स्वास्थ्य बीमा बोर्डको अनलाइन प्रणालीमा पुरुष बीमितका नाममा सुत्केरी गराएको र शल्यक्रिया अर्थात् सिजरियन सेक्सन गरिएको भन्दै भुक्तानीको फर्जी दाबी परेको विवरण फेला परेको छ । बीमितको लिङ्ग पुरुष भएता पनि उनीहरूले बच्चा जन्माएको (डेलिभरी) र सिजरियन सेक्सन गराएको सेवा देखाइ आफ्नो नाममा बीमा रकम दाबी गरिएको तथ्याङ्क अनलाइन प्रणालीमा देखिएको हो । एनएसएचआई नम्बर ०६४२६८८८८ रहेका बीमित श्रवण कुमार पौडेलको नाममा सिजरियन सेक्सनमार्फत बच्चा जन्मिएको भन्दै भुक्तानी दाबी गरिएको छ । पुरुष बीमित पौडेलको दाबी नम्बर रहेको र २०८० माघ ३ देखि ६ गते सम्म ३ दिन अस्पताल भर्ना भई सिजरियन सेक्सन डेलिभरी गराएको उल्लेख छ । उपलब्ध गराइएको विवरण अनुसार पौडेलको नाममा १७ हजार पाँच सय ४५ रुपैयाँ दाबी गरिएको देखिएको छ । पौडेलले नगर अस्पताल विर्तामोड लगायतबाट बीमा दाबी गरेको देखिन्छ ।
त्यस्तै, अर्का पुरुष बीमित श्याम सुन्दर नकर्मीको नाममा पनि बच्चा जन्माएको भन्दै दाबी पेस गरिएको पाइएको छ । एनएसएचआई नम्बर ०२२५९८८८८ रहेका ३६ वर्षीय नकर्मीको दाबी नम्बर ३००५०८८८८ अन्तर्गत २०७५ भदौ ८ देखि १० गतेसम्म भर्ना भई सामान्य सुत्केरी गराएको दाबी गरिएको थियो । सो दाबीमा पाँच हजार रुपैयाँ डेलिभरी र दुई हजार रुपैयाँ अस्पताल भर्ना शुल्क गरी सात हजार रुपैयाँ दाबी गरिएकोमा पाँच हजार रुपैयाँ स्वीकृत भएको प्रणालीमा देखिन्छ ।
बीमा बोर्डको मूल्याङ्कन अनुसार नर्मल डेलिभरी बापतको ५ हजार रुपैयाँ दाबी पूर्ण रूपमा स्वीकृत (पास) भएको छ । तर, अस्पतालले दाबी गरेको २ हजार रुपैयाँ बराबरको दैनिक अस्पताल भर्ना शुल्क भने प्रसूति सेवाकै प्याकेजभित्र समावेश हुने भएकाले अस्वीकृत (रिजेक्ट) गरी अन्तिम भुक्तानी रकम ५ हजार रुपैयाँ कायम गरिएको छ । पुरुष बीमितको नाममा सुत्केरी सेवाको फर्जी दाबी प्रणालीमा दर्ता हुनुले स्वास्थ्य बीमा कार्यक्रमभित्र हुने सम्भावित अनियमितता र गलत भुक्तानी दाबीलाई उजागर गरेको छ ।
प्रणालीमा देखिने यस्ता त्रुटिपूर्ण विवरण र फर्जी दाबीहरूका कारण स्वास्थ्य बीमा कोषको रकम दुरुपयोग भइरहेको पुष्टि हुन्छ । नकर्मीले पाटन अस्पताल लगायतबाट बीमा दाबी गरेको देखिन्छ । हाल नकर्मीको स्वास्थ्य बीमा कार्ड निष्कृय रहेको देखिन्छ ।
बोर्ड भन्छ– मापदण्ड विपरीत दाबी भएको देखिन्छ
स्वास्थ्य बीमा बोर्डले पनि मापदण्ड विपरीत दाबी भएको विषयलाई स्वीकार गरेको छ । बोर्डका सूचना अधिकारी विकेश मल्लले यस विषयमा बोर्ड सचेत रहेको र सुक्ष्म अनुसन्धान गरिरहेको बताए ।
उनले भने, ‘नकर्मी र पौडेलले मापदण्ड विपरीत दाबी गरेको देखिन्छ ।’ पुरुष बीमितले आफ्नै पत्नी नै सुत्केरी भएको हो भने पनि आफ्नो नामबाट दाबी गर्न नमिल्ने उनले प्रस्ट पारे ।
२०८१ सालमा बोर्डको सर्भर क्य्रास भएको थियो । त्यसअघिका विवरण प्राप्तिमा केही कठिनाइ हुने बोर्डले जनाएको छ । सूचना अधिकारी मल्लले भने, ‘यस्ता विषयको सुक्ष्म अनुसन्धान गरिरहेका छौँ । कतिपय अस्पताललाई प्रश्न पनि सोध्छौँ ।’
९७ करोड रुपैयाँ भुक्तानी
स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई भुक्तानी गर्न बाँकी दाबी रकममध्येबाट ९ अर्ब ७३ करोड २९ लाख २९ हजार ७७८ रुपैयाँ ६० पैसा बैंक खातामा भुक्तानी गरेको छ । बोर्डले चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत बजेट तथा निकासा प्राप्त रकमबाट २०८३ आश्विन ७ गते यो रकम स्वास्थ्य संस्थाहरूको बैंक खातामा पठाएको जानकारी गराएको हो । गत आर्थिक वर्ष २०८२/०८३ को भुक्तानी दिन बाँकी दाबी १४ अर्ब ५१ करोडभन्दा बढी हुने अनुमान गरिएकोमा जाँचबुझ (रुजु) गर्दा कुल ११ अर्ब ५३ करोड १५ लाख ९२ हजार ६० रुपैयाँ ३९ पैसामात्र भुक्तानी योग्य स्वीकृत भएको थियो ।
कोष तथा लेखा नियन्त्रक कार्यालयबाट प्राप्त ११ अर्ब ९२ करोडभन्दा बढी निकासा रकममध्ये बोर्डले यसअघि नै ९ अर्ब २३ करोड ८५ लाखभन्दा बढी रकम भुक्तानी गरिसकेको थियो । बाँकी रहेको स्वीकृत रकममध्ये २०८३ असार महिनाको पेस्की बाँकी रहेका, खाता नम्बर नभएका र निर्णय अनुसार रोक्का राखिएका केही संस्थाको रकम घटाएर तथा बोर्डको नियमानुसार २ प्रतिशत कोष कट्टा गरी ९ अर्ब ७३ करोडभन्दा बढी रकम हाल सम्बन्धित सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको खातामा पठाइएको हो ।