Saturday, October 10

Latest Update :

पशुपति मन्दिर प्रकरण स् पक्राउ परेका जोडीले दशैं जेलमै बिताउनुपर्ने सम्भावना

image

काठमाडौं ,२३असोज

नियमविपरित पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा पक्राउ परेको मुस्लिम जोडीले यसपालिको दशैँ प्रहरी हिरासतमै बिताउने सम्भावना बढेको छ । गत साता पशुपतिनाथ मन्दिरमा टिकटक बनाएर घर फर्किएका इटहरी उपमहानगरपालिका–८ का ३१ वर्षीय आसिम अन्सारी र उनकी पत्नी ३१ वर्षीया प्रियंका परियारलाई प्रहरीले इटहरीस्थित रङ्गशालाबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो ।उनीहरूविरुद्ध मुलुकी अपराध संहिताको दफा १५६ बमोजिम धार्मिक आस्थामा आघात पुर्‍याएको कसुरमा म्याद थप भएर अनुसन्धान अगाडि बढेको काठमाडौं प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाले बताए ।

 

उनीहरूमाथि कानुनी कारवाहीको माग गर्दै पशुपति क्षेत्र विकास कोषले प्रहरी वृत्त गौशालामा जाहेरी दिएको थियो । उक्त जोडीको पहिलो पटक ७ दिनको म्याद थपिएकोमा आज पाँचौं दिन हो । आइतबार उनीहरूको पहिलो म्याद सकिन्छ ।

सोमबार म्याद थपका लागि जिल्ला अदालतमा पेश गर्ने तयारी छ । तर, आइतबारबाट दशैं विदा सुरु भइसक्छ । घटस्थापनादेखि देशभरका अदालत १५ दिनका लागि बिदा दिने प्रचलन छ । त्यस अवधिमा थुनुवाको म्याद थप र बन्दीप्रत्यक्षीकरण निवेदनबाहेकका काम कुनै पनि अदालतबाट हुँदैन । त्यसैले उक्त जोडीको दशैँ हिरासतमा बित्ने सम्भावना बढेको हो । यद्यपि सरकारी वकिलको कार्यालयले हाजिर जमानीमा छोड्न अनुमति दिएमा उनीहरू छुट्न सक्छन् ।

अनुसन्धानरत एक प्रहरीका अनुसार उक्त जोडीले पशुपतिनाथ मन्दिरको प्राङ्गणमा मनोरञ्जनका निम्ति मात्रै टिकटक बनाएको बुझिएको छ । कुनै धार्मिक द्वैष वा घृणा फैलाउने नियत वा षडयन्त्र देखिएको छैन । उनीहरूमा कानुनी ज्ञानको अभाव वा अज्ञानता मात्रै झल्किएको ती प्रहरीले बताए । टिकटकमा उक्त दृश्य भाइरल भएपछि अरु कुनै नियत हुनसक्ने आशंका गरिएको थियो । ‘हामीले विभिन्न कोणबाट सोधपुछ र अनुसन्धान गर्दा धार्मिक सहिष्णुताप्रति दुबै प्रतिबद्ध पाएका छौँ, पुरुष मुस्लिम समुदायको भए पनि हिन्दू समाजमा जन्मिएको, हुर्किएको कारण कुनै धर्मप्रति द्वैष वा घृणा देखिएन,’ ती प्रहरीले भने ।

अहिले हिरासतमा उनीहरू घटनाप्रति पश्चाताप गर्दै बसिरहेको उनले बताए । कानुनतः उनीहरूमाथि दुई वर्षसम्म कैद र २० हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ । मुलुकी अपराध संहिताको दफा १५६ बमोजिम धार्मिक आस्थामा आघात पुर्‍याएको कसुरको दफा २ ले गरेको व्यवस्थाअनुसार त्यस्तो सजायको सम्भावना रहेको हो । यद्यपि यस्ता कसुरमा धरौटीमा रिहा हुने अभ्यास छ । धरौटी खोल्नका लागि अदालतमा थुनछेकको बहस हुनुपर्छ । अदालत भने सोमबारदेखि १५ दिन बिदा हुँदैछ ।