Tuesday, October 06

Latest Update :

भोलि बजेट ल्याउने तयारीसँगै सुदूरपश्चिममा बढ्यो राजनीतिक चहलपहल

image

धनगढी ,२० असोज

सुदूरपश्चिम प्रदेश सरकारले भोलि (बुधबार) प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट पेश गर्ने तयारी गरेको छ। अहिले बजेट निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने बजेट प्रस्तुत गर्ने कार्यतालिका तय गर्न आजै प्रदेशसभामा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ। सरकारका प्रवक्तासमेत रहेका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलका अनुसार सबै मन्त्रालयले योजना तथा कार्यक्रम पेश गरिसकेका छन्। अहिले बजेट वक्तव्य तयार गर्ने लगायतका अन्तिम प्राविधिक काम भइरहेको उनले बताए।

‘सबै मन्त्रालयले योजना पेश गरिसकेका छन्। अहिले बजेट वक्तव्य तयार गर्ने तथा अन्य अन्तिम प्राविधिक काम भइरहेको छ,’ मन्त्री रावलले भने।

बजेट पेश गर्ने तयारीसँगै प्रदेशसभामा पनि त्यसको चहलपहल बढेको छ। आज बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको सभामुख भीम भण्डारीले जानकारी दिए। उनका अनुसार बैठकमा भोलि बजेट प्रदेशसभामा पेश गर्ने तथा त्यसपछि सञ्चालन हुने बैठकको कार्यसूची र प्रक्रियाबारे छलफल हुनेछ।

‘आज ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ। भोलि बजेट टेबल गर्ने गरी छलफल हुन्छ। बुधबार साँझ ५ बजे प्रदेशसभा बैठक आह्वान गरेर बजेट पेश गर्ने तयारी भइरहेको जानकारी पाएका छौँ,’ सभामुख भण्डारीले भने।

यसअघि तत्कालीन प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्षको बजेट प्रदेशसभामा पेश गरेको थियो। तर, बजेट पारित हुन नसकेपछि सुदूरपश्चिम प्रदेश लामो समयदेखि बजेटशून्यताको अवस्थामा छ। बुधबार बजेट प्रदेशसभामा पेश भएमा त्यसपछि छलफल, मन्त्रालयगत शीर्षकमाथिको बहस र पारित गर्ने प्रक्रिया अघि बढ्नेछ। आज बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेशसभाको आगामी कार्यतालिका तय गर्नेछ।