Sunday, September 06

Latest Update :

एकै वडाका २७ जना अझै सम्पर्कविहीन

image

धनगढी, भदौ २० । टीकापुर नगरपालिका–१, समितिपुरकी तुलसीचौधरीको आठ दिनदेखि भोक निन्द्रा हराएको छ । १० भदौको बिहान भोटेकोशी नदीमा आएको बाढीपछि उनका श्रीमान अन्तराम चौधरी सम्पर्कविहीन छन् । अघिल्लो दिन राति उनले फोनमा श्रीमानसँग कुरा गरेकी थिइन् ।

‘चिन्ता नलिनु तलब बुझेर दसैँमा घर आउँछु भन्नु भएको थियो । त्यसपछि केहीअत्तोपत्तो छैन’तुलसीले भनिन्, ‘श्रीमान बेपत्ताभएदेखि भोग निन्द्रा हराएको छ । परिवार पीडामा छौँ ।’ रसुवाको अपर त्रिशुली–१, जलविद्युत आयोजना मा मजदुरी गर्ने ४१ वर्षीय अन्तराम गत बैशाखमा त्यहाँ गएका थिए । परिवारका अनुसार बाढी आएका बेला उनी अरु कामदारसँगै जलविद्युत आयोजनाको ‘टनेल’मा काम गरिरहेका बुझिएको छ ।

सँगै कामगर्ने अन्तरामका भतिजा दीपक पनि बाढीपछि सम्पर्कविहीन छन् । छोराको खोजीका लागि उनका बुवा बिश्राम पाँच दिनदेखि प्रभावित क्षेत्रमा छन् । तर छोराको कुनै खबर पाउन सकेका छैनन् । २६ वर्षीय दीपक मजदुरी गर्न गाउँकै अन्य युवा सँग गत फागुनमा रसुवापुगेका थिए । ‘भाइ बेपत्ता भएपछि चिन्ताले आमाले खाना खान सक्नु भएको छैन’दिदी फुल कुमारीले भनिन्, ‘उद्दार टोली अहिलेसम्म टनेलमा जानै सकेको छैन रे । अहिलेसम्म उद्दार हुन सकेन, भाइको अवस्था केकस्तो पो छ ।’

 

समिति पुरकै लहानी चौधरी श्रीमान बेपत्ता भएपछि बेचैन छिन् । बाढी आएको दुई घण्टाअघि फोनमा श्रीमानसँग कुरा गरेकी उनले त्यसपछि श्रीमानको आवाज सुनेकी छैनन् । न उनलाई आफ्ना श्रीमानको अवस्था थाहा छ । उनले अझै आशा मारेकी छैनन् । टनेलभित्र उद्दारमा भएको ढिलाइले भने उनलाई चिन्ता थपेको छ । लहानीका श्रीमान ३५ वर्षीय मानबहादुर गत असार देखि जलविद्युत आयोजनामा काम गर्थे ।

भोटेकोशीको बाढीपछि प्रभावित क्षेत्रमा कार्यरत टीकापुर नगरपालिका वडा नम्बर १ का मात्रै २७जना सम्पर्कविहीन छन् । त्यसमध्ये समितिपुर गाउँकामात्रै आठजना र भुपमुक्तकमैया बस्तीका छ जना रहेका वडा कार्यालयले निशाना न्युजलाई जनाएको छ । २७ जना बेपत्ताहुँदा वडानै शोकमा रहेको वडाध्यक्ष मोहन बिकले बताए । ‘त्यतिका मान्छे बेपत्ता हुँदा वडानै शोकमा छ ।परिवारहरु पीडामा छन्’ उनले भने, ‘यतिका दिनसम्म उद्दार हुन नसक्दा आशामर्दै गएको छ ।’ वडाले सम्बन्धित परिवारबाट बेपत्ताको विवरण संकलन गरेर नगरपालिका मार्फत अनलाइन विवरण भरेको उनले बताए । वडाध्यक्ष बिकका अनुसार बेपत्ता सबै एउटै आयोजना मा कामगर्नेहरु हुन् । बेपत्ताका परिवारले पैसा उठाएर टीकापुर–१ बाट खोजी का लागि छ जनालाई प्रभावित क्षेत्रमा पठाएका छन् । बाढी प्रभावित क्षेत्रमा रहेका टीकापुरका मात्र ३३ जना बेपत्ता रहेको विवरण नगरपालिकामा आएको वडाध्यक्ष बिकले जानकारी दिए ।

