२०८१ बैशाख १७ सोमबार Monday, April 29

ताजा अपडेट :

धादिङको घर घरमै धारा आएपछि खुशी

गाउँमा खानेपानीको समस्या समाधान भएपछि निकै खुशी
image

धादिङ, धादिङको एउटा गाउँमा खानेपानीको समस्या समाधान भएपछि स्थानीय निकै खुशी भएका छन् । घर घरमै धारा आएपछि स्थानीय खुशी मात्रै भएका छैनन्, गाउँको मुहारै फेरिएको छ ।

 

धादिङको गंगाजमुना गाउँपालिका वडा नं. २ रि तावलका सुनमाया विकलाई घरमा धारा आउला र धारामा पानी आउला भन्ने कहिल्यै लागेको थिएन । तर नसोंचेको कुरा भयो र सुनमायाले घरकै धारामा पानी थाप्नुभयो । सुनमाया खुशीले गद्गद् हुनुहुन्छ ।

 

विकले भन्नुभयो, ‘पहिला त घण्टौं हिडेर पानी लिन टाढा पुग्नुपथ्र्यो अहिले र घरमै धारा छ जतिबेला थापेपनि भयो, सजिलो छ ।’ सुनमाया जस्तै गाउँका ३ सय ३० परिवारले घर घरमै धारा पाएका छन् । अनि धारामा पानी । खानेपानीको जोहोमा दिनरात खट्नु पर्ने तावलबासीको दुःख अहिले हटेको स्थानीय मैखुमायाँ तामाङ बताउनुहुन्छ ।

 

खानेपानीको सुविधा भएपछि घाँस दाउरा, मेलापात, कृषि कर्म गर्नेहरुलाई धेरै सुविस्ता भएको छ । गाउँमै बसेर ज्याला मजदुरी र व्यवसाय गर्नेलाई पनि सजिलो भएको रि तावलका प्रेमकुमारी तामाङको भनाइ छ । तामाङले भन्नुभयो, ‘म टेलर्स चलाउँछु, पानी लिन जाने समय अहिले काममा लगाउन पाएको छु । धेरै सजिलो भएको छ ।’ सरकारले एक घर एक धारा अवधारणा ल्याएको छ ।

 

सोही अनुसार तावलबासीले घरघरमा धारा पाएका छन् । नागरिकका मागलाई सम्बोधन गर्दै खानेपानी आयोजना सम्पन्न भएकोमा गंगाजमुना गाउँपालिका वडा नं. २ का वडाअध्यक्ष फैसिङ तामाङ पनि खुशी हुनुुहुन्छ । नागरिकका माग र सबै आवश्यकता सरकारले पूरा गर्न सकेको छैन ।

 

विकासको क्षेत्रमा सरकारलाई सहयोग गर्दै रि तावल गाउँमा खानेपानी व्यवस्था गरिएको हिम्स नेपालका कार्यकारी निर्देशक शिलाश तामाङले बताउनुभयो । खानेपानीको समस्या समाधान भएसँगै रि तावलका नागरिक व्यवसायिक तरकारी खेतिमा लाग्ने योजना बुनिरहेका छन् ।