• २०८१ बैशाख १६ आइतबार / Sunday, April 28

अर्घाखाँची दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ पुग्यो 

Fm Radio Link

काठमाडौं, अर्घाखाँचीको नरपानीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट बुटवलतर्फ गइरहेको लु २ ख २१४८ नम्बरको बस हिजो अपरान्ह दुर्घटनामा पर्दा १७ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो । 

 

मृत्यु हुनेमा बसका धनी, चालकसँगै सात महिला र १२ पुरुष रहेका छन् । बस सडकबाट करिब अढाई सय मिटर तल खसेर दुर्घटना भएको हो । घाइतेमध्ये भूमिस्थान नगरपालिका–९ का २३ वर्षीय शैलेश थापाको ठाडा प्राथमिक उपचार केन्द्र र बसधनी शीतगंगा नगरपालिका–२ का ३५ वर्षीय सन्तबहादुर बस्नेतको बुटवलको चौराहा अस्पताल पु¥याएपछि निधन भएको हो । १३ घाइतेमध्ये ११ जनालाई बुटवल पठाइएकोमा एकजनाको अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

 

मृत्यु हुनेमा बसका चालक कपिलवस्तुको बुद्धभूमिका ३० वर्षीय ओमबहादुर थापा, सन्धिखर्क–७ का ५७ वर्षीय शिवलाल भट्टराई, ५० वर्षीय बलराम भट्टराई, २२ वर्षीया माया पुरी, ८ वर्षीया मोनिका खड्का, गुल्मी धुर्कोटका २८ वर्षीय राजकुमार महत र बसधनी बस्नेतकी भाइबुहारी शीतगंगा–२ की ३० वर्षीया सीता बस्नेतसँगै नौ जनाको सनाखत भएको प्रहरीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए अनुसार जङ्गल र खोल्सामा छरिएका शवमध्ये केही रूखमा अड्किएको अवस्थामा भेटिएका हुन् ।

 

घाइते र शव फेला पारेर उद्धार गर्न ३४ जनाको सङ्ख्यामा पुगेको सुरक्षाकर्मीको टोलीलाई करिब चार घण्टा लागेको थियो ।

प्रतिकृया दिनुहोस