 

आफन्तको खबरको पीडादायी पर्खाइमा रहेका परिवारले इलाका प्रशासन कार्यालय टीकापुरमा बिहीबार नाराबाजी र घेराउ गरेका थिए । बेपत्ताको सास या लास दिन उनीहरुले सरकारसँग माग गरेका छन् । जलविद्युत आयोजनाको सुरुङभित्र आठ दिनसम्म उद्दार हुननसकेको भन्दै पीडित परिवार आक्रोशित बनेका हुन् । सँगै काम गर्नेहरुका अनुसार बेपत्तामध्ये अधिकांश बाढी आएका बेला टनेल भित्र काम गरिरहेका थिए । अपर त्रिशुली–१, मै कार्यरत समितिपुरका तुलाराम चौधरीले भागेर ज्यान जोगाए । स्यापु्रबाट बाढी आएको खबर पाएकाले आफू भाग्नपाएको उनले बताए । ‘म, मेरै गाउँका अरु दुईजनाभान्सेसहित छ जना क्यान्टिनमा थियौँ । बाढी आएको खबर आएको केहीबेरमै बाढी आइपुग्यो । ५–७ सेकेण्डले हामीजोगियौँ’ चौधरीले भने, ‘टनेल भित्र खबरनै गर्न पाएनौँ ।’

 

तुलारामले नै टीकापुरबाट अरु कामदार त्यहाँ लगेका थिए । उनले कम्पनीमा कामदार व्यवस्थापनको कामगर्थे । बेपत्ता हुनेमध्ये धेरैजसो आफ्नै गाउँका र आफन्त रहेको चौधरीले बताए । बेपत्ता आफन्तको खोजीमा टीकापुरबाट गएको टोलीसँगै रहेका उनले उद्दार टोली टनेल भित्र जान नसकेको बताए । ‘बेपत्ता कसैको पनिखबर पाइएको छैन’ समितिपुरकै अखिल चौधरीले भने, ‘टनेलभित्रको उद्दारमा निकै ढिलो भयो, अझै पनि छिटो गरिदिए आफन्तको लाश पाइन्थ्यो ।’ उनी बेपत्ता रहेका मानबहादुरका भाइहुन् ।

 

बाढीपछि सम्पर्कविहीन छन् सुदूरपश्चिका एक सय ४६ जना

 

भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा रहेका सुदूरपश्चिमका एक सय ४६ जना अझै सम्पर्कविहीन छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार एक सय ८४ जना सम्पर्कविहीन रहेको भनेर सम्बन्धित परिवारले यहाँका विभिन्न जिल्ला स्थित प्रहरी कार्यालयलमा जानकारी गराएकोमा ३८ जना सम्पर्कमा आएका छन् । सबैभन्दा बढी कैलालीका ८५ जना बेपत्ता रहेकोमा २५ जना सम्पर्कमाआएका छन् ६० जना सम्पर्कविहीन छन् । कञ्चनपुरका ४६ जना सम्पर्कविहीन रहेकोमा १० जना सम्पर्कमाआएका छन् । प्रदेश प्रहरी कार्यालयकाअनुसार बाजुराका १८ र डडेल्धुराका १६र१६, बैतडीका आठ, दार्चुलाका चार तथा डोटी, अछाम र बझाङका दुईरदुई जना सम्पर्कविहीन छन् । त्यसमध्ये बाजुराका दुई र डडेल्धुराका एक जना सम्पर्कमा आएका प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक पदम बिष्टले जानकारी दिए।

प्रहरीका अनुसार बेपत्तामध्ये प्रभावित क्षेत्रमा रहेका जलविद्युत आयोजनामा काम गर्ने कामदारको संख्या धेरै छ । उनीहरुका आफन्त खोजविनका लागि प्रदेश सरकार र प्रहरी कार्यालयहरुलाई गुहारीरहेका छन् । बेपत्ता व्यक्ति हरुको खोजविनका लागि नेपाल प्रहरीको केन्द्रीय डेस्कमार्फत खोज समन्वय भइरहेको प्रहरी बरिष्ठ उपरीक्षक बिष्टले बताए ।

 

Latest Update