिंहले बताए।

 

उनका अनुसार ती पार्टीका युवा नेताहरूसँग अनौपचारिक छलफल सुरु भएको छ। नेपाल सरकारले विप्लवभन्दा हामीलाई ठुलो समस्या मानेको थियो। राजनीतिक सहमति नगरेको भए प्रतिबन्ध लाग्न सक्ने सिंहको भनाइ छ। ‘हामीले ११ बुँदे सहमति नगरेको भए हाम्रो सङ्गठन पनि घोषित रूपमा प्रतिबन्धित हुने थियो’ सिंहको भनाइ छ।

 

अहिलेको अवस्थामा आफूहरू खुलेर लोकतान्त्रिक शक्तिका रूपमा पार्टी गठन गर्न सक्ने र आफ्नो विचार राख्न सक्ने अवस्थामा पुगेको दाबी सिंहले गरे। माओवादीले गरेको १२ बुँदे सम्झौता जस्तै यो सम्झौता महत्त्वपूर्ण रहेको दाबी गर्दै सिंहले भने, यसले राजनीतिक अवतरण गर्नुको साथै ठूलो क्षतिबाट सबैलाई जोगाएको छ।