• २०८१ बैशाख १४ शुक्रबार / Friday, April 26

 धनगढी चक्रपथ सडक एक महिनामै यसरी  भत्कियो (भिडियो रिपोर्ट सहित )

Fm Radio Link

धनगढी, कैलालीको धनगढी उप–महानगरपालिकामा चक्रपथ सडक निर्माण सम्पन्न भएको एक महिना नपुग्दै भत्किन थालेको छ । सघन सहरी विकास कार्यक्रमअन्तर्गते ४२ किलोमिटर चक्रपथ निर्माण भएको छ । तर निर्माण सम्पन्न भएको महिना नबित्दै धनगढी उपमहानगरपालिका–३ मा पर्ने भन्सार देखी राजपुर सम्मको ८ दशमलव ९ किलोमिटर सडक भत्किएको छ ।

 सडकको कालोपत्रे कतिपय ठाउँमा भत्किएको र दबिएको छ भने केही ठाउँमा चर्किएको छ । जबकि उक्त सडकमा अहिले सम्म धेरै गाडिनै गुडेका छैनन् । धेरै ठाउँमा यस्तो भएको जनगुनासो पछि निर्माण कम्पनीले टाला हाल्ने काम सुरु गरेको छ । निर्माण कम्पनीले कमसल सामाग्रीको प्रयोग गरेका कारण सडक यति चाँडै भत्एिको स्थानीयको आरोप छ ।


२९ करोडको लागतमा निर्माण सम्पन्न भएको धनगढीको चक्रपथ सडक १ महिना नबित्दै भत्किएको स्थानीय हरिस ठगुन्नाले बताए । उनले भने सघन सहरी विकास कार्यक्रमअन्तर्गत निर्माण भएको ४२ किलोमिटर सडकमध्ये भन्सार देखी राजपुर सम्मको ८ दशमलव ९ किलोमिटर सडक भत्किएको छ  । 
ठेकेदार कम्पनीले कमसल सामानको प्रयोग गरी लापरबाही गरेका कारण सडक भत्किएको उनको आरोप छ । 
असारको झरीमा हतारमा सडकको काम गर्दा विकासका नाममा ब्रह्मलुट र विनाश मात्र भएको स्थानीय नरेन्द्रराज जोशीको भनाई छ । उनले भने १० करोडको  लागतमा निर्माण भएको भन्सार देखी राजपुरको सडक सडकको बिच–बिचमा तथा नाला किनारमा कालोपत्रे दबिने र भत्किने गरेको छ । निर्माण सम्पन्न भएको केही दिनमै सडक भत्किने यो कस्तो विकास हो रु उनले प्रश्न गरे ।


केएस कन्ट्रक्सन, लुम्बिनी कन्ट्रक्सन र जेबी राजेन्द्र निर्माण सेवाले २०७४ साल असार ९ गते दुई वर्षभित्र सडक निर्माण सम्पन्न गर्ने गरी संयुक्त रूपमा ठेक्का लिएका थिए । ८ दशमलव ९ किलोमिटर सडक बनाउन प्रतिकिलोमिटर एक करोड दुई लाख रुपैयाँका दरले ठेक्का सम्झौता भएको थियो। सम्झौता बमोजिमको अवधिमा काम सम्पन्न भए पनि गुणस्तरहीन हुँदा एक महिना पूरा नहुँदै सडक ठाउँठाउँमा भत्कने, दबिने तथा चिरा पर्न थालेको छ । 


सडक निर्माणका क्रममा केही त्रुटि भएको निर्माण कम्पनीले पनि स्वीकार गरेको छ । भत्किएको सडक मर्मत गर्ने काम भइरहेको निर्माण कम्पनी प्रतिनिधि सुरेन्द्र बहादुर पालले बताए । उनले भने सडक निर्माणका क्रममा केही त्रुटि भएको हुन सक्छ हामी सच्चाउँछौ ।


अन्य सडकको तुलनामा चक्रपथ ठुला सवारी गुड्न सक्ने मापदण्डअनुसारको बनाइएको सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीका इन्जिनियर दिनेश श्रेष्ठले दाबी गरे ।तर सडक धेरै गाडिनै नगडदै एक महिनामै भत्किन थालेपछि आयोजना तथा ठेकेदार कम्पनी माथिनै प्रश्न चिन्ह खडा भएको उनले बताए ।  ‘भत्केर बिग्रेको ठाउँमा निर्माण व्यवसायीबाट नै पुनर्निर्माण गराइने उनको भनाई छ । निर्माण कम्पनीले भत्के÷बिग्रेको सडक निर्माण नगरेमा धरौटी रकम जफत गरिने उनको दाबी छ ।


घर आँगन भएर कालोपत्रे चक्रपथ बन्ने भएपछि हांैसिएका स्थानीयहरू सडक एक महिनामै भत्किन थालेपछी निराश भएका छन् । कमिसनको खेलका कारण गुणस्तरहीन काम भएको उनीहरूको आरोप छ । अनुगमन र कारबाही गर्ने निकाय पनि कमिसनको मोहमा पर्दा गुणस्तरहीन काम भइरहेको उनीहरूले बताए ।

 

प्रतिकृया दिनुहोस