• २०८१ जेठ ३ बिहीबार / Thursday, May 16

भीर पाखाका घर स्थानान्तरण गरेर एकीकृत वस्ती बनाइन्छ : प्रधानमन्त्री ओली

भीर पाखाका घर स्थानान्तरण गरेर एकीकृत वस्ती बनाइन्छ : प्रधानमन्त्री ओली

Fm Radio Link

बैशाख २१, २०७५ चितवन : प्रधानमन्त्री केपी शर्मा ओलीले भीरपाखा पखेरामा बनेका घरलाई स्थानान्तरण गरेर एकीकृत वस्ती निर्माण गर्ने दावी गरेका छन्। हाम्रो बसाई नै विकासको बाधक भएको औल्याउँदै प्रधानमन्त्री ओलीले अव वस्ती एकीकृत गरी विकास र समृद्धितर्फ अघि बढ्ने उल्लेख गरे। कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको पहिलो दीक्षान्त समारोहलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अव्यवस्थित बसोबासलाई सरकारले व्यवस्थित गर्ने बताए। प्रधानमन्त्री ओलीले भने, ‘एउटा घरबाट अर्काे घर पुग्न दुई घण्टा समय लाग्छ। एउटा गाउँ बनाउन १० वटा डाँडाको बसोबास जोड्नु पर्छ।’ यस्तो अव्यवस्थित बसोबासमा शिक्षा, स्वास्थ्य, सडक, बिजुली पुर्‍याउँन कठिन हुने ओलीको जिकिर थियो।  शुक्रबार नै काठमाडाैंबाट हेलिकोप्टरमार्फत् आउँदा भीरमा घर देखेको प्रसंग कोट्याउँदै उनले हरेक पाइला विकास, आधुनिकता र समृद्धितर्फ अगाडि बढ्ने पनि बताए। प्रधानमन्त्री ओलीले नेपालको आयात निर्यात असन्तुलन नभई ध्वस्त भएको समेत दावी गरे। ‘९३ रुपैयाँको आयात गर्छाैं, सात रुपैयाँको निर्यात गर्छाैं। यो असन्तुलन होइन,ध्वस्त भएको हो’ प्रधानमन्त्री ओलीले भने।  प्राकृतिक सम्पदाको हिसावले नेपाल धनी भएको भन्दै उनले विश्वमा कहीं नपाउने प्राकृतिक छँटा र उत्पादनहरू नेपालमा भएको बताए। नेपालको सबै धर्ती कुनै न कुनै किसिमले महत्वपूर्ण रहेको भन्दै प्रधान मन्त्रीले भने,  ‘हिमाल, पहाड र तराईको आआफ्नै महत्व छ। यी सबै बहुमूल्य छन्।’ नेपालका बहुमूल्य प्राकृतिक साधन स्रोधको अधिकतम प्रयोग गरी नेपाललाई समृद्ध बनाउनेतर्फ लाग्नुपर्ने प्रधानमन्त्री ओलीको भनाई थियो। प्रधानमन्त्रीले कृषि प्रधान देश नेपालमा कृषिमा पुरातनवादी सोच र प्रविधिका कारण विकास हुन नसकेकोले आधुनिक कृषि प्रणालीतर्फ जानुपर्ने औंल्याए। नेपाललाई अर्गानिक कृषि क्षेत्र बनाउनु पर्नेमा जाेड दिदैँ उनले भने, ‘हामीले केही वर्षभित्र नेपाललाई अर्गानिक कृषि क्षेत्र बनाउँछौं।’ सो अवसरमा प्रमुख अतिथि रहेका भारतको चौधरीचरण सिंह हरियाणा कृषि विश्वविद्यालयका उपकुलपति प्रा.डा.केपी सिंहले हातमा प्रमाणपत्र मात्रै भएर केही नहुने भएकाले ज्ञानलाई व्यवहारमा उतार्नुपर्ने पनि बताए। उनले कृषि क्षेत्रको विकासका लागि कृषि शिक्षा उपयोगी हुनेमा आफू विश्वस्त रहेको बताए।  कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले वैज्ञानिक ज्ञानको व्यापक प्रयोग गरी समृद्ध नेपाल निर्माणतर्फ अगाडि बढ्नुपर्ने बताए। विगतमा सामान्य शिक्षामा जोड दिइएको भए पनि अब सरकारले प्राविधिक शिक्षामा जोड दिने पनि बताए। सो अवसरमा विश्वविद्यालयबाट विद्यावारिधि गर्ने प्रदीपराज रोकायालाई प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति ओलीले विद्यावारिधि पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए। कार्यक्रममा २०७०/०७१ सालमा विश्वविद्यालय प्रथम हुने विद्यार्थीहरूलाई पदक तथा प्रमाणपत्रबाट सम्मान गरिएको थियो। कार्यक्रममा विश्वविद्यालयका उपकुलपति डा. ईश्वरीप्रसाद ढकालले दीक्षित हुने विद्यार्थीको प्रतिवेदन प्रस्तुत गरेका थिए। समारोहबाट ३१२ जना विद्यार्थी दीक्षित भएका छन्। कृषि विज्ञानमा स्नातकोत्तर उत्तीर्ण भएका दुई सेमेष्टरबाट १३१ जना, जैविक प्रविधि विज्ञानमा स्नातकोत्तरबाट दुईजना, पशु चिकित्सामा स्नातकोत्तरबाट २७ जना, पशु विज्ञानमा स्नातकोत्तर गरेका नाैजना, मत्स्य विज्ञानमा स्नातकोत्तर गरेका नाैजना, वन विज्ञानमा स्नातकोत्तर गरेका १० जना र विद्यावारिधि गरेका एकजना एवं कृषि विज्ञानमा स्नातक गरेका ९४ जना र वन विज्ञानमा स्नातक गरेका २९ जना विद्यार्थी दीक्षान्त समारोहमा सहभागी थिए।  विश्वविद्यालय स्थापनापछि एक जनाले विद्यावारिधि सम्पन्न गरेका छन् भने स्नातकोत्तर तहमा कृषि र भेटेरिनरी संकायबाट २/२ व्याज र वन संकायबाट एक व्याज एवं स्नातकमा कृषिबाट एक र वन संकायबाट एक व्याज उत्तीर्ण भइसकेका छन्। पशु स्वास्थ्य विज्ञान र मत्स्य विज्ञानमा स्नातक तहमा विद्यार्थी उत्तीर्ण हुन बाँकी छ। विश्वविद्यालय वि.सं. २०६७ सालमा स्थापना भएको थियो। 
Read more at: http://thahakhabar.com/news/38562

प्रतिकृया दिनुहोस