बढुवा टुंगिए पनि पदस्थापन अनिश्चित, स्वास्थ्य मन्त्रालयमाथि आलटालको आरोप
जनकपुरधाम ,१४ असोज
मधेश प्रदेशको स्वास्थ्य सेवाअन्तर्गत एघारौँ तहमा बढुवा भएको महिनौँ बितिसक्दा पनि डा. नवलकिशोर झाको पदस्थापना हुनसकेको छैन ।पदस्थापनाका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरिसकेको भए पनि मन्त्रालयले मन्त्रिपरिषद्कै अधिकार भएको भन्दै प्रक्रिया अघि बढाउन आलटालमै अल्मलाएको पाइएको छ । भदौ ५ गते नै डा. झालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको बढुवा समितिले स्वास्थ्य सेवाको हेल्थ इन्सपेक्सन समूहको एघारौँ तहमा बढुवा गरेको थियो । बढुवा भएको ४० दिन बितिसक्दा पनि उनी हालसम्म पदस्थापन भएका छैनन् ।
भदौ २६ गते उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा मातहतको रिक्त पदमा पदस्थापन गर्ने निर्णय मन्त्रिपरिषद्बाट समेत भएको थियो । निर्णय कार्यान्वयन गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भदौ २९ गते नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको थियो । पत्रमार्फत डा. झालाई निर्णयअनुसार पदस्थापन गर्न भनिए पनि स्वास्थ्य मन्त्रालयले भने एघारौँ तहको पदस्थापन मन्त्रिपरिषद्को अधिकार क्षेत्रभित्र पर्ने भन्दै प्रक्रिया अघि बढाउन आनाकानी गरेको देखिएको छ । नेपाल प्रेससँग कुराकानी गर्दै डा। झाले आफ्नो बढुवा भएको ४० दिन भइसक्दा पनि पदस्थापना हुन नसकेको गुनासो गरे । मन्त्रालयले मन्त्रिपरिषद्को अधिकार रहेको भन्दै आफूलाई जवाफ दिएको उनले बताए । उनले भदौ २६ गते मन्त्रिपरिषद्ले समेत निर्णय गरिसकेकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालयमा आफ्नो पदस्थापना हुनुपर्ने बताए । ‘तर ४० औँ दिनसम्म म पदस्थापनाकै लागि दौडधुप गरिरहेको छु,’ उनले भने ।
यता, प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रमोदकुमार यादवले डा. झाको पदस्थापनका विषयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग परामर्श भइरहेको बताए । उनले यस्तो अधिकार मन्त्रिपरिषद्कै रहेको भन्दै आफू समन्वयमा लागि रहेको प्रतिक्रिया दिए । उनका अनुसार प्रदेश निजामती सेवा ऐनअनुसार एघारौँ तहको पदस्थापन मन्त्रिपरिषद्को निर्णयका आधारमा हुने भएकाले निर्णय कार्यान्वयनका लागि मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग समन्वय गरिरहेको छ । तर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भने डा. झालाई कुन निकायमा पदस्थापन गर्ने भन्ने विषय सम्बन्धित मन्त्रालयले नै पहिचान गरी प्रक्रिया अघि बढाउनुपर्ने जनाएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी सचिव पार्वती शर्माका अनुसार डा. झा बढुवा भएको सेवा–समूह र सोअनुसारको दरबन्दीबारे सम्बन्धित मन्त्रालयलाई विस्तृत जानकारी हुन्छ । त्यसैले मन्त्रिपरिषद्को निर्णयअनुसार उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा मातहतका निकायमा पदस्थापन गर्न भनिएको उनले बताइन् ।मन्त्रालयले सोहीअनुसार पदस्थापनको प्रक्रिया अघि बढाउन नसके मन्त्रालयसँग समन्वय गरी मन्त्रिपरिषद्बाटै डा. झालाई कुन निकायमा पदस्थापन गर्ने भन्ने विषयमा निर्णय गरिने शर्माले बताइन् । जिम्मेवारी सम्बन्धित मन्त्रालयलाई दिइसकेको उनले नेपाल प्रेससँग प्रतिक्रिया दिइन् ।
स्वास्थ्य निर्देशनालयको निर्देशक पद स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूहको एघारौँ तहको दरबन्दी हो । डा. झा पनि सोही समूहमा एघारौँ तहमा बढुवा भएपछि पछिल्लो लामो समयदेखि भनसुन र अन्य सेवाका कर्मचारीलाई समेत यो पदमा छिराउने परम्पराको अन्त्य हुने देखिएको छ ।
मधेश प्रदेश लोक सेवा आयोगका प्रकाशित विज्ञापन तथा सूचनाहरूमा स्वास्थ्य सेवाका एघारौँ तहका पदहरू सेवा–समूहअनुसार छुट्टाछुट्टै कायम रहेको देखिन्छ । हेल्थ इन्सपेक्सनलगायत स्वास्थ्य सेवाका विभिन्न समूहका पद छुट्टाछुट्टै रहेकाले एघारौँ तह एउटै हुँदैमा सबै समूह एउटै पदमा परिणत हुने अवस्था छैन । यसअघि स्वास्थ्य निर्देशनालयको निर्देशक पद स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूहको एघारौँ तहको दरबन्दी भए पनि स्वास्थ्य शिक्षा समूहका एघारौँ तहका अधिकृत सरोजचन्द्र न्यौपानेलाई निर्देशकको जिम्मेवारी दिइएको थियो । न्यौपाने अहिले पदाधिकार रहेको प्रदेश स्वास्थ्य तालिम केन्द्रमा फिर्ता भएका छन् ।