चितवन १४ असोज
असोज ८ गतेदेखि चार दिनसम्म भएको वर्षा र नारायणी नदीमा आएको बाढीका कारण भरतपुर महानगरपालिका–१ स्थित राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयमा क्षति पुगेको छ । बाढीले कक्षाकोठाभित्र लेदो–माटो भित्र्याएपछि पठनपाठन ठप्प भएको छ । बाढीले ल्याएको माटो जमेकाले साबेलले पन्छाउन पनि धौ–धौ परेको छ । विद्यालय आसपासका स्थानीय आफ्नै घरभित्र पसेको हिलो सोहोर्न व्यस्त रहेकाले ज्याला दिएर काम गराउन मजदुरसमेत पाउन सकेको छैन । बाह्य सहयोग नभई शिक्षिका, कर्मचारीले मात्र सरसफाइ गर्दा समय लाग्ने देखिएको छ । समस्या समाधानका लागि वडा कार्यालय, भरतपुर महानगरपालिका, महानगरको शैक्षिक शाखा तथा वीरेन्द्र क्याम्पस अगाडिको सेनाको ब्यारेकलगायत सम्भावित सबै निकायमा पुगेर सहयोगको याचना गरिएको छ । तर, सबै निकायबाट आश्वासन मात्र प्राप्त भएको र अहिलेसम्म उद्धार वा सरसफाइका लागि कसैले पनि मानिस नपठाएको विद्यालयको गुनासो छ । महानगरपालिकाबाट आएको दमकलले दुई दमकल पानी हालेर विद्यालयको माथिल्लो पेटी सफा गरेपनि कक्षाकोठा अझै हिलाम्मे छन् ।
२०७१ मङ्सिरदेखि सोही विद्यालयमा सेवारत प्रधानाध्यापक शान्ता अधिकारीका अनुसार विद्यालयले हरेक वर्ष बाढीको समस्या भोग्दै आएको छ । यसअघिका बाढीले कक्षा ३ को भुइँ भासिएर खोक्रो बनेको छ जहाँ पूर्व शिक्षिका गायत्री शर्मा कक्षाकोठामै लडेकी थिइन् । कक्षाकोठा अझै पनि जोखिमपूर्ण अवस्थामै रहेकाले बालबालिकालाई भित्र राखेर पढाउनसक्ने अवस्था छैन । दसैँ नजिकिँदै गर्दा विद्यालय बन्द भएपछि अभिभावकहरू बच्चाको पढाइ बिग्रने चिन्तामा छन् भने केही विद्यार्थी विद्यालयको मायाले आफै हिलो फाल्न कस्सिएका छन् । विद्यालयमा १ सय २० जना विद्यार्थी अध्ययनरत छन् ।