२०८१ बैशाख २४ सोमबार Monday, May 06

ताजा अपडेट :

भारत लैजाँदै गर्दा दुई किशोरीको उद्धार ।।

image

कपिलवस्तु, 

कपिलवस्तुको कृष्णनगर नाका हुँदै भारत लैजाँदै गर्दा दुई किशोरीको उद्धार गरिएको छ । कृष्णनगर सीमा क्षेत्रबाट आफन्त नेपाल र नेपाल प्रहरी टोलीको समन्वयमा उनीहरुलाई उद्धार गरिएको बताईएको छ ।

कपिलवस्तु र दाङ निवासी क्रमशः १७, १८ वर्षका ती किशोरीहरुलाई भारत लैजान खोज्दा सोधपुछ गरिएको थियो । उनीहरुले मासु लिन जान लागेको बाहाना बनाई सीमा क्षेत्र पार गर्न खोजेको आफन्त नेपालका परामर्श कर्ता वर्षा मगरले बताईन् । कपिलवस्तुको बिजयनगर गाउँपालिका ५ डालपुर बस्ने रेनु सुनारले ती किशोरीहरुलाई भारतको ब्याङ्लोरमा डान्स गराउने उद्देश्यले लैजान लागेको खुल्न आएको छ । सुरुमा भारतीय बजारमा मासु लिन जान लागेको भने पछि उनीहरुलाई शंकाको घेरामा राखिएको थियोे । बारम्बार भारतीय नम्बरबाट कल आएपछि अझ बढी शङ्कास्पद देखिँदै गएकोले अनुसन्धान सुरु गरिएको परामर्शकर्ता मगरले जानकारी दिईन् ।

किशोरीहरुलाई सोधपुछ र अनुसन्धान पश्चात् डान्स बारका लागि दिनको २ हजार भारतीय रकम दिने प्रलोभनमा पारी लैजान खोजेको बुझिएको आफन्त नेपालका क्षेत्रीय संयोजक केशर विश्वकर्माले बताए । सुनारलाई भारतीय नागरिकले बारम्बर फोन सम्पर्क गरि गोरखपुर सम्म लिन आएको पाईएको विश्वकर्माले जनाए । उद्धार गरिएका ती किशोरीलाई विहिवार आफन्त नेपालको सुरक्षित आवास गृहमा राखिएको उनले बताए । महिलालाई मानव बेचबिखन तथा ओसारपसार ऐन अन्र्तगत मुद्धा दर्ता गरी जिल्ला अदालत कपिलवस्तुबाट म्याद थप गरी अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुकदेब पौडेलले जानकारी दिए ।