बझाङ, बझाङ जिल्ला अस्पतालको फार्मेसी काउन्टरबाट रकम चोरी गरी फरार भएका एक युवकलाई प्रहरीले गएराति नगदसहित पक्राउ गरेको छ। जयपृथ्वी नगरपालिका–९ रिठापाठा बस्ने करिब २७ वर्षका हिमाल खड्कालाई प्रहरीले १२ हजार ४ सय ४० रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको हो। जिल्ला अस्पताल बझाङको फार्मेसी काउन्टरबाट साउन १२ गते राति अ. २२ः३० बजेको समयमा रकम चोरी भएको थियो। घटनालगत्तै अस्पतालमा खटिएका प्रहरी जवानले जिल्ला प्रहरी कार्यालय बझाङमा खबर गरेका थिए। घटनाको जानकारी पाउनासाथ प्रहरी वरिष्ठ नायव निरीक्षक (प्रबनानि) गोकुल बलायरको कमाण्डमा सिभिल प्रहरीसहित ९ जनाको टोली परिचालन गरिएको थियो। प्रहरी टोलीले खोजतलास गर्ने क्रममा आज साउन १३ गते ००ः३० बजेको समयमा खड्कालाई उनकै घरबाट चोरीएको रकमसहित नियन्त्रणमा लिएको हो। पक्राउ परेका खड्कामाथि चोरी सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।