२०८१ बैशाख १३ बिहीबार Thursday, April 25

ताजा अपडेट :

वन फँडानीको आरोपमा अध्यक्ष सहित ३ जना पक्राउ

image

महेन्द्रनगर – अवैध रूपमा सामुदायिक वन फँडानीमा संलग्न रहेको आरोपमा डिभिजन वन कार्यालय कञ्चनपुरले तीन जनालाई पक्राउ गरेको छ। लालझाडी गाउँपालिका–५ देखतभुलीको अपि सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीले स्वीकृति नलिई सालका रूख काटेको फेला पारेपछि डिभिजन वन कार्यालय कञ्चनपुरले संलग्न २ पदाधिकारीसहित ३ जनालाई पक्राउ गरेको हो।

 

फँडानीमा संलग्न आरोप लागेकामध्ये समितिका अध्यक्ष मदन नाथ, सामुदायिक वनका कार्यालय सचिव धर्मानन्द भट्ट र काठ ओसारपसारमा संलग्न रामकृष्ण चौधरीलाई नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय कञ्चनपुरका डिभिजन वन अधिकृत अजय बिक्रम मान्नधरले बताए । ‘उनीहरूमाथि रुख कटान गरिएको आरोप छ, अनुसन्धानका लागि पक्राउ गरेका हौं, अहिले तीनै जनालाई सशस्त्र वन सुरक्षा शाखा कञ्चनपुरको हिरासतमा राखेर सोधपुछ गरिरहेका छौं,’ उनले भने, ‘दोषी ठहरिए वन ऐन अनुसार कारबाही हुन्छ ।’ वन उपभोक्ता पदाधिकारीको मिलेमतोमा २ सय ३६.६७ क्युफिट साल कटान गरेको फेला परेको सव डिभिजन वन कार्यालय बाणीका सहायक वन अधिकृत विश्वराज पण्डितले बताए।

 

उनका अनुसार सामुदायिक वनका पदाधिकारीले सामुदायिक वनको विधान र कार्ययोजना विपरित निर्णय गरेर काठ कटान गरेको पाइएको छ। ‘वनका पदाधिकारीले वन कार्यालयसँग समन्वय नगरी रुख काट्न पाउँदैन्, रुख काट्नु परे वार्षिक कार्य योजना बनाएर काट्न पाउने पर्ने प्रावधान छ, उक्त सामुदायिक वनका पदाधिकारीले यो प्रक्रिया पुरा नगरी रुख काटेको छ,’ उनले भने, ‘घटनाको प्रारम्भिक अनुसन्धान अनुसार सामुदायिक वनका सम्पूर्ण पदाधिकारीको संलग्नता देखिन्छ ।’ सामुदायिक वनको निर्णय पुस्तिका र आवश्यक कागजपत्र नियन्त्रणमा लिएको सहायक वन अधिकृत पण्डितले बताए । ‘पक्राउ गरिएका व्यक्तिको बयानका आधारमा अरुलाई पनि अनुसन्धानका लागि पक्राउ गर्छौं,’ उनले भने।

 

सालका रुख कटानमा मिलेमतोको आरोप लागेका वन कर्मचारीमाथि पनि अनुसन्धान भइरहेको सहायक वन अधिकृत पण्डितले बताए। उनका अनुसार लालझाडी सव डिभिजन वन कार्यालय अन्तर्गतको देखभुली पोष्टका रेन्जर जीवन भण्डारी, फरेष्टर राममिलन राना, डम्मरराज ओझा र वन रक्षक पदमसिंह धामीमाथि अनुसन्धान भइरहेको छ। ‘वनका पदाधिकारीको बयानबाट पनि उनीहरूको संलग्नता भए नभएको थाहा हुन्छ,’ उनले भने, ‘कर्मचारीको मिलेमतोमा रुख काटिएको भए कारबाही हुन्छ।’

 

अपि सामुदायिक वनमा आइतबार काटिएको अवस्थामा सालका १५ गोलिया फेला परेको थियो। उक्त काठ सामुदायिक वनका पदाधिकारी र लालझाडी सव डिभिजन वन कार्यालय अन्तर्गतको देखभुली पोष्टका कर्मचारीको मिलेमतोमा काटिएको उपभोक्ताको दाबी छ। उपभोक्ताले रुख काटिएको विषयमा छानविन हुनुपर्ने माग राखेपछि डिभिजन वन कार्यालय कञ्चनपुरले अनुसन्धान गरिरहेको छ। वनको प्रारम्भिक अनुसन्धानबाट करिब १० रुख काटिएको पाइएको छ।

 

सोमबार थप सालको १० गोलिया काठ भेटिएको थियो। वन फँडानी गर्ने सामुदायिक वनका पदाधिकारी र वनका कर्मचारीलाई कारबाही गर्न स्थानीय तथा उपभोक्ताको माग गरेका छन्।