• २०८१ बैशाख १८ मंगलबार / Tuesday, April 30

खानेपानी संस्थानले वितरण गर्ने पानीमै कोलिफर्म 

Fm Radio Link

पोखरा, केही दिन अघि फेवातालको पानी छुनलाई समेत सावधानी अपनाउनुपर्ने समाचार आइरहेका बेला पोखराका घरघरका धारामा समेत कोलिफर्मयुक्त पानी आइरहेको खुलासा भएको छ । पोखराबासीले प्रयोग गर्ने खानेपानी संस्थानले वितरण गर्ने खानेपानीमा दिसामा पाइने कोलीफर्म ब्याक्टेरिया भेटिएको हो ।

 

संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना पोखराको ल्यावमा गरिएको परिक्षणमा कोलिफर्मको मात्रा ८१ देखिएको छ । त्यस्तै कुहिने बस्तुबाट बन्ने ब्याक्टेरिया इकोली समेत ५६ को मात्रामा भेटिएको छ ।उक्त पानी पिउन योग्य नहुने प्राविधिकहरुको भनाई छ । पोखरामा मर्दी खोलाको पानी विना शुद्धीकरण वितरण हुँदै आएको छ । पानीको मुहानभन्दा माथि बस्ती रहेको, पशु चौपाया समेत मुहानभन्दा माथितिर छाडिने हुँदा पानी दुसित हुन पुगेको हो ।

 

यसअघि पनि पानी दुसित भएको भन्दै आवाज उठ्ने गरेपनि सो को सुनुवाई हुन सकेको छैन् । जापानी सहयोग नियोग जाइकाले पोखरामा खानेपानी शुद्धीकरण सहित वितरण गर्ने आयोजनाका लागि काम गरिरहेको छ । साढे ४ अर्वको लागतमा खानेपानी आयोजना निर्माणका लागि सम्झौता भएको छ । जाइकाले पानीको मुहानमा ड्याम बनाएपछिको भागमा पाइप विस्तार र शुद्धीकरणमा उक्त रकम खर्च गर्दैछ ।

 

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका प्रमुख प्रशान्त पोखरेलका अनुसार कोलिफर्मको परिक्षण अन्य रोग लाग्न सक्ने संभावना छ कि छैन भनेर जाच्ने गरिन्छ । उहाँका अनुसार पानीमा कोलिफर्म भेटिएमा अन्य रोगका किटाणु हुने संभावना बढी हुन्छ । नेपाल सरकारले बोत्तल या जारमा उपलब्ध हुने पिउने पानीका लागि मापदण्ड बनाएको र सोही अनुसार अनुगमन हुने गरेको पोखरेलले जानकारी दिए ।

 

नेपाल बोटल वाटर उद्योग संघ, गण्डकी प्रदेशका अध्यक्ष यदुनाथ अधिकारीले पोखरा आउने खानेपानीको मुहान नै बस्तीभन्दा माथि सार्नुपर्ने बताउछन् । उनका अनुसार पानीको मुहान वरपरका मावनवस्ती, पशु चौपायाको विभिन्न फोहोर पोखरा आउने पानीको मुहानमा पुग्ने गर्दछ । शुद्ध पानी पिउन पाउने नागरिकको नैसर्गिक अधिकार भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने उनको सुझाव रहेको छ । पानीको श्रोत खोजेर भएपनि शुद्ध पानी उपलब्ध गराउने तर्फ लाग्नुपर्ने उनको भनाइ छ ।

 

विद्यालयमा अध्ययन गर्ने विद्यार्थी र सामान्य नागरिकले पानी शुद्धीकरण नगरी पिउने हुनाले यसले स्वास्थ्यमा गम्भीर असर पार्ने तर्फ सचेत हुन जरुरी छ । फेवातालको पानीमा केमिकल, फिजिकल, बाइलोजिकल टेष्ट गर्दा अत्याधिक दुसित भेटिएको थियो ।

प्रतिकृया दिनुहोस