२०८१ बैशाख २७ बिहीबार Thursday, May 09

ताजा अपडेट :

टीकापुरमा सुरक्षा सतर्कता, चार दिन मदिरा निषेध

image

कैलाली , जिल्ला सुरक्षा समिति कैलालीले सुरक्षा सतर्कता बढाएको छ । यही भदौ ७ गतेदेखि ९ गतेसम्म टीकापुरमा हुन लागेको थरुहट/थारुवान राष्ट्रिय सम्मलेनलाई मध्येनजर गर्दै टीकापुरको सुरक्षा व्यवस्था कडा बनाइएको हो ।

 

बुधबार धनगढीमा बसेको जिल्ला सुरक्षा समितिको बैठकका निर्णयहरु हिजो इलाका प्रशासन कार्यालय टीकापुरले आयोजक, स्थानीय राजनीतिक दल, पत्रकारका बीचमा सार्वजनिक गरेको हो । निर्णय सार्वजनिक गर्दै इलाका प्रशासन कार्यालयका प्रमुख उपसचिव हिरालाल चौधरीले भदौ ६ गतेदेखि ९ गतेसम्म टीकापुरमा मदिरा सेवन, विक्रीवितरण, ओसारपसार पूर्ण रुपमा निषेध गरिने जानकारी दिनुभयो ।

 

यस्तै कार्यक्रमका सहभागीलाई परिचय खुल्ने प्रवेश पासको व्यवस्था गरी कार्यक्रम स्थलमा प्रवेश गराउने, शान्ति सुरक्षामा असर पर्ने गरी नारा जुलुश, वक्तव्य, सम्वोधन गर्न नहुने र लाठी घरेलु हतियार बोक्न, प्रदर्शन गर्न र प्रयोग नगर्ने र गरेको पाइए त्यसमा संलग्न व्यक्तिलाई कानून बमोजिम कारवाही गर्ने निर्णय गरिएको जानकारी गराउनु भयो ।

 

स्थानीय राजनीतिक दल र आयोजकले स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्ने र अप्ठ्यारो परिस्थितिआइ शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकायले सुरक्षाका सबै उपायहरु अवलम्वन गर्ने निर्णय गरिएको चौधरीले जानकारी दिनु भयो ।  प्रहरी नायव परीक्षक मनोहरप्रसाद भट्टले कार्यक्रमलाई व्यवस्थित बनाउन स्वयंसेवकसंग प्रहरी नजिक रहेर काम गरिरहेको जानकारी दिनुभयो ।

 

थरुहट/थारुवान राष्ट्रिय सम्मलेन समितिका संयोजक मीनराज चौधरीले कार्यक्रममा दश हजार जतिलाई प्रवेश पासको व्यवस्था गरिएको, हातमा फूल लिएर आउन भनिएकोले कार्यक्रमलाई शान्तिपूर्ण बनाउन हरसंभव प्रयास गरिएको बताउनु भयो । आयोजक समितिका सदस्य माधव चौधरीले  सहभागीलाई प्रवेश पास दिइने तर व्यक्तिको परिचय खुलाउन नसकिने बताउनु भयो ।

 

उहॉले आयोजकले तयार गरेका पास भन्दा बढी मानिस आएमा र अतिथि वक्ताहरुले बोल्ने कुरामा आयोजकले रोक्न नसकिने बताउनु भयो । २०७२ साल भदौ ७ मा वरिष्ठ प्रहरी उपरीक्षकसहित ८ जना प्रहरी र एक नावलकको ज्यान गएको र भदौ ८ गते उत्तेजित भीडले केही थारु अगुवाका घरमा आगजनी गरेको दुःखद् घटनापछि खल्बलिएको सामाजिक सद्भाव फर्काउन र थरुहट÷थारुवान आन्दोलनलाई अगाडि बढाउन सम्मेलन गर्न लागिएको आयोजकले बताउदै आएका छन् ।

 

कार्यक्रममा समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र अन्य दलका प्रतिनिधिहरु सम्वोधन गर्न आउने बताइएको छ ।