• २०८१ बैशाख १५ शनिबार / Saturday, April 27

रोशी खोलालाई प्रदूषणमुक्त बनाइने

गाउँपालिकाले सरोकारवालासँग पहिलो चरणको बैठक

Fm Radio Link

बनेपा, रोशी गाउँपालिकास्थित रोशी खोला आसपासमा क्रसर तथा ढुङ्गाखानी सञ्चालन गरेर भएको प्रदूषणलाई रोक्नका लागि गाउँपालिकाले सो क्षेत्र आसपासका उद्योगीलाई सचेत गराएको छ । 

 



बिपी राजमार्गको दायाँबायाँ पर्ने सो गाउँपालिकाको रोशी खोला छेउछाउमा सञ्चालनमा रहेका रोडाढुङ्गा र क्रसर उद्योगबाट निस्कने धुलोका कारण रोशी खोला धमिलो हुनुका साथै सुक्दै गएपछि सिँचाइ अभाव भएकाले वर्षौंदेखि त्यस आसपासका किसानले सास्ती खेप्दै आएको बताएका छन् ।

 



गाउँपालिकाले उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रायल ३ नं प्रदेशले पारित गरेको नदीजन्य पदार्थ सङ्कलन र उपयोग सम्बन्धमा व्यवस्थापन गर्न बनेको कार्यविधिअनुरुप खानीजन्य उद्योग सञ्चालन भए नभएकाबारे स्थानीय तहले नियमनकारी कार्य शुरु गर्न थालेसँगै रोशी गाउँपालिकाले उद्योगीसँग छलफल नै चलाएको छ । 

 



गाउँपालिकाले सरोकारवालासँग पहिलो चरणको बैठक गरेर कार्यविधिअनुरुपका खानी तथा क्रसर सञ्चालन गर्न सम्बन्धित पक्षलाई सचेत गराएको हो । छलफलमा रोशी गाउँपालिका तथा रोशीखोला क्षेत्रभित्र सञ्चालनमा रहेका ढुङ्गा खानी तथा क्रसर उद्योगबाट निस्कने धुलोलाई यथाशीघ्र व्यवसायीले नै व्यवस्थापन गर्नुपर्ने र रोशी खोलामा नमिसाउने र रोशी खोलालाई प्रदूषणमुक्त बनाउने निर्णय गरेको गाउँपालिका अध्यक्ष दलबहादुर लामाले बताउनुभयो । 

 

चालीस दिनभित्र क्रसर तथा खानीबाट उत्पादन भएका तथा निस्किएको धुलो सही ढङ्गले व्यवस्थापन गर्न व्यवसायीले पनि प्रतिबद्धता गरेका छन्

 



“चालीस दिनभित्र क्रसर तथा खानीबाट उत्पादन भएका तथा निस्किएको धुलो सही ढङ्गले व्यवस्थापन गर्न व्यवसायीले पनि प्रतिबद्धता गरेका छन्”, उहाँले भन्नुभयो, “त्यससँगै रोशी क्षेत्रमा वातावरणमैत्री क्रसर र खानी व्यवसाय सञ्चालन गर्ने सहमति भएको छ ।” 

 



अध्यक्ष लामाले गाउँपालिकाभित्र सञ्चालनमा रहेका विभिन्न उद्योग कानून सम्बद्ध सञ्चालन हुनुपर्ने बताउनुभएको छ । “सरकारले तोकिएको मापदण्डमा कुनै पनि कमीकमजोरी बाँकी नराखी उद्योगीले आफ्नो उद्योग चलाउनुपर्नेछ”, लामाले भन्नुभयो, “रोशी क्षेत्रमा सञ्चालनमा रहका धेरैजसो उद्योगका विषयमा गुनासो आएको, खानी र क्रसरले जनगुनासोलाई सुनुवाइ नगरेको, अव्यवस्थितरुपमा क्रसर खानी सञ्चालन गरिरहेको जनगुनासोसमेत आएका कारण त्यसमा सम्बन्धित उद्योग आफँै सचेत हुन आग्रह गर्दछु ।” 
 

 

रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद बस्यालले सरकारले बनाएको मापदण्ड सबै उद्योगी व्यवसायीले मान्नुपर्नेमा जोड दिँदै प्रदेशले पठाएको कार्यविधि सबै क्षेत्रको हितका लागि भएको र मापदण्ड नपुगेको व्यवसायीले वैकल्पिक व्यवस्थापनका लागि सोच्नुपर्ने बताउनुभयो |

 



रोशी गाउँपालिका–७ का वडा अध्यक्ष रामहरि गौतमले स्थानीय व्यवसायीले स्थानीय जनताको हितका लागि काम नगरेको र पुनःनिर्माणको काममा समेत भएको उद्योगले चाहिने सामग्रीसमेत उपलब्ध नगराएको बताउनुभयो । क्रसर व्यवसायी सङ्घ काभ्रेका अध्यक्ष भरत घिमिरेले सरकारले ल्याएको मापदण्डभित्र बसेर सञ्चालन हुने हो भने जिल्लाको सबै क्रसर उद्योग बन्द हुने बताउनुभयो । रोशी गाउँपालिकाभित्र मात्रै आठ वटा क्रसर उद्योग सञ्चालनमा रहेका छन् । 

प्रतिकृया दिनुहोस