• २०८१ बैशाख १५ शनिबार / Saturday, April 27

स्मिता अधिकारी मीना सिर्जनशील पत्रकारिता पुरस्कारबाट सम्मानित

Fm Radio Link

पोखरा ।

पत्रकार स्मीता अधिकारी मीना सिर्जनशील समावेशी पत्रकारिता पुरस्कार–२०७६ बाट सम्मानित भएकी छिन् । गण्डकी प्रदेश सांसद मीना गुरुङद्वारा स्थापित तथा नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा संचालित उक्त पुरस्कार शुक्रबार पत्रकार अधिकारीलाई प्रदान गरिएको हो ।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले उक्त पुरस्कार हस्तान्तरण गरेका हुन् । पुरस्कार राशि २० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ । हाल दी राइजिङ नेपालका लागि पोखरा संवाददाता उनी संचारिक समूह गण्डकी अध्यक्ष हुन् । पोखरा ३१ की स्थायी वासिन्दा उनी डेढ दशकदेखि पत्रकारितामा क्रियाशील छन् ।

कार्यक्रममा वोल्दै मन्त्री चुमानले आमसंचार विधेयक ल्याउन लागेको जानकारी दिए । संघीय लोकतान्त्रिक गणतन्त्रको अनुभूति गाउँबस्तीसम्म पुर्याउन पत्रकारको महत्वपूर्ण भूमिका रहने बताउदै मन्त्री चुमानले समाज परिवर्तन गराउन प्रेस जगतलाई निरन्तर लाग्न आग्रह गरे । सांसद मीना गुरुङले आफू उद्यम र संचार कर्मबाट आएको स्मरण गर्दै समाजमा सूचना प्रवाहमा दिनहुँ क्रियाशील पत्रकारको योगदानको सम्मान गर्दै पुरस्कार स्थापना गरेको बताइन् । उनले आगामी दिनमा पुरस्कारको अक्षयकोषमा राशि वृद्धि गर्ने घोषणा गरिन् ।

कार्यक्रममा पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष त्रिभुवन पौडेल, कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसी, नेपाल प्रेस युनियन कास्की अध्यक्ष नवीन सिग्देल, जिल्ला समन्वय समिति कास्की अध्यक्ष वैनबहादुर क्षेत्री, लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्ष बलराम ढकाल, राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल अध्यक्ष सुमन गुरुङ, प्रतिभा छनोट समिति संयोजक दुर्गा भण्डारी लगायतले वडा दशैंको शुभकामना दिदै पत्रकारिताको चर्चा गरेका थिए । पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संचालन सचिव रामप्रसाद तिमिल्सिना र धन्यवाद ज्ञापन उपाध्यक्ष बिमला भण्डारीले गरेकी थिइन् । यसअघि सो पुरस्कार पत्रकार दुर्गा भण्डारी, दीपक परियार, शान्ति गुरुङ, खेम सारु सम्मानित भैसकेका छन् ।

सो अवसरमा गजेन्द्र भण्डारी स्मृति सिर्जनशील पत्रकारिता पुरस्कारको अक्षयकोषको लागि संस्थापक सरस्वती भण्डारीले १ लाख रुपैयाँको चेक पत्रकार महासंघ अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई हस्तान्तरण गरिन् । सुरुमा १ लाख अक्षयकोष रहेकोमा हाल बढाएर ४ लाख पुर्याइएको छ । वर्षेनी वितरण गरिने सो पुरस्कार राशि २५ हजार रुपैयाँ र सम्मानपत्र छ ।
 

प्रतिकृया दिनुहोस