• २०८१ बैशाख १७ सोमबार / Monday, April 29

बाढीका कारण गत २४ घण्टामा ६ जिल्लामा ७ जनाको मृत्यु

Fm Radio Link

काठमाडौँ, लगातारको वर्षापछि झरेको पहिरो, बाढीका कारण गत २४ घण्टामा ६ जिल्लामा ७ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा पहिरोबाट दार्चुलामा दुई जना, तनहुमा दुई जना र काठमाण्डौँको कागेशवरी मनोहरामा एक जना, तेह्रथुममा एक गरी पहिरो र बाढीमा परी ७ जनाको मृत्यु भएको गृह मन्त्रालय मातहतको आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

 

केन्द्रका अनुसार अहिलेसम्म गोरखामा एक जना र धादिङमा एक जना गरी दुइ जना वेपत्ता भएका छन् । अहिलेसम्म मुलकुभरका बिभिन्न राजमार्गमा १५ भन्दा धेरै ठाउँमा पहिरो र बाढीका कारण आवतजावत बन्द रहेको केन्द्रका प्रमुख मुरारी वस्तीले सीआइएनसँग बताउनुभयो । 

 


सडक विभागका अनुसार विभिन्न खोला र नदीमा बनेका विभिन्न पुलहरूमा पनि लगातारको वर्षापछिको बाढीले क्षति पुगेको छ । सडकहरूमा जताततै पहिरो खस्ने र नदीले कटान गर्ने क्रम बढेपछि सडक विभागले अत्यावश्यक काममाबाहेक राजमार्ग भएर यात्रा नगर्न अनुरोध गरेको छ । विभागका महानिर्देशक केशवकुमार शर्माले देशभरका सडकहरूमा पहिरो जाने, भासिने र नदीले कटान गर्ने समस्या देखिएको सीआईएनसँग बताउनुभयो ।

 

विभागले देशभर १ सय ९८ वटा मेसिन परिचालन गरेर सडक खुलाउने प्रयास भने गरिरहेको छ । सडक विभागका अनुसार काठमाडौं भित्रिने र बाहिरिने पृथ्वी राजमार्गको चितवन र धादिङ सीमानामा रहेको मोवाखोला पुलको छेउबाट खोलाले सडक कटान गरेको छ । पुल जोड्ने सडक नै कटान गरेर नदी बगेकाले त्यसलाई पुरानो अवस्थामा फर्काएर सडक मर्मतको काम गर्न समस्या भएको छ ।

 

नारायणगढ–मुग्लिन सडकको चारकिलो, कालीखोलामा पहिरो खस्दा सवारी आवागमन अवरुद्ध भएको छ । पुर्व पश्चिम राजमार्ग पनि ठाउँ, ठाउँमा अबरुद्ध भएको छ । महानिर्देशक शर्माका अनुसार मुग्लिन–नारायणगढ खण्डको कालीखोलामा पनि पहिरो खसिरहेको छ । विभागले नौबिसेबाट कृष्णभीरसम्मको बाटोका साना पहिरोहरु हटाएको छ ।

 

तर, त्यसभन्दा अघिको बाटोको पहिरो आज बिहानबाट हटाउन थालिएको छ । विभागका अनुसार त्रिभुवन राजपथमा भने ठूला पहिरो खसेका छैनन् । तीब्तको खासास्थित केरुङ छ्यो ताल फुट्ने अवस्थामा पुगेपछि सिन्धुपाल्चोकको भोटेकोशी आसपासका क्षेत्रमा सतर्कता अपनाउने स्थानीय प्रशासनले अनुरोध गरेको छ । 

प्रतिकृया दिनुहोस