२०८१ जेठ ७ सोमबार Monday, May 20

ताजा अपडेट :

धनगढी विष्फोटमा एकको मृत्यु, ४ जना घाइते

image

कैलाली, हिजो साँझ धनगढीमा भएको बम विष्फोटमा परी घाइते भएका मध्ये एकजनाको मृत्यु भएको छ । घाइते ५ मध्ये रामबहादुर सिंहको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

 

प्रहरीका अनुसार माया मेट्रो अस्पतालमा उपचारका क्रममा सिंहको गएराति मृत्यु भएको हो । बझाङको जयपृथ्वी नगरपालिका वडा न–१ पिमी घर भई हाल कञ्चनपुर बेल्डाँडी बसिरहेका सिंह नेकपा विप्लवका जिल्ला सदस्य रहेको बुझिएको छ ।

 

धनगढीको चटकपुरमा रहेको सहिदगेट नजिकैको मिलन होटलमा हिजो साँझ ७ बजेतिर भएको विष्फोटमा परी कञ्चनपुरको बेलडाँडीका लक्ष्मण सेरेला, होटल छेउमै ग्यारेज गरी बसेका भारतको लखिमपुर जिल्लाका मोबिन खान, धनगढी उपमहानगरपालिका–४ का जितेन्द्र यादव र होटल मालिक केशवराज पाण्डे घाइते भएका छन् । प्रत्यक्षदर्शी होटल सञ्चालक पाण्डेका अनुसार रामबहादुर सिंहको झोलामा भएको वस्तु विष्फोट भएको थियो ।

 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरीले पनि रामबहादुर सिंहले बोकेको झोलामै राखेको वस्तु विष्फोट भएको बताउनुभएको छ । सिंह होटलभित्र पसेर बेञ्चमा बस्ने बित्तिकै विष्फोट भएको थियो ।

 

प्रहरी उपरीक्षक गिरीले विष्फोटमा स्टीलको टिफिनका टुक्रा भेटिनुका साथै एक थान पेस्तोल र से ७ प ३१४४  नम्बरको मोटर साइकल प्रहरीले नियन्त्रणमा लिइएको जानकारी दिनुभएको छ ।