• २०८१ बैशाख १७ सोमबार / Monday, April 29

नेकपा प्रदेश नं ५ संसदीय दलको बैठक सम्पन्न

विकास निर्माणका आयोजनामा आ–आफ्नो कार्यक्षेत्रमा प्रभावकारी

Fm Radio Link

बुटवल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ५ प्रदेशसभा संसदीय दलको बैठक आज यहाँ सम्पन्न भएको छ । 

 

प्रदेशसभा र सरकारका काम कारवाहीलाई कसरी जनतामाझ पुयाउने र कानून निर्माणका कामलाई प्रभावकारी बनाउने

 

झण्डै पाँच महीनापछि बसेको सो बैठकले प्रदेशसभा र सरकारका काम कारवाहीलाई कसरी जनतामाझ पुयाउने र कानून निर्माणका कामलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको नेकपा संसदीय दलका सचेतक भूमिश्वर ढकालले जानकारी दिनुभयो । 

 

यस्तै प्रदेशसभाअन्तर्गत रहेका विभिन्न संसदीय समितिलाई क्रियाशील बनाएर विषयगत मन्त्रालयलाई कानून निर्माणमा क्रियाशील बनाउने र प्रदेशसभा सदस्यलाई विषयगत मन्त्रालयका आवधिक योजना कार्यान्वयनमा क्रियाशील बनाउने विषयमा समेत छलफल भएको प्रमुख सचेतक ढकालले जानकारी दिनुभयो । 

 

सो अवसरमा पार्टी संसदीय दलका नेता तथा मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशमा कानून निर्माणमा चासो राखेर कस्तो कानून निर्माण गर्ने तथा प्रदेशको विकास, समृद्धि र सुशासन कायम गर्ने विषयमा ध्यान दिन संसदीय समितिलाई आग्रह गर्नुभयो । 

 

उहाँले प्रदेशसभा सदस्यले सरकारले अगाडि सारेका विकास निर्माणका आयोजनामा आ–आफ्नो कार्यक्षेत्रमा प्रभावकारी अनुगमन र निरीक्षण गरी समयमा काम सम्पन्न गर्न र गुणस्तरीयता कायम राख्नमा आवश्यक सहयोग पुयाउन विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

 

मुख्यमन्त्री पोखरेलले आ–आफ्ना मन्त्रालयको काम कारवाहीलाई प्रभावकारी बनाउन तथा कामको गतिलाई द्रुतगतिमा अघि बढाउने कुरामा ध्यान दिन मन्त्रीहरुलाई निर्देशन दिनुभएको प्रमुख सचेतक ढकालले जानकारी दिनुभयो । 

 

यसअघि बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले मन्त्रालयअन्तर्गत भएका कामको विवरण, भौतिक पूर्वाधारमन्त्री वैजनाथ चौधरीले मन्त्रालयअन्तर्गत सञ्चालित विकास निर्माणका आयोजनाको अवस्था, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले प्रदेशको समृद्धिसँग जोड्न मन्त्रालयबाट सम्पादित काम कारवाहीको अवस्था र सामाजिक विकासमन्त्री सुदर्शन बरालले शिक्षा, स्वास्थ तथा सामाजिक क्षेत्रका विषयमा मन्त्रालयको कामको विवरण प्रस्तुत गर्नुभएको थियो । 

 

यस्तै आर्थिक मामिला मन्त्रालयकोसमेत जिम्मेवारी सम्हाल्नुभएका मुख्यमन्त्री पोखरेलले बजेट कार्यान्वयन र विकास आयोजनामा कामको अवस्थाका बारेमा र कृषि, सहकारी तथा भूमि व्यवस्थामन्त्री आरती पौडेलले प्रदेशमा कृषि क्षेत्रमा लगानी बढाउने र जनतालाई सहकारीसँग जोड्न मन्त्रालयका कार्यक्रमका बारेमा विवरण प्रस्तुत गर्नुभएको सचेतक ढकालले जानकारी दिनुभयो । 

 

मन्त्रीले प्रस्तुत गरेका विवरणमा प्रदेशसभा सदस्यले मन्त्रालयगत जिज्ञासा राखेपछि सम्बन्धीत मन्त्रीले जवाफ दिनुभएको थियो । 

प्रतिकृया दिनुहोस