• २०८१ बैशाख १४ शुक्रबार / Friday, April 26

जनताको जलविद्युत् : माथिल्लो त्रिशुली थ्री बीको शेयर बिक्री सुरु

Fm Radio Link

 

काठमाडौँ, ‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली जलविद्युत्को शेयरधनी’ भन्ने नाराका साथ माथिल्लो त्रिशूली थ्री बी आयोजनाको प्रारम्भिक शेयर बिक्री आजदेखि सुरु भएको छ । 

 



नेपाली जनताको लगानीमा नै केही ठूला जलविद्युत् आयोजना निर्माण गर्ने र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने लक्ष्यका साथ सरकारले सो कार्यक्रम शुरु गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधामनमन्त्री केपी शर्मा ओलीले १० हजार कित्ता र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले एक हजार कित्ता आवेदन दिएपछि शेयर बिक्री शुरु भएको हो । 

 



आश्वा सुविधा भएका बैंक तथा वित्तीय संस्था तथा सि– आश्वामार्फत पनि शेयर आवेदन गर्न सकिने ग्लोबल आइएमइ क्यापिटलले जनाएको छ । 

 



ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले १९ वटा आयोजनालाई जनताको जलविद्युत् कार्यक्रममा समावेश गरेको छ । ती आयोजनाबाट तीन हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । कार्यक्रमको पहिलो आयोजनाको रूपमा त्रिशूली गङ्गा जलविद्युत् कम्पनीले निर्माण गरिरहेको माथिल्लो त्रिशूली थ्री बी आयोजना छनोट गरिएको हो । 

 



नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीका रूपमा त्रिशूली गङ्गा जलविद्युत् कम्पनी स्थापना गरिएको छ । कम्पनीको शेयरमा आजदेखि छिटोमा यही चैत ११ गतेसम्म र ढिलोमा आगामी वैशाख ६ गतेसम्म आवेदन दिन सकिनेछ । सरकारले गत फागुन २ गते जनताको जलविद्युत् कार्यक्रम घोषणा गरेको थियो । 

 



कूल ३७ मेगावाट क्षमताको उक्त आयोजनाको निर्माण समेत शुरु भइसकेको छ । मन्त्रालयले ४९ प्रतिशत जनताको शेयर सुनिश्चित गर्न तथा शुरुमा १० प्रतिशत शेयर दिने लक्ष्य राखेको छ । 

प्रतिकृया दिनुहोस