• २०८१ बैशाख १४ शुक्रबार / Friday, April 26

मुक्त हलिया घोषणा गरेको एक दशक बितिसक्दा पनि बाजुरामा हलिया प्रथा उन्मूलन हुन सकेन

Fm Radio Link

बाजुरा,  बाजुराको बुढीनन्दा नगरपालिका–१ पिपलडालीका ४८ घरधुरीका हलियाले सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहलाई ज्ञापन पत्र बुझाएका छन् । गाउँमा ४८ हलिया परिवार भए पनि तथ्याङ्कमा २८ परिवारले मात्र प्रमाणीकरण भई परिचयपत्र पाएकाले बाँकीलाई पनि प्रमाणीकरण गरिनुपर्ने माग राख्दै मन्त्री शाहलाई ज्ञापनपत्र बुझाएका हुन् । 

 

 

सरकारले मुक्त हलिया घोषणा गरेको एक दशक बितिसक्दा पनि बाजुरामा हलिया प्रथा उन्मूलन हुन नसकेको भन्दै मन्त्रीलाई ज्ञापनपत्र बुझाएको हलिया खाद्य अधिकार समूहका उपसंयोजक उज्जनी सार्कीले बताए । जिल्लामा रहेका हलियाले पटक–पटक गाँसबास र कपासको प्रत्याभूतिको माग गरे पनि सरकारले वास्ता नगरेको भन्दै आठ बुँदे ज्ञापनपत्र बुझाएको शेरबहादुर सार्कीले बताएका छन् । 

 

 

हलियालाई पुनःस्थापनाको कार्यक्रम ल्याउनुपर्ने, घरसँगै न्यूनतम पाँच कठ्ठा जग्गाको व्यवस्थापन हुनुपर्ने, सरकारसँग भएको पाँच बुँदे सबै सम्झौता कार्यान्वयन हुनुपर्ने माग ज्ञापनपत्रमा उल्लेख गरेको छ । त्यस्तै प्रमाणीकरणमा छुटेका पिपलडालीका २० हलिया परिवारलाई प्रमाणीकरण गरी परिचयपत्र दिनुपर्ने, खाद्यको प्रत्याभूतिसँगै रोजगारीको पहल गर्नुपर्ने, मुक्तिपछि आफूहरुमा परेका समस्याको समाधान गनुपर्ने लगायतका माग ज्ञापनपत्रमा राखेका छन् । 

 

 

ज्ञापनपत्र बुझ्दै सुदूरपश्चिम प्रदेश कानूनमन्त्री शाहले हलियाका विषयमा प्रदेश सरकारका मुख्यमन्त्री र प्रदेशसभामा समेत यो कुरा राख्ने बताए । हलिया मुक्ति आन्दोलन पश्चात नेपाल सरकारले विसं २०६५ भदौ २१ गते हलिया मुक्तिको घोषणा गरेकाे थियो । हलिया समुदायको खाद्य अधिकारको सवालका बारेमा फियान नेपाल नामक गैरसरकारी संस्थाले समेत बाजुरामा काम गर्दै आएको छ ।

 

 

 

प्रतिकृया दिनुहोस