धनगढी , सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिकामा विगत केही दिनदेखि उत्पन्न तनावग्रस्त स्थिति र त्यस क्रममा राज्य पक्षबाट भएको अत्यधिक बल प्रयोगको घटनाप्रति नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। एमालेका महासचिव शंकर पोखरेलद्वारा जारी प्रेस वक्तव्यमा राज्य संयन्त्रको अशान्त र गैरजिम्मेवार व्यवहारका कारण स्थानीय युवा ओमप्रकाश मेहताको गोली लागेर अकालमा दुःखाद निधन भएको र अन्य कैयौँ सर्वसाधारण नागरिकहरू गम्भीर घाइते भएको उल्लेख गर्दै घटनाको तीव्र भर्त्सना गरिएको छ। महासचिव पोखरेलले जारी गरेको वक्तव्यमा नागरिकको जिउधनको सुरक्षा गर्ने र मुलुकमा शान्ति-सुरक्षा कायम गर्ने प्राथमिक जिम्मेवारी बोकेको सरकार तथा स्थानीय प्रशासन यस्तो संवेदनशील विषयमा चरम गैरजिम्मेवार, उदासीन र दिशाहीन देखिएको आरोप लगाइएको छ। विवाद समाधानका लागि सार्थक संवाद र समन्वयको पहल गर्नुको साटो राज्य संयन्त्रबाट अनावश्यक बल प्रयोग गर्ने, तुजुक देखाउने र त्रासको वातावरण सिर्जना गर्ने कार्यले परिस्थितिलाई थप उत्तेजित र जटिल बनाएको एमालेको निष्कर्ष छ।
पार्टीले घटनामा परी अकालमा ज्यान गुमाएका देवानगञ्जका स्थानीय युवा स्वर्गीय ओमप्रकाश मेहताप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गम्भीर समवेदना व्यक्त गरेको छ। साथै, झडप र प्रहरी कारबाहीमा परी घाइते भएका सम्पूर्ण नागरिकहरूको अविलम्ब, प्रभावकारी र पूर्ण निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग जोडदार माग गरिएको छ। घटनालाई गम्भीरतापूर्वक लिँदै एमालेले पीडित परिवारलाई उचित राहत एवं क्षतिपूर्ति प्रदान गर्न र घटनाको निष्पक्ष एवम् उच्चस्तरीय छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ। राज्यलाई आफ्नो दमनकारी रवैया तत्काल रोकेर संयमताका साथ समस्याको दीर्घकालीन र शान्तिपूर्ण समाधान खोज्न समेत आग्रह गरिएको छ। मुलुकको राष्ट्रिय एकता, भाइचारा र सामाजिक सद्भाव नै प्रमुख सामर्थ्य भएको उल्लेख गर्दै एमालेले यस विषम र संवेदनशील घडीमा देवानगञ्ज र सिङ्गो सुनसरी क्षेत्रका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई कुनै पनि प्रकारको अफवाहमा नलाग्न अपिल गरेको छ। साथै, वर्षौँदेखि कायम रहँदै आएको धार्मिक, सामाजिक र जातीय सद्भाव एवं आपसी एकतालाई अक्षुण्ण राख्नका लागि एमालेले सबै पक्षसँग हार्दिक आह्वान गरेको छ।