• २०८१ बैशाख १५ शनिबार / Saturday, April 27

2075 सालको मेरो तिहार, 'टुकी' अनि म !!

टुकी समिक्षा : संगिता आचार्य ।

Fm Radio Link

विगतका वर्ष जस्तै केही मीठो र केही तीतो पोख्दै र समेट्दै घट्ने र बढ्ने क्रम जारी नै छ जिन्दगीको । यस्तै घटनाक्रमको साङ्लोमा जेलिएर यो वर्षको तिहार विशेषगरी भाइ टीका मेरो पनि शून्यतामा बित्यो । नमीठोलाई पनि मीठो मानेर खानु सधैँ जसो मेरो अनौठो जीवनशैलीमा पर्ने बानी भएकाले एक्लोपनलाई रमाइलो बनाउन व्यस्तता भन्दा अलि पर रहेर एकान्तको साथमा रमाउने अठोट अन्तरमनमा गर्दै केही प्रिय पुस्तकहरुलाई सानिध्यमा राखेँ ।

रोजाइमा परेका केहि पुस्तकहरुमध्ये धेरै अगाडि देखि मन छुएको एउटा कृति नै फेरि पनि मेरो पहिलो रोजाइमा पर्यो ।

आधुनिक युवा लेखक मनोज अज्ञात ज्यू र उहाँको औपन्यासिक कृति 'टुकी' । मनोज 'अज्ञात' नजिकको व्यक्तिगत चिनजान भएको नाम भने होइन तर लेखकीय दृष्टिमा यो नामसँगको चिनजान अलिकति पुरानै हो । खासगरि उहाँको औपन्यासिक कृति 'टुकी' हातमा परेपछि नै हो उहाँलाई विशेष रूपले मेरो मानसपटलले केलाएको । जन्म र कर्म क्षेत्र एवम् फरक भौगोलिक विकटताले पनि होला सबै कुरा सबै ठाँउमा सहज र परिचीत हुन नसकेको ।

 

'टुकी' (थारु) समुदायको इतिहास, संस्कृति र बर्तमान अवस्थामाथि प्रकाश पार्दै लेखिएको औपन्यासिक कृति । जसद्वारा शताब्दी अघिको पश्चिमी चितवनको स्वरुप, परिवेश एवम् बसाइँ सरी आएका पहाडिया र थारुहरुबीचको सम्बन्ध लगायतका केन्द्रिय पक्षमा उज्यालो पोखेर अहिलेका पुस्ता माझ पारम्परिकतालाई झल्काउने उल्लेख्य कार्य श्रष्ठा मनोजबाट भएको छ । उपन्यासमा थारुहरुले वर्षभरि मनाउने चाँडपर्वको एउटा फेहरिस्त नै प्रस्तुत गरिएको छ ।

'टुकी' (थारु) समुदायको इतिहास, संस्कृति र बर्तमान अवस्थामाथि प्रकाश पार्दै लेखिएको औपन्यासिक कृति ।

 

पश्चिम चितवनको थारु समुदायलाई प्रतिनिधित्व गर्ने नारी पात्रलाई प्रमुख रूपमा उभ्याएर लेखिएको 'टुकी' एउटा नारी प्रधान उपन्यास पनि हो । जसमा एउटी नारीले जन्म देखि मृत्युको पर्खाइको अवस्थासम्म पुग्दा भोगेका दु:ख सुखलाई अत्यन्त आलंकारिक र भावुक रूपमा देखाउने प्रयास कृतिकारबाट भएको छ ।

 

खासगरी मैले बाँचेको परिवेश भन्दा फरक भूगोलको बारेमा अध्ययन गर्ने मेरो व्यक्तिगत रुचीलाई पूर्णरूपमा पूरा गरिदिएकोले पनि 'टुकी' मेरो रोजाईको विशेष कृति बनेको छ । आदरणीय कृतिकार मनोज जि को यो उपन्यास अाञ्चलिकता र भौगोलिक बिबिधतामा विचरित हुँदै लेखिएको एक उत्कृष्ट औपन्यासिक कृति भएकोले म जस्तै पुस्तक प्रेमी सम्पूर्ण पाठकहरुको हातमा एकपटक पुगोस् र 'टुकी' को धिप्धिपे उज्यालोले फैलाउन खोजेको सांस्कृतिक विविधता सम्पूर्ण साहित्य जगतमा फैलियोस । यो मेरो अन्तर मनको नितान्त व्यक्तिगत कामना 'टुकी' को लागि ।

 

अन्ततः जाँदै गरेको 2075 सालको तिहार एवम् आँउदै गरेको अर्को सांस्कृतिक पर्व छठको सम्पूर्ण पुस्तक प्रेमी मनहरुमा हर्दिक शुभकामना सहित आदरणीय कृतिकार मनोज अज्ञात ज्यू लाई पनि व्यक्तिगत रूपमा उहाँको कृतिको अपार सफलताको शुभकामना दिन चाहन्छु ।

एक पल्ट सबैले पढ्नै पर्ने औपन्यासिक कृति 'टुकी' !!

प्रतिकृया दिनुहोस