२०८१ बैशाख १२ बुधबार Wednesday, April 24

ताजा अपडेट :

कृष्णपुर नगरपालिकाको पाँचौ नगर सभा सम्पन्न

image

कञ्चनपुर, कञ्चनपुरको कृष्णपुर नगरपालिकाको पाँचौ नगर सभामा आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि सतहत्तर करोड सतासी लाख सन्तानब्बे हजार चार सय साठीको बजेट सहित प्रस्तुत गरि पारित भएको छ । शुक्रबार देखि सम्पन्न नगर सभामा वार्षिक नीति तथा कार्यक्रम सहित बजेट प्रस्तुत गरिएको छ ।

 

आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेट चालु आ.व.को तुलनामा १९ करोड ७ लाख सैतिस हजार बढी हो । गत वर्ष चालु आ.व.का लागि अन्ठाउन्न करोड असि लाख उन्साठी हजार नौ सय एकानब्बे विनियोजन गरिएको थियो । यसमा चालुतर्फ ४२ करोड ३५ लाख र पूँजीगतमा ३५ करोड ५२ लाख विनियोजन गरिएको छ । नगरपालिकाको आन्तरिक आम्दानीबाट १५ करोड ६४ लाख रहेको छ ।


कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्ण बहादुरले नगरवासिको चाहना र मागका आधारमा समृद्ध नगर बनाउने लक्ष्य सहित आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको बताए । ‘समृद्द कृष्णपुरको आधार, शिक्षा, स्वास्थ्य, कृषी, उधोग, पर्यटन र पूर्वाधार भन्ने मूल नाराका साथ सबै क्षेत्र समानुपातिक विकासका लागि नीति तथा कार्यक्रममा समावेश गरिएको छ’ उनले भने,‘त्यसैका आधारमा बजेट विनियोजन गरिएको छ ।’ नगरको विकासका लागि दीर्घकालिन रणनीतिक योजना निर्माण गरी कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । 


विकासका योजनाहरु निजी, साझेदारी, सहकारी र गैर सरकारी संस्था र नागरिक समाजसित सहकार्य गरि सम्पन्न गर्ने नीति लिएको नगरपालिकाले जन सहभागिता अभिवृद्धि, स्थानीय स्रोत साधनको प्रयोग, पारदर्शिता र सार्वजनिक सुनुवाई सामाजिक परीक्षण कार्यलाई निरन्तरता दिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । नगरपालिकाको आन्तरिक राजश्व बढाउन आगमी वर्षदेखि कर प्रणालीलाई व्यवस्थित गरि लागू गर्दै कर संकलन अभियान सञ्चालन गर्ने भएको छ ।

 

करका दायरा फराकिलो र करका नयाँ क्षेत्र पहिचान गरी आन्तरिक राजश्व वृद्धि गर्ने नीति लिइएको छ । नगरलाई व्यवस्थित गरी नमूना नगरपालिका बनाउने कार्य सुरु गर्ने र नगरपालिकालाई क्लिन ग्रिन सिटीका रुपमा विकास गर्न नीति र अभियान सञ्चालनलाई प्राथमिकता दिइएको छ ।


आगामी वर्षको नीति कार्यक्रममा सोलार बत्ती जडान गरी उज्यालो नगर बनाउने कार्यक्रमलाई निरन्तरता दिइएको छ । आगामी वर्ष स्थानीय स्रोत र साधनमा आधारिकत उद्योग मार्फत उद्यमी तयार गरिने नीति लिइएको छ । लैङ्गिक समानता र आर्थिक रुपमा सशक्त बनाउन उद्यमी तयार गरिने कार्यक्रम अघि सारिएको छ ।

 

कृषि र पशुपालन क्षेत्रलाई व्यवसायीकरणका लागि सम्भाव्यता अध्ययन गरी फार्म सञ्चालनका लागि सुदूरपश्चिम प्रदेश सरकारसित सहकार्य गरिने नीति लिएको छ ।

 

यसै गरी ग्वासी समैजी धार्मिक पर्यटकीय धाम निर्माण, एक वडा एक खेलकुद मैदान, एक वडा एक कालोपत्रे, नगर अस्पताल निर्माण, बहुप्राविधिक शिक्षालय निर्माण, चिडियाखाना निर्माण, बहुसास्कृतिक संग्राहलय निर्माण, किसानलाई उपकरण, नयाँ प्रविधि जडान लगायतका कार्यमा सहयोग गरिने कार्यक्रम समावेश गरिएको छ । 

 

नगरपालिकाले एक वडा एक नमुना विद्यालय बनाउन विशेष कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख भए बमोजिम आवश्यक बजेट विनियोजन गरेको छ |नगर क्षेत्रका विपन्न, अनाथ, गरीब, जेहेन्दार र लक्षित समूहका विद्यार्थीलाई छात्रबृत्तिका लागि बजेटको व्यवस्था गरिएको छ । नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयका उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कृत गर्ने र विद्यालयका नयाँ भवनहरु प्रविधिमैत्री, अपाङ्गतामैत्री र भूकम्प प्रतिरोधी बनाउने नीति लिएको छ । 

 

नगरपालिकाले अति विपन्न र ज्येष्ठ नागरिकहरुको घरदैलो गएर नियमति एवम् निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ । विपन्न परिवारका अशक्त ज्येष्ठ नागरिकहरुका लागि नगरपालिकाले संचालन गरेको एम्बुलेन्स सेवालाई निःशुल्क उपलब्ध गराउने भएको छ । नगरपालिकाका सहकारी र विद्यालयलाई एक आपशमा गाभ्ने मर्जर नीति अघि सारेको छ । सबै वडामा खोला, नालामा पुल पुलेस र कल्भर्ट निर्माण गर्ने लक्ष्य राख्दै नगरभित्रका सार्वजनिक स्थान र सडकहरुको नामाकरण गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नगरपालिकाले आगामी वर्षदेखि नगर यातायात गुरु योजना लागू गर्ने भएको छ ।


यसैगरी सिँचाई, सहरी विकास, विद्युतीकरण, सञ्चार, वन तथा वातावरण, जैविक विविधता, सुशासन, फोहरमैला व्यवस्थापन, सूचना प्रविधि लगायतलाई विषय पनि नीति तथा कार्यक्रममा समेटिएका छन् । कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर हमालको अध्यक्षतामा सुरु नगर सभामा नगर उप प्रमुख रमिता रानाले आगामी वर्षको नीति कार्यक्रम र बजेट प्रस्तुत गरेकी थिइन् ।

 

कार्यपालिका सदस्य कल्लु रानाले आर्थिक विधेयक २०७६ र कार्यपालिका सदस्य बसन्ती रावलले विनियोजन विधेयक २०७६ नगर सभामा प्रस्तुत गरेका थिए । शुक्रबार नै नीति कार्यक्रम तथा बजेट र दुबै विधेयकमाथि छलफल गरि पारित गरिएको कृष्णपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु दत्त भट्ट  जानकारी दिए ।